२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगवर्षायाममा छालाका रोग किन लाग्छन् ? यसरी राख्न सकिन्छ छालालाई सुरक्षित

वर्षायाममा छालाका रोग किन लाग्छन् ? यसरी राख्न सकिन्छ छालालाई सुरक्षित


डा. लैला लामा

वर्षायाममा प्रायःजसो हामी सबैको छालामा विभिन्न प्रकारका खटिरा तथा बिबिराहरु देखा पर्न सक्छन् । हामीले शरीरमा आएका त्यस्ता खटिरा र बिबिराहरुलाई ध्यान नदिंदा यसले हाम्रो शरीरमा दीर्घकालीन रुपमा समेत असर पार्न सक्छन् । तर, कतिपय अवस्थामा हामीले ध्यान दिंदादिदैं पनि छालामा विभिन्न समस्याहरु देखा पर्दछ । तसर्थ, छालालाई हामीले शरीरको अन्य अंग सरह उचित स्याहार सुसार गर्नु पर्दछ ।

वर्षा तथा गर्मी याममा छालामा समस्या किन समस्या देखा पर्छ ?

पातलो तन्तुबाट निर्मित छालाले हाम्रो शरीरमा कभरको काम गरिरहेको हुन्छ । शरीरको बाहिरी भागमा रहने यसले शरीरको रगतलाई बाहिर बहन नदिई रक्त बहावमा पनि उत्तिकै सघाउ पु¥याई रहेको हुन्छ । त्यसैले हाम्रो शरीरमा अलिकति मात्रै चोटपटक लागेको खण्डमा वा छालामा क्षति भएमा हामी दुखाइको महसुस गर्दछाैं ।

छालामा समस्या देखा पर्नाले यसले छालाको स्वरुप त बिगार्छ नै, यसले हाम्रो अनुहार तथा बाहिरी सुन्दरतामा समेत ह्रास ल्याउँछ । जसले व्यक्तिको व्यक्तित्वमा समेत असर पु¥याउँछ । तसर्थ, विभिन्न छाला रोग तथा छाला सम्बन्धिका समस्याहरुबाट बच्नको निम्ति हामीले शरीरको अन्य भागहरुजस्तै छालालाई पनि उचित स्याहार सुसार गर्नुपर्छ ।

छालामा प्रभाव अन्य कारक तत्वहरुमध्ये बाहिरी वातावरण पनि एक हो । हाम्रो वरपरका वातावरण तथा त्यहाँको धुलोधुवाँ, गर्मी तथा प्रदुषणले पनि प्रत्यक्ष रुपमा छालालाई प्रभाव पार्ने गर्दछ । जाडो महिनाको तुलनामा गर्मीयाम अर्थात् वर्षायाममा छाला सम्बन्धी विभिन्न रोगहरु देखा पर्दछन् । यसको प्रमुख कारणहरु यसप्रकार रहेका छन् ।

१) पसिनाका कारण

गर्मीयाम वर्षायाम भएतापनि असन्तुलित वातावरणको कारण हाम्रो शरीरले कहिले घाम त कहिले पानीको सामना गरिरहेको हुन्छ । यस समयमा हाम्रो शरीरबाट पैदा भएको पसिना कतिपय अवस्थामा हामी हाम्रो ज्यानमा नै सुकाउने गर्छाै । र, पसिना सुकिसकेपछि पसिना आएको भागहरुलाई सफा नगरी त्यत्तिकै सुत्ने गर्छाै । त्यसबाट हाम्रो शरीरमा आँखाले नदेखिने खालका विभिन्न किटाणुहरु पैदा हुने गर्छन् । फलस्वरुपः शरीरका विभिन्न भागहरु विशेषतयाः काखी, शरीरका भित्री भाग तथा काँपहरुमा चिलाउने र स–साना खटिराहरु देखा पर्ने गर्छन् ।

२) घाम तथा उच्च तापक्रमका कारण

गर्मी महिनामा छालामा विभिन्न समस्याहरु देखा पर्नुको अर्काे मुख्य कारण घाम पनि हो । जाडोमा भन्दा गर्मीयाममा घाम चर्काे लाग्ने भएकोले र हाम्रो छालालाई पनि गर्मीयाममा सिमित तापक्रम आवश्यक पर्ने भएकोले यसबाट छालामा समस्या देखा पर्न जान्छ । हाम्रो छालालाई आवश्यकभन्दा बढी तापक्रम भएको खण्डमा र घामको विकीरण सिधै छालामा पर्ने भएकोले यसबाट पनि छालामा विभिन्न खालका समस्याहरु देखा पर्न सक्छन् ।

३) छालाको किसिमका कारण

वर्षा तथा गर्मी महिनामा शरीरमा छालासम्बन्धी समस्याहरु देखा पर्नुको अर्काे मुख्य कारण छालाको प्रकार पनि हो । मानिसहरु सबैको छाला समान किसिमको हुँदैन् । कसैको छाला खस्रो (ड्राई), कसैको चिल्लो (ओइली तथा चिल्लो निकाल्ने) त कसैको समान प्रकृतिको हुन्छ । तसर्थ, यस समयमा देखापर्ने समस्याहरु सबैमा एकै किसिमको हुँदैन । यसैगरी, छालाको प्रकृतिकै कारण कसैलाई छालासम्बन्धी समस्या नदेखिने पनि हुन्छ । तसर्थ, वर्षा तथा गर्मीयाममा चिल्लो छाला भएकाहरुको अनुहार तथा विभिन्न भागहरुमा डन्डीफोरहरु देखा पर्ने र सुख्खा छाला भएकाहरुमा अनुहार फुस्रो हुने समस्याहरु देखा पर्न सक्छ ।

यसबाहेक पनि हाम्रो शरीरमा लागेको विभिन्न रोगहरु पनि छालासम्बन्धी समस्याहरु निम्त्याउने प्रमुख एक कारक तत्व हो । विभिन्न औषधीहरुको प्रयोग, हावाको माध्यम, जनावरहरुसँगको प्रत्यक्ष सम्पर्क, उचित सरसफाइको अभावजस्ता आदिजस्ता कारणले पनि छाला सम्बन्धि विभिन्न समस्याहरु देखा पर्दछन् ।

छाला रोगबाट कसरी बच्न सकिन्छ ? उपचारका घरेलु उपायहरु

छाला रोगलाई हामीले सामान्य रुपमा लिदा यसले हाम्रो शरीरमा दीर्घकालीन रुपमा असर गर्दछ । अझ भन्नुपर्दा, अन्य समयभन्दा हामीले गर्मी तथा वर्षायाममा यसको उचित स्याहार सुसार गरी सरसफाइमा विशेष ध्यान दिनु पर्दछ ।

धेरैजसोले गर्ने गुनासो भनेको औषधि तथा क्रिम प्रयोगका बाबजुद पनि छाला सम्बन्धी समस्याहरु किन देखा पर्छ त ? हामी धेरैजसो के भ्रममा छौं, भने छाला सम्बन्धी रोगको उचित उपाय तथा समाधान भनेकै यससम्बन्धीको विभिन्न क्रिम तथा औषधिहरु हो ।

सर्वप्रथम त हामीले के बुझ्नुपर्छ भने कतिपय अवस्थामा छालासम्बन्धी बजारमा उपलब्ध औषधि तथा क्रिममात्र समस्याको निराकरण होइन् । यसले समस्याहरुलाई न्यूनीकरण त गर्छ । तर, पूर्ण रुपमा निराकरण भने गर्दैन् । र, कतिपय अवस्थामा औषधि तथा क्रिमको प्रयोग गर्दा गर्दै पनि यसले खासै प्रभाव पार्न पार्दैन ।

यसको कारण छाला अनुसारको उचित औषधि तथा क्रिमको छनोटको अभावका पनि हुन सक्छ । यसबाहेक ती क्रिम तथा औषधिको उचित उपयोग गर्ने तरिकाको चेतनाको अभावका कारण काम गर्दैन् । तसर्थ, हामीले त्यस्ता सामाग्रीहरुको खरिद समयमा नै उपयोगको तरिकाबारे राम्ररी ज्ञान हासिल गर्नुपर्दछ । यससँगसँगै छालामा कुनै पनि औषधि तथा क्रिम प्रयोग गर्नुपूर्व सम्बन्धित विशेषज्ञ तथा डाक्टरसँग सल्लाह लिनुपर्छ ।

अर्काे उपाय भनेको हामीले प्रयोग गर्ने लुगा तथा कपडाको उचित प्रयोग पनि हो । हामीले मौसमअनुसारका कपडा लगाउनाले हाम्रो शरीर तथा छालाले पनि आनन्दको महसुस गर्दछ । जसबाट पनि छाला सम्बन्धि समस्याहरुको निराकरण गर्न सकिन्छ । वर्षायाममा पानीमा भिज्दा हाम्रो शरीरमा लगाएको कपडा टाइट भएको खण्डमा पनि छालाको समस्या देखा पर्न सक्छ । तसर्थ, हामीले वर्षायाममा आफूले लगाउने कपडा उपयुक्त खुकुलो प्रकारको कपडाहरु छनोट गर्नुपर्दछ । अहिले प्रदुषणको मात्रा उच्च पुगेको हुँदा घरमा बस्दा होस् या बाहिर निस्कदा शरीर ढाक्ने कपडाहरु लगाउनु पर्दछ ।

यसबाहेक हामीले सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । राति सुत्नुअघि शरीर पखाल्ने बानी बसाल्नुपर्छ । हामीले विशेषगरी शरीरको काँप तथा भित्री अंगहरुमा आएको पसिनाहरुलाई सफा गर्नुपर्छ । यसैगरी, एउटै कपडा धेरै नलगाई कपडाहरु फेरिरहने, निन्द्रा खेर नफाल्ने, पानीको सेवन पर्याप्त मात्रामा गर्ने र छाला अनुरुपको क्रिम तथा फेसवासहरुको प्रयोग गर्नाले पनि छालासम्बन्धीको रोगहरुलाई न्यूनीकरण तथा निराकरण गर्न सकिन्छ ।

प्रस्तुतीः सिर्जना मगर


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ