२०८३ जेठ ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प

कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प


पछिल्लो समय मानिसमा खानपान र जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । तीमध्ये ठूलो आन्द्राको समस्या र क्यान्सरका बिरामीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

यस्तो अवस्थामा ठूलो आन्द्राको भित्री अवस्था बुझ्न र सम्भावित रोगको समयमै निदान गर्न ‘कोलोनोस्कोपी’ एक प्रभावकारी प्रविधि मानिन्छ ।

के हो कोलोनोस्कोपी ?

कोलोनोस्कोपी भनेको ठूलो आन्द्राको जाँच गर्ने विधि हो । यस प्रक्रियामा मलद्वारबाट एउटा सानो क्यामेरा जडान गरेर लचिलो पाइप भित्र पठाएर ठूलो आन्द्राको पूर्ण जाँच गरिन्छ । कोलोनोस्कोपी दुई प्रकारका हुन्छन् ।

१. डायग्नोस्टिक कोलोनोस्कोपी
रोगको पहिचान वा निदान गर्ने माध्यामलाई डायग्नोस्टिक कोलोनोस्कोपी भनिन्छ ।

२. उपचारका लागि
जाँचकै क्रममा केही समस्या देखिएमा त्यसको तत्काल उपचार गर्न पनि कोलोस्कोपी गरिन्छ ।

ठूलो आन्द्राको क्यान्सर अहिलेको समयमा निकै सामान्य बन्दै गएको छ। तर, खुसीको कुरा के छ भने यसलाई समयमै पहिचान गर्न सकेमा पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ ।

कोलोनोस्कोपी गर्दा आन्द्रामा स–साना मासुका पलाएका भागहरू (पोलिप) देखिन सक्छन् । ती पोलिपलाई कोलोनोस्कोपीकै माध्यमबाट काटेर फाल्न सकिन्छ, जसले भविष्यमा क्यान्सर हुनबाट बचाउँछ ।

कसले र कहिले गर्ने कोलोनोस्कोपी ?

४५ वर्ष उमेर काटिसकेका व्यक्तिले कम्तीमा एक पटक कोलोनोस्कोपी गर्नु अनिवार्य हुन्छ । त्यसपछि हरेक १० वर्षमा यो जाँच दोहो¥याउँदा क्यान्सरको जोखिम धेरै हदसम्म कम हुन्छ । मलद्वारबाट रगत आउने, लामो समयसम्म पेट दुखिरहने वा अन्य अस्पष्ट लक्षणहरू देखिएमा तुरुन्तै कोलोनोस्कोपी गराउनुपर्ने हुन्छ ।

यदि परिवारका बुबा, आमा वा अन्य नजिकका सदस्यलाई ठूलो आन्द्राको क्यान्सर भएको छ भने ४५ वर्ष कुर्नु पर्दैन् । त्यस्ता व्यक्तिहरूले अलि कम उमेरमै यो जाँच गराउनु उपयुक्त हुन्छ ।

के कोलोनोस्कोपी गर्दा दुख्छ ?

धेरै मानिसहरू कोलोनोस्कोपी गर्दा धेरै दुखाइ हुन्छ भन्ने डरले यो जाँच गराउन हिचकिचाउँछन् । तर, अहिले प्रविधि धेरै विकसित भइसकेको छ । ग्राण्डी अस्पतालमा एनेस्थेसिया (बेहोस बनाउने वा लठ्याउने प्रविधि)को प्रयोग गरेर ‘पेनलेस कोलोनोस्कोपी’ (दुखाइरहित जाँच) गरिन्छ ।

यो प्रविधि अहिले अन्य अस्पतालले पनि लागू गरेका छन् । एनेस्थेसिया विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सानो सुई दिएर बिरामीलाई पूर्ण रूपमा दुखाइमुक्त बनाएर यो जाँच गरिने हुनाले डराउनुपर्ने कुनै कारण छैन । ठूलो आन्द्राको क्यान्सरबाट बच्न र आफ्नो पेटको स्वास्थ्य सुनिश्चित गर्न कोलोनोस्कोपी एक भरपर्दो विधि हो ।

(डा. कश्यप ग्राण्डी अस्पतालका वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ हुनुहुन्छ ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ