२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसाेकाे शत्रु न्युमोनियाबाट बच्न डा महेन्द्रका यस्ता छ सुझाव

चिसाेकाे शत्रु न्युमोनियाबाट बच्न डा महेन्द्रका यस्ता छ सुझाव


हरेक वर्ष, खासगरी हिउँद याममा तापक्रम अति चिसो भएपछि नेपालमा न्युमोनियाको प्रकोप बढेर आउने गर्छ । खासगरी हिमाली वा उच्च पहाडी क्षेत्रका गाउँघर वा तराईका देहातमा चल्ने शीतलहरको प्रकोपस्वरुप न्युमोनियाबाट पाँचवर्ष मुनिका बच्चा र ६० वर्षमाथिका प्रौढहरू ज्यादा पीडित बन्नपुग्छन् । गाउँघरमा घरभित्र बालिएको दाउरा र गोबरका गुँइठाबाट निस्किने धुँवा पनि न्युमोनिया उत्पन्न गर्ने कारक हुन्छ । ब्रोङ्काइटिस्, ब्रोङ्कियोटिसिस, दम आदि रोगले ग्रसित बिमारी पनि न्युमोनियाबाट थप पीडित हुनपुग्छन् । अज्ञात कारणले गर्दा पनि कहिलेकहीँ न्युमोनियाको प्रकोप देखापर्छ । शरीरको आन्तरिक स्थिति र बाह्य वातावरणका ३० वटा सम्भावित कारणले गर्दा न्युमोनिया लाग्न सक्छ ।

धुमपान र मद्यपान प्रमुख कारण
पर्याप्त लुगाफाटो, खानपिन र शरीरलाई न्यानो दिने अन्य साधनको अभावमा यो बिमारले छिटो आक्रमण गर्छ । न्युमोनिया फोक्सोको सूजनसम्बन्धी अवस्थाजन्य समस्या हो, जुन ‘अल्भ्योली’ नामक फोक्सोमा हुने हावाका अतिसाना थैलीजस्ता प्वालमा संक्रमण (इन्फेक्सन) को असर पुगेपछि सुरु हुन्छ । धूमपान, अत्यधिक मद्यपान, शरीरको प्रतिरोध क्षमतामा ह«ास, प्यारालाइसिस्जस्ता बिमारका कारण लामो अवधिसम्म ओछ््यानमै आराम गर्न बाध्य मानिस, मिर्गौला वा कलेजोका दीर्घरोग न्युमोनियाका कारण वा लक्ष्यण हुनसक्छन् । यो बिमार भाइरस वा ब्याक्टेरिया (जिवाणु) बाट हुन्छ । प्रायः पाको उमेरका मानिसलाई सात प्रकारका भाइरस (जिवाणु) बाट न्युमोनिया हुन्छ । अन्य कारणमा परजीवी र ढुसीजन्य वा कवक (फङ्गी) आदिबाट पनि न्युमोनिया हुनसक्छ ।

प्रतिरोध क्षमता भएकालाइ चाडो
‘फङ्गी’ बाट हुने न्युमोनिया सर्वत्र देखिँदैन, तर शरीरमा प्रतिरोध क्षमताको स्खलन भएर मानिस अति कमजोर, शिथिल र नातागत भएको अवस्थामा ‘फङ्गल न्युमोनिया’ लाग्नसक्छ, जस्तै एड्स् रोग लागेको मानिसलाई । एक किसिमको परजीवी तत्व (पारासाइट) ले फोक्सोमा नकारात्क असर पु¥याउँछ, जसबाट ‘इओजिनोफिलिक न्युमोनिया’ को अवस्थामा पु¥याउँछ । औलो ज्वरोको परिणति पनि कहिलेकहीँ न्युमोनियाको रुपमा देखापर्छ । घाँटी, नाकलगायत स्वासप्रश्वास, रगत आदि विभिन्न माध्यम ब्याक्टेरिया (कीटाणु) हरू शरीरमा प्रवेश गरेर फोक्सोसम्म पुग्छन् र न्युमोनिया हुनसक्छ ।

 

लक्ष्यण
छाती दुख्ने, खोकी लाग्ने, अति थकान हुने, ज्वरो आउने, कसैकसैलाई वान्ता हुने, पाको उमेरकाहरूलाई भ्रान्ती र ऐँठन हुने स्थिति र सास फेर्न गाह्राे हुने अवस्था यो बिमारका सामान्य लक्ष्यण हुन् । तर यस्ता लक्ष्यण अरु बिमारका कारणबाट पनि हुने हुँदा चिकित्सक (फिजिसियन) को सल्लाह लिने र कफ जँचाउने वा एक्स रे गरेर हेर्ने अवस्था हुनसक्छ । ब्याक्टेरिया वा भाइरसको कारणले हुने न्युमोनियाका प्रायः एकै किसिमका लक्ष्यण हुन्छन् । तर पेट दुख्नु, पखाला लाग्नु, भ्रान्ती हुनु, बिग्रेको खकार आउनु आदि, अर्को कारणले हुने न्युमोनियाका लक्ष्यण हो ।

निदान

न्युमोनिया बिमारको मूख्य कारणबारे पत्ता लगाउनु चिकित्सकीय चुनौतीको काम हो । न्युमोनिया भएको थाहा पाएरमात्र हुँदैन, त्यसको कारणलाई उपचारका सिलसिलामा उत्ति नै महत्व दिनुपर्छ । छातीको एक्स–रे र शरीरले देखाएका उपरोक्त लक्षणलाई आधार मानेर जाँच गरिन्छ । विश्वस्वास्थ्य संगठनले बालबालिकामा हुने न्युमोनियाको कारणबारे परिभाषित गर्दै खोकी, सास फेर्न गाह्राे, छिटोछिटो स्वास फेर्ने (स्याँस्याँ बढेको), चैतन्य तहको ह्रास आदि लक्ष्यणलाई आधार मान्ने मापदण्ड तोकेको छ । प्रौढहरूको हकमा इन्फ्लुइन्जाकै जस्ता लक्ष्यणलाई निदानको मोटामोटी मापदण्ड वा आधार मानिएको छ, तर इन्फ्लुएन्जा छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ । शारीरिक जाँचमा कहिलेकहीँ न्यून रक्तचाप तर मुटुको धड्कन उच्च हुनु, सास फेर्ने क्रिया सामान्यभन्दा छिटो हुनु, सास फेर्दा छातीभित्र कर्कश स्वर सुनिनु आदि लक्ष्यण पाउन सकिन्छ ।

राेकथाम 
न्युमोनियालाई संक्रमणभन्दा पहिले नै रोकथामको उपचार–उपाय पनि निकालिएको छ । यसको प्रतिरोधात्मक खोप (भ्याक्सिन) पनि छ ‘पीपीएस्भी’ नामको । खोपद्वारा जिवाणु (ब्याक्टेरिया वा भाइरस) बाट हुने न्युमोनिया, बच्चा वा प्रौढलाई संक्रमण हुनबाट बचाउन सकिन्छ । ६ महिनाभन्दा माथिका बच्चालाई हरेक वर्ष खोप दिएर न्युमोनियाबाट जोगाउने उपाय छ । प्रौढहरूको लागि ‘स्ट्रेप्टोकोकस न्युमोनिया भ्याक्सिन’ उपलब्ध छ ।
घरभित्रको प्रदूषण हटाउने, दाउरा वा गोबरका गुईँठा बाल्ने कार्यले विषाक्त धूँवा पैदा हुनेहँुदा यस्ता बस्तुको उपभोग सकेसम्म हटाउने, कम्तिमा छाती, पेट र शीरलाई चिसोबाट जोगाउने, धूमपान हटाउने, हात धुने स्वास्थ्य–संस्कारको विकास गर्ने, दूधे–बच्चालाई आमाको दूध चुसाउन नछोड्ने आदि मूख्य प्रतिरोधात्मक उपचार विधि हुन् । जाडोको समयमा चिसो पानीले नुहाउने वा चिसै पानी पिउने गर्नुहँुदैन । झन् अन्य बिमार वा शारीरिक कमजोरी भएका मानिसले चिसो पानीले नुहाउने ग¥यो भने न्युमोनियाले छिटै आक्रमण गर्नसक्छ । हिउँदको मौसममा तातो झोलयुक्त खानेकुरा अन्य खानाभन्दा बढी खानु उपयुक्त हुन्छ ।

उपचार

उपचार, बिमारको मूख्य कारणका आधारमा हुनेगर्छ । सामान्य बिमारी छ भने प्रतिजैबिक (एन्टीबायोटिक) औषधीबाटै निको हुनसक्छ । एन्टीबायोटिक औषधिमा एमोक्सिलिन, डक्सिसाइक्लिन, क्लेरिथ्रोमाइसिन, एजिथ्रोमाइसिन वा एरिथ्रोमाइसिन टाइपका औषधी प्रचलित हुन्छन् । बिमारले निकै चापेको छ भने अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
सुरुमै उपचार अपनाइयो भने खाने एन्टीबायोटिक औषधी, आराम, तातो झोलयुक्त खाद्य पर्याप्त उपचार हुनसक्छ । तर बिमारले धेरै चापेको छ र प्रौढ उमेरको मानिसलाई योभन्दा गहन उपचारको आवश्यकता पर्न पनि सक्छ । न्युमोनियाको प्रकार, स्वास्थ्यस्थिति तथा प्रतिरोध क्षमता र घरको वातावरणअनुसार नै बिमारीले घरैमा उपचार गर्नसक्ने वा अस्पताल भर्ना हुनुपर्ने बारे निर्णय बनाउन सकिन्छ । तर चिकित्सकको जाँच र सल्लाहबाट टाडै रहने गर्नुहुँदैन ।
न्युमोनिया शरीरको अवस्थाका साथै खानपान, रहनसहन, काम गर्ने ठाउँको वातावरण, मौसम आदि बाह्य कारणबाट आइलाग्ने बिमार हो । विश्वमा हरेक वर्ष करिब ५० करोडको हाराहारीमा मानिस न्युमोनियाबाट पीडित हुन्छन् । यीमध्ये ४० लाख मानिसको यसैका कारण निधन हुनेगरेको छ । न्युमोनिया भएपछि उपचारमा लापरबाही नै मृत्युको मूख्य कारण हो । उचित जाँच, औषधी र अतिरिक्त सेवा स्याहार पुगेमा यसबाट डराउनु पर्ने कारण छैन । नेपालजस्तै विकासोन्मुख मुलुकहरूमा यसको प्रकोप ज्यादै देखिएको, तर बच्ने उपायबारे चेतनाको कमि हुनाले यसबिरुद्ध विश्वब्यापी जनचेतना बढाउने उद्देश्यले १२ नोभेम्बरको दिनलाई ‘विश्व न्युमोनिया दिवस’ घोषणा गरिएको छ ।
(स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देक डा. विष्ट “स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्य र डाक्टरको सल्लाह” पुस्तकका लेखक हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ