काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ र १८ जेठमा हुने पाँचौ राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्वका लागि भिमराज सिंहले दाबेदारी पेश गरेका छन् । शुक्रबार महासंघका हालका उपाध्यक्ष रहेका सिंहले आफू प्रतिनिधीको चाहनाअनुसार अध्यक्षको दाबेदार रहेको बताए ।
वि.सं. २०६७ सालदेखि निरन्तर केन्द्रीय भूमिका सक्रिय सिंहले आफ्नो प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । महासंघमा युवाको आकर्षण बढाउने, अग्रजलाई सम्मानसहितको जिम्मेवारी दिने, संगठनको निवास निर्माण अभियान चलाउने, मूल पाटीसँगको समन्वयमा योगदानमा आधारित अवसरहरु विनियोजित गर्ने पहलकदमी लिने उल्लेख गरेका छन् ।
यस्तै, उनले स्वेच्छिक योगदानमा आधारित अक्षय कोष खडा गर्ने, महासंघलाई जनसंगठनको रुपमा विकास गर्दै शक्ति आर्जित गर्ने, स्वास्थ्यकर्मीहरुको हकहित र जनसेवामा समर्पित गर्ने, एकीकृत स्वास्थ्य सेवा ऐन जारी गर्न बहस पैरवी गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् । सिंहले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य सेवामा बजेटको अनुपात वृद्धि गर्न पैरवी गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई समयानुकूूल परिमार्जन गरी दायरा फराकिलो बनाउन पहल गर्ने, सबै प्रदेश तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सरुवा बढुवा तथा स्तरवृद्धिमा एकरुपता ल्याउन पहल गर्ने पनि प्रतिबद्धतामा जनाएका छन् ।
यसैगरी, स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको अध्ययन विदा स्वीकृतीको समस्यालाई सहजीकरण गर्ने, प्रदेश तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सरुवालाई व्यवस्थित तथा अन्तरप्रदेश सरुवालाई व्यवस्थित तथा पूर्वअनुमान योग्य तथा चक्रीय प्रणाली बनाउन पहल गर्ने, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ तथा यसका घटकहरुलाई व्यवस्थित बनाएर विधिवत रुपमा महासंघमा दर्ता गर्न पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
महासंघको आफ्नै कार्यलय भवन निर्माण गर्न पहल गर्ने, तल्लो तहसम्म सदस्यता वितरणलाई व्यवस्थित गर्ने, महासंघ र मातृपार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउने, नियुक्तिहरुमा हस्तक्षेपकारी भूमिका खेल्ने, महासंघ र घटहरुमा सदस्यता विस्तार अभियान सञ्चालन गरी ५० हजार सदस्यता बनाउनेलगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
महाधिवेसनले ९ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । नेकपा एमालेको जनसंगठनको रुपमा रहेको यस महासंघको ७७ जिल्लामा संगठन विस्तार हुनुका साथै ७ प्रदेश कमिटी तथा ८ वटा विषयगत घटक संगठनहरु रहेका छन् ।