२०८३ साउन १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यफोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण

फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण


नयाँदिल्ली—भारतको दिल्ली—एनसीआरस्थित फोर्टिस अस्पतालले विश्वकै पहिलो ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ (दुई जीवित दाताबाट एक—एक खण्ड कलेजो लिएर गरिएको) कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । अस्पतालले यो प्रविधिमार्फत दीर्घकालीन हेपाटाइटिस बी संक्रमणका कारण अन्तिम चरणको कलेजो रोगबाट पीडित ५१ वर्षीय किर्गिस्तानका एक पुरुषमा सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

ती बिरामीलाई एडभान्स लिभर फेलियर, जण्डिस, बारम्बार पेटमा पानी जम्ने समस्या, पाचन नलीबाट रक्तश्रावजस्ता गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । विस्तृत स्वास्थ्य परीक्षणका क्रममा बिरामीको कलेजोमा गम्भीर क्षति, पोर्टल हाइपरटेन्सन (Portal Hypertension), थ्रोम्बोसाइटोपेनिया (रगतमा प्लेटलेटको कमी) तथा रक्त जम्ने क्षमता कमजोर भएको पुष्टि भएको थियो ।

चिकित्सकहरूका अनुसार एक जना दाताबाट प्राप्त हुने कलेजोको भाग बिरामीको शारीरिक आवश्यकता पूरा गर्न पर्याप्त नहुने देखिएपछि २० र २१ वर्षीया उनका दुई छोरीबाट कलेजोका दुई अलग—अलग भाग दान गराई ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण गर्ने निर्णय गरिएको थियो ।

यस जटिल शल्यक्रियाको नेतृत्व फोर्टिस अस्पताल नोएडाका लिभर ट्रान्सप्लान्ट तथा हेपाटोबिलियरी साइन्सेस विभागका अध्यक्ष डा. विवेक विजले मल्टीस्पेसियालिटी ट्रान्सप्लान्ट एक्सपर्ट टिमसँग मिलेर गरेका थिए ।

अस्पतालका अनुसार विश्वमै पहिलो पटक अपनाइएको यस विधिअन्तर्गत दुवै दाताको कलेजो निकाल्ने शल्यक्रिया परम्परागत खुला शल्यक्रियाको सट्टा न्यून चिरफार (ल्याप्रोस्कोपिक) प्रविधिबाट गरिएको थियो । दुवै दाताको शल्यक्रिया करिब पाँच–पाँच घण्टा चलेको थियो भने बिरामीको प्रत्यारोपण शल्यक्रिया करिब आठ घण्टामा सम्पन्न गरिएको थियो ।

शल्यक्रियापछि दुवै दाता पूर्ण रूपमा स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने प्रत्यारोपण गरिएका बिरामीलाई पनि स्वस्थ र स्थिर अवस्थामा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बिरामीको निकालिएको कलेजोको हिस्टोप्याथोलोजिकल परीक्षणले उनीमा हेपाटाइटिस बी र हेपाटाइटिस डी संक्रमणका कारण क्रोनिक हेपाटाइटिस तथा एडभान्स लिभर ड्यामेज भएको पुष्टि गरेको छ ।

thepatriot.in बाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ