२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगनसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दै, ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण

नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दै, ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण


काठमाडौं—पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको पाइएको छ । नेपालमा हुने कुल मृत्युको झण्डै दुई तिहाई मृत्यु नसर्ने रोगका कारण हुने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अनुसन्धानले देखाएको छ ।

बिहीबार परिषद्ले काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको रिपोर्टले यस्तो तथ्य देखाएको हो । सन् २०१७ मा गरिएको अध्ययनअनुसार कुल मृत्युको ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको देखिएको छ ।

यस्तै, ९ प्रतिशत मृत्यु चोटपटक र २५ प्रतिशत मृत्यु सर्ने रोग, मातृशिशु तथा पोषणसँग सम्बन्धित रहेको छ । नसर्ने रोगबाट हुने मृत्युमध्ये मुटुरोग, क्यान्सर, श्वासप्रश्वास र मधुमेह प्रमुख कारक रहेको रिपोर्टले औंल्याएको छ ।

जनसंख्यामा आधारित २० वर्ष र सोभन्दा बढी उमेरका मानिसमा गरिएको सम्भाव्यता अध्ययनअनुसार १२ प्रतिशत मानिस सीओपिडी, ८.५ प्रतिशत मधुमेह, ६ प्रतिशत क्रोनिक किड्नी रोग र ३ प्रतिशत कोरोनरी आर्टरी डिजिजबाट प्रभावित रहेको पाइएको छ ।

प्रत्येक ६ मध्ये एक मृत्यु मुटु सम्बन्धी र प्रत्येक दश मृत्युमध्ये एक नशा सम्बन्धी रोगका कारण हुने गरेको छ ।

यस्तै, पछिल्लो ३५ वर्षमा क्यान्सर रोगमा समेत व्यापक वृद्धि भएको छ । महिलामा स्तन क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर प्रमुख रुपमा देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

पछिल्लो २५ वर्षको तथ्यांक हेर्दा नसर्ने रोगका कारण अपांगता भएका र मृत्यु हुनेको संख्या दोब्बर भन्दा बढीले वृद्धि भएको छ । स्वास्थ्य क्षेत्रमा गरिएको अहिलेको प्रयासलाई नबढाउने हो भने यो संख्यामा थप वृद्धि हुनेछ । स्वास्थ्य क्षेत्र अहिलेकै अवस्थामा सञ्चालित हुने हो भने सन् २०३० सम्ममा कुल मृत्युको ७८ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने रिपोर्टमा उल्लेख छ ।

किटजन्य रोग नियन्त्रणमा खुला सीमाना बाधक

सरकारले सन् २०२० सम्ममा कालाजार र लिम्फेटिक फिलारियसिस तथा सन् २०२५ सम्ममा मलेरिया उन्मुलन गर्ने उद्देश्य लिएको छ । तर, भारतसँगको खुला सिमानाका कारण यस्ता किटजन्य रोग उन्मुलन गर्ने सरकारको उद्देश्य पुरा हुनेमा शंका उब्जिएको छ ।

यसको साथै पछिल्लो समय त्यस्ता रोगले ग्रसित क्षेत्रमा नेपालीहरु जाने क्रम बढेकाले पनि यी रोग निर्मुलन चुनौतीपूर्ण रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ९ सय ९१ जना नेपालीमा मलेरिया देखिएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा आइपुग्दा यो संख्या बढेर १ हजार १ सय २८ पुगेको देखिन्छ, जसमा ५६.४ प्रतिशत संक्रमित विदेशबाट नेपाल आएका थिए ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ