न्यूयोर्क—अमेरिकाका पूर्व राष्ट्रपति जा्े बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक प्रकार’ भएको पुष्टि भएको छ । आइतबार बाइडेनको निजी कार्यलयले जारी गरेको विज्ञप्तीअनुसार हालै डाक्टरहरुले गरेको नियमित शारीरिक परीक्षणका क्रममा उनमा प्रोस्टेट क्यान्सर पत्ता लागेको हो ।
८२ वर्षीय बाइडेन र उनको परिवारले आफ्ना चिकित्सकहरुसँग उपचारका विकल्पका विषयमा समीक्षा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
‘शुक्रबार उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, जसको ग्लिसन स्कोर ९ (ग्रेड समूह ५) रहेको र यो क्यान्सर हड्डीसम्म फैलिएको थियो,’ कार्यलयको विज्ञप्तिमा छ, ‘यद्यपि यो रोगको बढी आक्रामक रुप हो । क्यान्सर हर्मोन संवेदशील देखिन्छ ।’
यसअघि बाइडेनलाई छालाको क्यान्सर देखिएको थियो । तर, उनको छालाको क्यान्सरको सफलतापूर्वक उपचार भएको थियो । सन् २०२३ मा राष्ट्रपति पदमा रहँदा वार्षिक शारीरिक परीक्षणका क्रममा उनको छातीबाट घाउ हटाइएको थियो । त्यतिबेला उनका चिकित्सकले यो बेसल सेल कार्सिनोमा भएको पुष्टि गरे, जुन छालाको क्यान्सरको सबैभन्दा सामान्य प्रकारमध्ये एक हो । डाक्टरहरुले क्यान्सरयुक्त तन्तु सफलतापूर्वक हटाइएको र थप उपचार आवश्यक नभएको बताएका थिए ।
बाइडेनमा क्यान्सर देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै, पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि स्वास्थ्य लाभको कामना गरेकी छन् ।
सन् २०१५ मा बाइडेनका जेठा छोरा बिउ बाइडेनको ४६ वर्षको उमेरमा मस्तिष्कको क्यान्सरबाट मृत्यु भएको थियो ।