२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदन्त स्वास्थ्यको ख्याल कसरी राख्ने, के कुरामा ध्यान दिने ?

दन्त स्वास्थ्यको ख्याल कसरी राख्ने, के कुरामा ध्यान दिने ?


चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत दुख्ने, रगत आउने, गिजा सुन्निने, किराले खानेजस्ता समस्याले धेरैलाई हैरान बनाउँछ ।

जाडो याममा यस्ता समस्या तुलनात्मक रुपमा बढी हुने गर्छ । चिसोको कारण कम समय मात्र ब्रस गर्ने गरिन्छ । त्यसकारण पनि दाँतमा समस्या हुने गर्छ । धेरैलाई चिसो पानी पिउँदा दाँत सिरिङ हुने गर्छ ।

उमेरसँगै दाँत खिइने गर्छ । दाँतको पत्र हुन्छ । पहिलो पत्रमा चिसो, तातो, अमिलो खाँदा केही फरक पर्दैन । तर, जब पहिलो पत्र जसलाई इनामेल भनिन्छ, त्यो खिइएर जान्छ त्यसपछि माथिल्लो तह (डेन्टिन) को नजिक पुग्छ तब दाँत बढी सिरिङ्ग हुने हुन्छ । विभिन्न कारणले यस्तो हुने गर्छ । नमिलेको दाँत ठोक्किएर काटिने एवं धेरै मात्रामा अमिलो खाँदा दाँत खिइने गर्छ । त्यसैले गर्मीमा भन्दा जाडोमा चिसो खाँदा दाँत कुँडिने गर्छ । उमेरसँगै दाँत खिइने, धेरै मात्रामा कडा खालको ब्रस प्रयोग गर्दा, सही तरिकाले दाँत सफा नगर्दा पनि दाँतमा त्यस्तो समस्या हुन्छ ।

दाँतमा हुने समस्यामध्ये गिजामा हुने समस्या पनि प्रमुख हो । सही तरिकाले दाँत नमाझ्दा, सफा नगर्दा यस्तो समस्या आउने गर्छ । दिनको दुईपटक दाँतमा ब्रस गर्नु उचित हुन्छ । बिहान खाना खाएर र बेलुकी सुत्ने बेलामा केही खाएर मजाले मुख कुल्ला गर्नुपर्छ । फोहोर नै दाँतमा बढी समस्याको कारक हो । वास्तवमा दाँतमा किरा हुँदैन् ।

बच्चाहरुमा किन दाँतका धेरै समस्या देखिन्छ भन्दा बच्चाहरुको ६–७ महिनादेखि दाँत निस्कन सुरु हुन्छ । तर, धेरैजसो बच्चाहरुलाई २–३ वर्षपछि मात्र अभिभावकले ब्रस गराउने गर्छन् । त्यसअघि बच्चाले ब्रस गरेको हुदैन् । खाएको खानाले दाँतलाई सडाउन थाल्छ । अनि बिस्तारै खाएको खाने कुरा मुखमा अड्किएर रह्यो भने अमिलोपन, एसिड निस्कन्छ । त्यसले दाँत खिइन्छ । खाल्डो बन्दै जान्छ । त्यही खाल्डोलाई नै डेन्टल कियररिज अथवा सडेको भनिन्छ । किरा लागेको भन्ने हुँदैन् ।

मुख्य समस्या भनेको दाँत सड्ने र गिजाको समस्या नै हो । सुरुमा गिजाको समस्या हुन्छ । त्यसपछि रगत आउने, मुख गन्हाउने हुन्छ । उपचार नगर्दा विस्तारै दाँतको जराको हड्डीको वरिपरि खिइएर जान्छ । अनि दाँत हल्लन थाल्छ ।

सजिलैसँग दाँतमा टाँसिने खाना, जस्तै चकलेट, रेडिमेड खाना चाउचाउ, कुरकुरे जस्ता खानेकुरा धेरै मात्रामा कम गर्नुपर्ने हुन्छ । अत्याधिक मात्रमा चिनी बढी भएको खानेकुराहरुले दाँत सड्न सहयोग पु¥याउँछ । ब्याक्टेरियाहरु सक्रिय हुन्छन् । त्यसैले अत्याधिक मात्रामा गुलियो चिज र दाँतमा सजिलैसँग अड्किने चिजहरु हानिकारक हुन्छन् । फाइबर डाइट, जस्तै माछा, मासु, हरियो सागपात दाँतको स्वास्थ्य लागि राम्रो हुन्छन् ।

दाँतमा अड्किएका खानेकुरा सिन्काले घोचेर निकाल्नु एकदम हानिकारक हो । त्यस्तो गर्दा गिजा फुल्ने गर्छ । दाँतमा ग्याप हुन सक्ने सम्भावना हुन्छ । त्यसैले ब्रस गर्ने अथवा डेन्टल फल्स प्रयोग गरे दुई दाँतबीच अड्किएको खानेकुरा निकाल्नुपर्छ ।

दाँत सडेपछि उपचार गर्नैपर्छ । दाँतमा विभिन्न लेयर (तह) हुन्छ । पहिलो लेयर दाँत सड्नु भनेको इनामेल, जसमा खाल्डो छ भने त्यसले दुखाइ हुँदैन । त्यो बेला उपचार भयो भने सजिलो, सस्तो र समय पनि धेरै लाग्दैन । तर, इनामेलबाट दोस्रो लेयरमा गयो भने दाँत सिरिङग गर्न थाल्छ । त्यसमा पनि दाँत भर्न सकिन्छ । तर, खाल्डो जब नशामा पुग्छ अनि दुखाइ हुन थाल्छ । त्यसमा पनि दाँत खोल्न पर्दैन, रुट कियानल ट्रिटमेन्ट (दाँतको नसाको उपचार) दाँतको टुप्पोदेखि भरेर कभर लाएपछि त्यस्तो गाह्रो केही हुँदैन् ।

दाँत भर्दा क्यान्सर लाग्छ भन्ने कुराहरु एकदमै सुनिन्छ तर यो भ्रम हो । त्यस्तो केही समस्या हुँदैन । अचेल नयाँ सामग्रीहरुबाट बनेका दाँतकै रङको हुन्छ, भरेको थाहा पनि हुँदैन र यसले शरीरमा कुनै रोग पनि निम्त्याउँदैन र असर पनि गर्दैन् ।

(लेखक कोशी अस्पतालमा कार्यरत दन्त्त तथा अनुहार रोग विशेषज्ञ चिकित्सक हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ