२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘नगर कोभिड अस्पताल संचालनमा ल्यायौं, अब छिट्टै अक्सिजन प्लान्ट पनि स्थापना गर्छौं’

‘नगर कोभिड अस्पताल संचालनमा ल्यायौं, अब छिट्टै अक्सिजन प्लान्ट पनि स्थापना गर्छौं’


सुर्खेतका अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधारमा अगाडि छ । हाल नगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । यसैबीच नगरप्रमुख देवकुमार सुवेदीसँग स्वास्थ्य सेवा तथा जनशक्तिको अवस्था र कोभिड–१९ रोकथाममा भइरहेका प्रयासबारे गरिएको कुराकानीः

वीरेन्द्रनगर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको सेवा प्रवाह र जनशक्तिको अवस्था कस्तो छ ?
हाल वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना भएका छन् । प्रत्येक स्वास्थ्य संस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्यकर्मीको व्यवस्था पनि छ । संघीय सरकारको निर्णयअनुसार नगर अस्पतालको शिलान्यास गरी निर्माणका लागि टेण्डर प्रक्रियामा छ । त्यस्तै, वीरेन्द्रनगर नगर कार्यपालिकाको निर्णयअनुसार साविकको कटकुवा हेल्थपोष्टलाई नगर कोभिड अस्पतालको रुपमा संञ्चालन गरिरहेका छौं । यस अर्थमा भन्दा हाम्रो स्थानीय सरकारको क्षमता र अहिलेको अवस्थालाई हेर्दा स्वास्थ्य जनशक्ति, स्वास्थ्य संस्था र सेवा प्रवाहको अवस्था सन्तोषजनक नै छ ।

तपाई निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा भएका सुधारहरु के–के हुन् ?
म निर्वाचित हुनु पहिले वीरेन्द्रनगर नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी मात्रै थिए । अहिले नगरका १६ वटै वडामा आफ्नै नयाँ भवनसहित स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिइरहेका छौं । नगरका सबै स्वास्थ्य संस्थाहरुमा सरकारले तोकेका सबै प्रकारका औषधी उपलब्ध गराएका छांै । हाल सबै स्वास्थ्य संस्थामा कम्तीमा ३ देखि ५ जना स्वाथ्यकर्मीको दरबन्दी छ । तुलनात्मक हिसाबले भौतिक पूर्वाधार र जनशक्तिको अवस्था राम्रै छ । यस्तै, आमा सुरक्षा कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका भित्रका किशोरी तथा महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम तीब्र पारिएका छन् । त्यस्तै, महिलाहरुलाई घरमा सुत्केरी नभई नजिकको वर्थिङ सेन्टर वा अस्पताल मै सुत्केरी हुन पे्ररित गरिरहेका छौं । जसका लागि अस्पताल जान निःशुल्क एम्बुलेन्सको व्यवस्था, जेष्ठ नागरिकलाई वडा तहमै गएर स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार नगरले दिनसक्ने औषधीको समेत व्यवस्था मिलाएका छाैं ।

त्यसो भए नगरका सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् ?
हो सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपले नै पाएको हाम्रो दावी छ । नेपाल सरकाले तोकेको मापदण्डअनुसारका स्वास्थ्य सामाग्री, औषधी र सेवाहरु हामीले प्रदान गरेका छौं । नरपालिकाका कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था छैन ।

कोभिड–१९ नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाले के कस्ता प्रयास गरिरहेको छ ?
यसका लागि गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले पिसिआर र एन्टिजेन्ट चेक निःशुल्क गरिरहेको छ । नगर कोभिड अस्पताल निर्माण गरेर बिरामीको निःशुल्क उपचार गरिरहेका छौं । साथै नगर कोभिड नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, बिरामीलाई खाना, औषधीको व्यवस्थापनका साथै कोभिड–१९ संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि गरिरहेका छौं ।

होमआइसोलेसनमा रहेका कोभिड–१९ संक्रमितहरुलाई नगरपालिकाले नियमित सम्पर्क गर्ने, काउन्सिलिङ गर्ने, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने, औषधीसहितको किट वितरण गर्ने कामहरु जारी छन् । यिनै विभिन्न कार्यले संक्रमित बिरामीको आत्मबल बढाउने गरी सेवामुलक काम गरिरहेका छौं ।

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट सञ्चालनको तयारी कहाँ पुग्यो ?
नगरपालिका आफैले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि चौधरी फाउन्डेसनको सहयोगबाट वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्दैछौं । यसले कर्णाली प्रदेश राजधानीको विद्यमान अक्सिजन अभाव हट्ने अपेक्षा छ । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरिरहेको कोभिड अस्पतालमा अहिले पनि विभिन्न जिल्लाका संक्रमितहरु उपचाररत छन् । नगरमा अक्सिजन प्लान्ट स्थापना भए समग्र कर्णालीकै नागरिकले सहज सेवा पाउने छन् । अहिले नगर कोभिड अस्पतालमा २५ बेड अक्सिजनसहित सञ्चालन छ । अक्सिजन प्लान्ट स्थापना भएमा थप ५० बेड विस्तार गर्ने योजना छ ।

कोभिड–१९ माहामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउने योजनाबारे केही बताइदिनुहोस् ?
हामीले विगतको वर्ष धेरै समस्याहरु झेल्यौं । अब हामी अलमलिदैनौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि दोस्रोसँगै तेस्रो भेरियन्ट रोकथामको तयारीमा नगरपालिका लागेको छ । यसका लागि आगामी आर्थिक वर्षका लागि बजेट छुट्याउने, औषधी, अस्पताल र बेडको व्यवस्थापन गर्नेलगायतका योजना बनाउने तयारी छ । टोल विकास संस्था, नागरिक समाजका अगुवाहरु र महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई अझै सक्रिय बनाएका छौं ।

नगर कोभिड अस्पताललाई अझै व्यवस्थित गर्ने आईसीयु कक्षसहितको उपचार दिने गरी सेवा थप्ने तयारी छ । कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्न आम नागरिकमा चेतना वृद्धि तथा सरसफाइका कार्यक्रम अघि बढाएका छौं । समग्रमा कोभिड–१९ संक्रमितलाई उपचारसहित आत्मबल बढाउने गरी परामर्शका काम निरन्तर अघि बढाउने तयारी छ । र अन्त्यमा स्वास्थ्य मापदण्ड पालना गरिदिन सबै नगरवासीलाई अनुरोध गर्छु ।

प्रस्तुतिः चन्द्रा कँडेल


क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ