काठमाडौं—नेपाल मेडिकल कलेजमा १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथनको उद्घाटन गर्दै दुई सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गरेकी हुन् ।
म्याराथनमा पुरूषतर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दोस्रो र मनिष ऐर तेस्रो भए । महिलातर्फ सन्ध्या पौडेल प्रथम हुँदा क्रमसः रोशीका वैद्य र दर्शिता भण्डारी दोस्रो र तेस्रो भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो ।
सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक डा. यासमिनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताए । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरुको अध्यापन तथा अतिरिक्त कृयाकलापमा सहयोग पु¥याउन कलेज प्रशासन सदैव साथ रहने उनको प्रतिबद्धता छ ।
स्वास्थ्यतर्फ ‘हाम्रो प्रयास’सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागिता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
स्पोर्ट्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जीलगायतका प्रतियोगिताहरु हुने स्वास्थ्यतर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले बताइन् । कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।