२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगपक्षघात (प्यारालाइसिस) के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ?

पक्षघात (प्यारालाइसिस) के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ?


डा. सुनिलराम कोइराला
न्युरोलोजिष्ट, वीर अस्पताल

पक्षघात (प्यारालाइसिस) स्नायु प्रणालीसँग सम्बन्धित रोग हो । मस्तिष्कको कुनै भागमा रक्त प्रवाह बन्द हुँदा त्यस भागले नियन्त्रण गर्ने अन्य अंग निस्क्रिय हुने अवस्था पक्षघात हो । पक्षघात भएको मानिसको शरीरको कुनै भाग पूर्ण वा आंशिक रुपमा चल्दैन् ।

विशेषतः हाम्रो हात, खुट्टा, औंला, अनुहारलगायतका अंग पक्षघातबाट प्रभावित हुनसक्छन् । पक्षघात भएको व्यक्तिको शरीरको पूरै वा आंशिक भाग चल्दैन र उक्त अंगले कुनै अनुभूति पनि गर्न सक्दैन् ।

के कारणले हुन्छ ?

पक्षाघातको प्रमुख कारण भने स्नायुप्रणालीमा हुने चोटपटक हो । स्नायुप्रणालीमा विभिन्न कारणले क्षति हुनसक्छ । यसको प्रमुख कारण भनेको मष्तिष्कघात र मेरुदण्डको चोट हो । यी दुवै कारणले मस्तिष्कमा रक्त प्रवाहमा अवरोध गर्दा पक्षघात हुने हो ।

मस्तिष्कमा रक्त प्रवाह नहुँदा मस्तिष्कको निश्चित भागले नियन्त्रण गर्ने अंगले काम गर्न सक्दैन् । मस्तिष्कको रक्तनलीमा रगतको चाप बढेर नशा फुट्दा वा नशा खुम्चँदा रक्तप्रवाह हुन सकेन भने मस्तिष्कघात हुन्छ ।

व्यक्तिको खानपान र जीवनशैलीका कारण समेत स्नायु प्रणाली विस्तारै कमजोर हुन्छ । यसका अलावा अति व्यस्त दैनिकी, क्षमताभन्दा बढी शारीरिक श्रमले पनि स्नायु प्रणालीलाई असर गर्छ । मधुमेह तथा उच्च रक्तचापलगायतका समस्या भएका मानिसले सही तरिकाले औषधि सेवन नगर्दा पनि पक्षघात हुने सम्भावना उतिकै रहन्छ ।

लक्षण

पक्षघातको मुख्य लक्षण शरीरका अंग चलाउन गाह्रो हुनु हो । त्यस्तै, मुख चलाउन असहज हुने, स्पष्टसँग बोल्न नसक्ने, मुख बाङ्गिने, जस्ता लक्षण पनि देखापर्छ ।

कस्ता व्यक्तिमा यसको सम्भावना हुन्छ ?

साधारणतया पक्षघात उमेर बढ्दै जाँदा हुन्छ । यद्यपि गहिरो चोटपटक लागेमा वा स्नायु प्रणालीमा समस्या भएमा यो जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । मुटु सम्बन्धि रोग, उच्च रक्तचाप, मधुमेहजस्ता रोगी र अत्यधिक धुमपान गर्ने व्यक्तिमा पक्षघात हुने सम्भावना अन्य ब्यक्तिमा भन्दा बढी हुन्छ ।

पक्षघात हुन नदिन के गर्ने ?

ब्यक्तिको जीवनशैलीमा सुधार गर्ने हो भने पक्षघातबाट धेरै हदसम्म बच्न सकिन्छ । यसका लागि पर्याप्त शारीरिक ब्यायाम र स्वस्थकर खानपिनको बानी अपनाउन आवश्यक छ । धुमपान र मदिरा सेवन गर्ने खराब बानी छ भने त्यस्तो बानी हटाउनुपर्छ ।

मेरुदण्डको चोटका कारण पनि पक्षाघात हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन अति आवश्यक छ । यदि केहि गरी पक्षाघात भैहालेमा चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनुपर्छ ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ