२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यजलवायु परिवर्तनबाट भोग्नु परेका समस्यालाई विश्वव्ययापी बनाउन सञ्चारमन्त्री शर्माको जोड

जलवायु परिवर्तनबाट भोग्नु परेका समस्यालाई विश्वव्ययापी बनाउन सञ्चारमन्त्री शर्माको जोड


काठमाडौं—सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तर सम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

‘जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनी खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ,’ मन्त्री शर्माले भनिन्, ‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।’

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको संकटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौं मानिसका लागि चुनौती थपिएको उल्लेख गर्दै उनले नेपालमा जलवायु परिवर्तनले ल्याउने संकटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वब्यापी एजेण्डाकै रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् ।

यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मंसिरमा यूएईको दुबईमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हक दाबीकै रुपमा प्रस्तुत पनि उनले स्मरण गराइन् ।

‘जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको योगदान छैन तर अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले गर्दा जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी पीडित नेपाल बन्नुपरिरहेको छ,’ मन्त्री शर्माले थपिन्, ‘अन्य औद्योगिक मुलुकका कारण सिर्जित समस्याबाट हामीले पीडा भोग्ने र त्यसको कुनै क्षतिपूर्ति नपाउने अवस्थाको अन्त्य हुनुपर्छ भनेर नेपाले विश्व मञ्चमा दृढतापूर्वक आवाज उठाएको छ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ