२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्य‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु’

‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु’


मोरङको उत्तर पूर्वी क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गसँग जोडिएका नगरपालिका हो–पथरीशनिश्चरे । यस नगरपालिकामा करिब ८० हजार जनसंख्याको बसोबास छ । साविक पथरी, शनिश्चरे र हसन्दह गाविसलाई मिलाएर नगरपालिका बनाएको हो । संघीय नेपालमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विकासका कामहरु स्थानीय तहले गर्न सक्ने गरी अधिकार प्रत्योजन गरिएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ । मोरङको मुख्य सहरमध्ये एक पथरीशनिश्चरे नगरपालिका मेयर दिलिपकुमार राईसँग स्वास्थ्य क्षेत्रमा भएका कामहरु, आगामी स्वास्थ्य योजनालगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थ आवाजको लागि प्रदेश १ का संयोजक अनिल श्रेष्ठले गरेको कुराकानीः

स्वास्थ्यको क्षेत्रमा कसरी काम गर्दै आउनुभएको छ ?
नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गर्दै आएको छ । अहिले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक विरामी भएर अस्पताल जानुपरेको अवस्थामा नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको छ । ८० वर्षभन्दा ज्येष्ठ नागरिकहरुलाई दुई महिनामा एक पटक स्वास्थ्यकर्मीहरुले निःशुल्क स्वास्थ्य परीक्षण घरमा गर्दै आएका छौं । मिर्गौला, क्यान्सर, मुटु, बोनम्यारो, स्पाइनलकड इन्जुरी, अल्जाइमर, पार्किन्सन्सजस्ता रोगहरु लागेर उपचाररत बिरामीहरुलाई सहयोग स्वरुप एकपटक १५ हजार खर्च पनि नगरपालिकाले दिदै आएको छ । नगरवासीको सहज स्वास्थ्य उपचारको लागि नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा लागिरहेको छ ।

१८ करोड ६८ लाख दुई हजार रुपैयाँको बजेटमा १५ शैथ्याको पथरी शनिश्चरे नगर अस्पताल निर्माण भइरहेको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा ८० लाखको बजेटमा त्यहाँ अर्काे भवन पनि निर्माण सम्पन्न भएको छ । शनिश्चरेमा नयाँ स्वास्थ चौकी भवन बनेको छ । हसन्दहमा पुरानै स्वास्थ्य चौकी भवन छ । नगरको ३, ६ र ७ नम्बरमा आधारभूत स्वास्थ्य केन्द्र भवन सम्पन्न भएको छ । यसको अलावा १, ४ र १० नम्बर वडामा पनि स्वास्थ्य केन्द्र बनिरहेको छ । दुई वटा स्वास्थ्य चौकी, सात वटा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छन् । यहाँ ३० जना स्वास्थ्य स्वयंसेविका रहेका छन् । पथरी बजारमा तीन वटा निजी अस्पतालहरु सञ्चालन हुँदै आएको छन् । स्वास्थ्य विमा कार्यक्रम चलिरहेको छ ।

कोभिड–१९ को दोस्रो लहरको रोकथाम र नियन्त्रणमा नगरपालिकाले कसरी काम गर्दै आएको छ ?
नगरपालिका भित्रका ६२ देखि ६४ वर्षका ज्येष्ठहरुमा ९७७ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । कोभिड–१९ संक्रमितको उपचारको लागि नगरपालिकाले पथरीशनिश्चरे २ मा १५ शैय्याको आइसोलेसन बनाएको छ । नगरले संचालनमा ल्याएको आइसोलसनमा प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितको उपचार हुनेछ । यहाँ पर्याप्त अक्सिजन छ । नगर अस्पतालमा सञ्चालित आइसोलेसनका लागि हालसम्म अत्याधुनिक ३ र अन्य २६ गरी २९ वटा अक्सिजन सिलिण्डर छ । अक्सिजन आवश्यक पर्ने विरामीलाई यही आइसोलेनमा उपचार हुने गरेको छ । थप उपचार गर्नुपर्ने विरामीलाई झापा, मोरङ र सुनसरीको ठूला अस्पताल पठाउने गरेका छौं ।

दुई हप्ता अगाडिदेखि यो आइसोलेसन संचालनमा आएको हो । यसलाई आवश्यकताअनुसार विस्तार गरिनेछ । सुरूवाती चरणभन्दा अहिले कोभिड–१९ संक्रमण घटदो क्रममा छ । निको हुने संक्रमितको संख्या पनि बढदै गएको छ । त्यही भएको कारणले थप आइसोलेसन बनाउनुपर्ने अवस्थामा देखिएको छैन । संक्रमित थप उपचारको लागि ठूलो अस्पतालमा पु¥याउनुपर्ने अवस्थमा आएमा त्यस्ता विरामीको लागि नगरपालिकाद्धारा संचालित तीन वटा एम्बुलेन्स छन् । यो एम्बुलेन्सले विरामीलाई निःशुल्क रुपमा हस्पिटलसम्म पु¥याउने गर्दछ ।

स्थानीय तहले चिकित्सक र स्वास्थ्यकर्मी अभाव खेपिरहेको छ । पथरीशनिश्चरेले जनशक्तिको कसरी व्यवस्थापन गरेको छ ?
नगर अस्पतालमा २ जना एमबीबीएस डाक्टरसहितका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ । हामीले उहाँहरूलाई करारमा नियुक्त गरिएको हो । जुन एउटा अवधिभरको लागि काम गर्नुहुन्छ । आवश्यकताअनुसार थप गर्ने हाम्रो लक्ष्य छ । स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रही ३० जना महिला स्वास्थ्य स्वयंसेविका पनि सेवारत हुनुहुन्छ ।

अहिले चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएको छैन । १० वटा वडा रहेको नगरका सवै वडामा आधारभूत स्वास्थ्य उपचार सेवा पुग्ने क्रममा भवनहरु बन्दैछन् । ९ नम्वरको शनिश्चरेमा स्वास्थ्य चौकी, ५ नम्वरको हसन्दहमा स्वास्थ्य चौकी, १ नम्बरको पथरी र ३ नम्बरको किराँती चोकमा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छ । १० नम्वरको ऐयावारीका साथै अन्य वडामा गरी ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छन् । यी सबैमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीलाई सेवा दिदै आउनुभएको छ ।

स्वास्थ्यका कार्यक्रम गर्ने क्रममा प्रदेश सरकार र संघीय सरकार साझेदारी गर्दा जटिलता आए कि आएनन् ?
हाम्रो अपेक्षाअनुसार बजेटको पाटोमा खासै सहयोग भएको छैन । यद्यपि, हामीले योजना बनाइरहेका छौं । हरेक वडामा स्वास्थ्य पहुँचमा नागरिकलाई जोडन लागि परेका छौं । संघीय सरकारले १५ शैय्याको अस्पताल निर्माणको लागि केही बजेट बिनियोजन गरेको छ ।

त्यसबाहेक अरु कुनै थप सहयोग भएको छैन । प्रदेश सरकारले केही स्वास्थ्य सामाग्रीबाहेक अरु कुनै अहिलेसम्म सहयोग आएका छैन । स्थानीय सरकारलाई प्रदेश एवं संघीय सरकारको सहयोग हुँदा परिणाम राम्रो आउने भएकोले हामीहरुले हरेक कार्यक्रममा सधैं जोड्ने प्रयास गरिरहेका छौं । कोभिड–१९ को सुरुमा नै प्रोटोकलमा नहुँदा पनि संघ र प्रदेशले गर्ने काम पनि गरिरहेका थियौं । कोभिड–१९ को पहिलो लहरको समयमा संघ र प्रदेश समन्वय गरेर काम भएको थियो । दोस्रो लहरमा अपेक्षा गरेजस्तो सहयोग आएको छैन । नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरेर संक्रमण रोक्न काम गर्दै आएको छ ।

नगरपालिकाले स्वास्थ्यलाई कुन प्राथमिकतामा राखेर काम गर्दै आएको छ ?
समुदायको क्षेत्रमा रहेर भन्नुपर्दा नगरपाकिाले स्वास्थ्यलाई अहिले पहिलो प्राथमिकता राखेर काम गर्दै आएको छ । अब आर्थिक वर्षको लागि नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्यलाई प्राथिमकता राखेर काम गर्नेछ ।

नेतृत्व हस्तान्तरण गर्दासम्म पथरीशनिश्चरेको स्वास्थ्यलाई कहाँ पु¥याउने लक्ष्य छ ?
हाम्रो समय सकिएर आउने नेतृत्वलाई हामीले छोडेर जादै गर्दा स्वास्थ्यको क्षेत्रमा धेरै परिवर्तन हुनेछ । जस्तै यस नगरपालिका भित्र १५ शैय्याको नगर अस्पताल हुन्छ । हामी आउँदा स्वास्थ्य चौकीहरु मात्र थिए । सबै वडाहरुमा स्वास्थ्य केन्द्र रहेको छ । हामीले छोड्दै गर्दा स्वास्थ्यमा यहाँका नागरिकले पनि धेरै परिवर्तन भएको अनुभूति गर्ने विश्वास दिलाउँछु ।


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ