काठमाडौं—रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरुका लागि सफ्टी हाइजिन प्रा.लि.ले सरकारलाई २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सफ्टीले बाढी पीडितहरुको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत खर्च हुने गरी उक्त रकम प्रदान गरेको हो ।
बुधबार सफ्टीका सञ्चालक विजय पोखरेल र सुवास भण्डारीले संयुक्त रुप्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनी सहयोग हस्तान्तरण गरेका थिए । कम्पनीले सहयोगबाट बाढीको विपद्बाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुग्ने विश्वास लिएको छ ।
‘विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायहरूलाई सहयोग पुर्याउने उद्देश्यले सफ्टी हाइजिनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको छ,’ कम्पनीले भनेको छ, ‘हामीलाई थाहा छ, यो योगदानले भएको क्षतिको भरपाई गर्न वा प्रभावितहरूको पीडा पूर्ण रूपमा कम गर्न सक्दैन । तर, परिवारहरूले आफ्नो जीवन पुनःनिर्माण गर्न थाल्दा यसले सानो भए पनि केही सहयोग पुर्याउन सक्छ भन्ने हाम्रो आशा छ।’
सफ्टीले सेनिटरी प्याड, डाइपर, टिस्यु पेपरलगायतका हाइजिङ प्रडक्टहरु उत्पादन गर्दै आएको छ ।