काठमाडौं–नेशनल बाथरोग सेन्टरले पाँचौ वार्षिकोत्सव मनाएको छ । बिहीबार होटेल रामदा, धुम्बाराहीमा आयोजित एक कार्यक्रमको आयोजना गरेर सेन्टरले १२ औं वार्षिकोत्सव मनाएको छ ।
रातोपुल काठमाडौंस्थित सेन्टरले यो अवधिमा करिब पाँच लाख बाथरोगका बिरामीलाई सेवा पु¥याएको जनाएको छ । वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए ।
समारोहमा बोल्दैं औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका बिरामीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए । महानिर्देशक ढकालले उनले नेपालमा भिटामिन डिको अभावको बारेमा विभिन्न टिका–टिप्पणी भैरहेको अवस्थामा यस बारेमा बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सेन्टरले अहिले काठमाडौंको रातोपुलसहित ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट सेवा दिइरहेको छ ।
वार्षिकोत्सव समारोहमा संस्थाको विगत १२ वर्षको यात्रा, सेवा विस्तार, प्रविधिमा भएको प्रगति, दक्ष जनशक्ति निर्माण र जनचेतना अभिवृद्धिमा भएको योगदानको विशेष समीक्षा गरिएको थियो। समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।