२०८३ असार २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न


विराटनगर- मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ।

शनिबार हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ हस्पिटलको सेन्ट्रल हलमा सम्पन्न भएको हो। ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित आयोजित सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा विकसित अत्याधुनिक प्रविधिबारे विस्तृत छलफल गरिएको थियो।

सम्मेलनमा बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी भएका थिए। भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर (आरजीसीआईआरसी), नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी भएका थिए। नेपालका तर्फबाट बीएमसीटीएचका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत गर्दै आफ्ना अनुभव र ज्ञान साझा गरेका थिए।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक (HIPEC) सेवा पनि पूर्वी नेपालमै पहिलोपटक यही हस्पिटलमा सञ्चालनमा ल्याइएको छ।

न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोगमार्फत शरीरका आन्तरिक अंगहरूको कार्यप्रणालीको परीक्षण तथा उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यस प्रविधिबाट क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह परीक्षण, हड्डीसम्बन्धी रोगको पहिचान तथा थाइरोइडसम्बन्धी समस्याको निदान गर्न सकिन्छ।

हस्पिटलका अनुसार सम्मेलनले पूर्वी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष रूपमा ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। यसबाट अत्याधुनिक प्रविधि र उपचार पद्धति स्थानीय स्तरमै विस्तार हुने, उपचार सेवाको गुणस्तर अभिवृद्धि हुने तथा क्यान्सरलगायत जटिल रोगका बिरामीले काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ। साथै, दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य, जटिल बिरामी व्यवस्थापन तथा रेफरल प्रणालीको विकासमा समेत सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

उक्त सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न जिल्लाबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।

हाल विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले क्यान्सरको प्रारम्भिक निदान, रोगको फैलावटको मूल्याङ्कन, हृदयको रक्तप्रवाह परीक्षण, हड्डी तथा संक्रमणजन्य रोगको पहिचान, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता परीक्षण तथा थाइरोइडसम्बन्धी रोगको निदानलगायतका सेवा प्रदान गर्दै आएको छ।

उपचारतर्फ विभागले रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमीजस्ता अत्याधुनिक सेवा सञ्चालन गरिरहेको जनाएको छ। यी सेवाले जटिल रोगको उपचारलाई थप प्रभावकारी, सुरक्षित र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी, न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग र न्यूरो साइन्स विभागका लागि निर्माण गरिएको छुट्टै भवनको समेत उद्घाटन गरिएको थियो।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ