२०८२ जेठ २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यसिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा

सिभिल अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा


काठमाडौं—मीनभवनस्थित सिभिल सर्विस अस्पतालमा कम्प्युटर नेभिगेसनबाट घुँडाको अर्थोप्लाष्टी गर्ने प्रविधी सञ्चालनमा आएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधीको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

मुख्यसचिव अर्यालले नेपालका अरु अस्पतालमा नरहेको यो प्रविधीबाट सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोशेढुंगा भएको बताए । ‘यो प्रविधी नेपालका अन्य हस्पिटलमा छैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले भने, ‘यो सेवा अब हाम्रो छ, यो माइलस्टोन हो ।’ उनले लामो समयदेखि घुँडा प्रत्यारोपण दिइरहेको निजामती कर्मचारी अस्पताल अब नयाँ टेक्नोलोजीमा गएको र भविष्यमा पनि नयाँ—नयाँ प्रविधीमा भित्र्याउने बताए ।

‘यो उत्कृष्ट टिमले व्यवस्थापन गरेको अस्पताल हो,’ उनले भने, ‘निजामती भएपनि यो पब्लिक हस्पिटल हो ।’ घुँडा प्रत्यारोपणको नयाँ प्रविधी अस्पतालमा सञ्चालन ल्याइएको बताउँदैं उनले अन्य विधाका पनि नयाँ प्रविधीहरु ल्याउनुपर्नेमा जोड दिए ।

उत्कृष्ट सेवा, सरसफाइजस्ता कारण बिरामीले निजामती अस्पताल रोज्ने गरेको उनको भनाइ थियो । उनले सिष्टम बनाएर बिरामीको मेडिकल हिस्ट्री राख्ने व्यवस्था गर्न पनि अस्पताल प्रशासनलाई निर्देशन दिए । ‘यसलाई भविष्यमा मेडिकल कलेज बनाउने सबैको चाहना छ,’ उनले थपे ।

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले आफूले एक्सन प्लानअनुसार नै अस्पतालमा कामहरु अगाडि बढाइरहेको बताए । उनले यसअघि प्रयोगमा नआएको मेसिनलाई प्रयोगमा ल्याइएको बताउँदैं अब अस्पतालको ध्यान रोबटिक प्रविधीतिर भएको उल्लेख गरे । ‘हाम्रो योजना सिभिल अस्पताललाई जिरो रेफर सेन्टरका रुपमा विकास गर्नेछ,’ उनले थपे ।

डा. रेग्मीले अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न एकेडेमिक कार्यदलले काम गरिरहेको जानकारी दिए । ‘अस्पताललाई कलेजका रुपमा विकास गर्न एकेडेमिक कार्यदलले काम गरिरहेको छ,’ उनले भने, ‘ओएनएमको काम सकिदैंछ । रेडियोथेरापी सेवालाई नयाँ लेभलमा लैजान्छौं । क्याथ ल्याब सञ्चालनमा ल्याउँछौं ।’

अस्पतालका घुँडा प्रत्यारोपण विशेषज्ञ डा. सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधीबाट घुँडा प्रत्यारोपण गर्नु नेपालका लागि ऐतिहासिक भएको बताए । ‘हामीले दुई दिनमा चार वटा घुँडा प्रत्यारोपण कम्प्युटर नेभिगेसन प्रविधीबाट गरेका छौं,’ उनले भने, ‘यो प्रविधीबाट घुँडाको जोर्नी प्रत्यारोपण नेपालमै पहिलो हो, त्यसैले यो ऐतिहासिक क्षण हो ।’

डा. मरहठ्ठाले सिभिल अस्पतालमा विगत १२—१३ वर्षदेखि घुँडाको जोर्नी प्रत्यारोपण भइरहेको बताउँदैं यो प्रविधी आएपछि क्यामरा र कम्प्युटरको सहायताले एक्युरेसी र प्रिकसन अफ सर्जरीमा सहयोगी हुने बताए । डा. मरहठ्ठाकाअनुसार यो टेक्नोलोजीले घुँडा प्रत्यारोपण सेवालाई अझ प्रभावकारी बनाउनेछ । घुँडा खिइएका, बुढ्यौली, चोटपटकलगायतका घुँडाको जोर्नी बिग्रिएमा बिरामीहरुले जोर्नी प्रत्यारोपण गर्नुपर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ