२०७९ असार १०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसर्जन अनिशा, बिरामीको मुस्कानमा सर्जनको खुशी

सर्जन अनिशा, बिरामीको मुस्कानमा सर्जनको खुशी


चिकित्सा विज्ञानमा सर्जरीलाई पुरुष प्रभुत्व भएको क्षेत्र मानिन्छ । त्यसैले कमै मात्र महिला सर्जरीलाई आफ्नो करिअरका रुपमा छनोट गर्छन् । नेपालमा पनि महिला सर्जन न्यून छन् । चुनौतीपूर्ण सर्जरी अझ त्यसमा पनि लिभर ट्रान्सप्लान्ट सर्जरी । डा. अनिशा तिवारी भने त्यसैमा रमाइरहेकी छन् ।

२०४२ सालमा काठमाडौंको डिल्लीबजारमा सामान्य परिवारमा जन्मिएकी हुन्, उनी । उनको प्रारम्भिक शिक्षा भिएस निकेतन स्कुलमा भएको हो । भिएस निकेतनबाटै उनले सन् २००१ मा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । स्कुले जीवनमा कुनै स्पष्ट सपनाको आकृति नबनाएपनि उनले पढेर ठूलो मान्छे हुनुपर्छ भन्ने लक्ष्य भने सानैदेखि बोकेर हिडेकी थिइन् ।

एसएलसीपछि उनले प्लस टुमा साइन्स लिएर भिएस निकेतमै पढिन् । कलेज जीवन बिताइरहेका आम तन्नेरीहरुको जीवनमा खुल्लापन र स्वतन्त्रतासँगै रोमाञ्चक अनुभूतिहरु पनि जोडिएका हुन्छन् । डा. अनिशाको कलेज जीवन कस्तो थियो त ? भन्छिन्, ‘म स्कुल र कलेज जहाँ पढें, त्यहाँको वातावरण एकदमै स्ट्रीक थियो, अनुशासनलाई निकै प्राथमिकतामा राखिन्थ्यो ।’ त्यही कारण हुनुपर्छ, डा. अनिशासँग कलेजका जीवनका उट्पट्याङ अनुभूतिहरुको फेरिहस्त छैन् । यसप्रति उनमा कुनै गुनासो पनि छैन् । बरु, उनलाई लाग्छ स्कुल र कलेज जीवनको त्यही अनुशासनले नै उनलाई अहिले यहाँ पुर्‍याएको हो । ‘म जे छु, त्यसैको कारण हो,’ उनले भन्छिन्, ‘अनुशासनमा बस्ने, सबैलाई रेस्प्याक्ट गर्ने कुरा मैले मेरो स्कुल र घरबाटै सिकेकी हुँ ।’ उनले सन् २००३ मा डिस्टिङसनमा प्लस टु पास गरिन् ।

प्लस टुपछि भने उनले एमबीबीएस पढ्ने निधो गरिन् । ‘मेरो घरबाट कोही डाक्टर थिएन, परिवारका सबैमा कोही डाक्टर बने हुन्थ्यो भन्ने थियो,’ उनले चिकित्सा शिक्षातर्फ आफ्नो आकर्षणको कारण खोलिन्, ‘त्यही कारण मैले एमबीबीएस पढ्ने निर्णय गरे ।’ डा. अनिशा एमबीबीएसका लागि सन् २००३ मा चीनको सिचुवान मेडिकल युनिभर्सिटी गइन् । चीन उनका लागि नयाँ ठाउँ त थियो नै त्यसमाथि फरक भाषाले गर्दा सुरुमा उनलाई एडजष्ट हुन निकै हम्मे पर्‍यो ।

तर, चीनमा एमबीबीएस पढ्दा उनले चिकित्सकका लागि आवश्यक शिक्षा मात्रै हासिल गरिनन्, त्यहाँको जीवनशैलीलाई पनि नियाल्ने मौका पाइन् । ‘एमबीबीएस पढाइका दिनहरु रमाइला रहे, चीन नेपालभन्दा विकसित छ, एडभान्स छ,’ उनी आफ्नो चीन अनुभव बाँडछिन्, ‘उनीहरुको काम गर्ने शैली, मेहनेत गर्ने तरिका अर्कै छ ।’ सन् २००८ मा उनी चीनबाट एमबीबीएसको डिग्रीसँगै मिठा सम्झनाहरु लिएर स्वदेश फर्किइन् ।

सर्जन बन्ने यात्रा

चीनबाट फर्केपछि उनले वीर अस्पतालमा इन्टर्नका रुपमा एक वर्ष काम गरिन् । त्यसपछि उनी काठमाडौ मेडिकल कलेजमा मेडिकल अफिसरका रुपमा काम गर्न थालिन् । त्यहाँ उनको जिम्मेवारी सर्जरी विभागमा थियो । त्यही उनका लागि करिअर निर्माणको टर्निङ प्वाइन्ट बन्यो । ‘काठमाडौं मेडिकल कलेजमा सर्जरीमा काम गरेपछि मैले शल्य चिकित्सक बन्छु भन्ने निर्णय लिएँ,’ उनले सर्जन यात्राको किस्सा खोलिन् ।

तुलनात्मक रुपमा कम महिलाहरुले रोज्ने र अलि चुनौतीपूर्ण मानिने सर्जरीमा रोज्नुको मुख्य कारण के हो त ? ‘काम गर्दागर्दै मलाई अप्रेसन गर्न एकदमै रमाइलो लाग्यो । सुरुवात म जब माइनर अप्रेसन गर्थे, मैले राम्रो तरिकाले गर्थे, मेरा सिनियरहरुले ‘यु आर गुड’ भन्नुहुन्थ्यो,’ उनले सर्जरी रोज्नुका थप कारणहरु प्रष्टाइन्, ‘राम्रै भनिरहनु भएको छ, म अझ राम्रो प्रयास गर्छु भनेर यसैमा लागे ।’

जहाँ इच्छा त्यहाँ उपाय । डा. अनिशा आफ्नो रुचीलाई पछ्याउँदैं गइन् । सन् २०११ मा उनी नेपाल मेडिकल कलेजमा माष्टर्स इन सर्जरी (एमएस) अध्ययन गर्न भर्ना भइन् । ‘मैले सन् २०११ मा नेपाल मेडिकल कलेजमा माष्टर्स इन सर्जरीमा सिट पाएँ,’ उनले विशेषज्ञता हासिल गर्ने पहिलो खुडकिलोबारे भनिन्, ‘एमएस गर्दाखेरिको अवस्था एकदमै टफ थियो, पूरै विभागमा म एक्लो महिला थिए ।’ उनले त्यतिबेला आइपरेका चुनौती र समस्यालाई सहजताका साथ सामना गरिन् । सन् २०१४ मा उनले सर्जरीमा एमएस गरिन् ।

सर्जरीमा एमएस गरेपछि उनले काठमाडौं मेडिकल कलेजमा लेक्चररका रुपमा एक वर्ष काम गरिन् । सन् २०१५ मा उनी हेपाटो बिलियरी एण्ड लिभर ट्रान्सप्लान्टको फेलोसीप पाएपछि भारतको चर्चित मेदान्त अस्पताल गइन् । उनले त्यहाँ २ वर्षको त्यो फेलोसीप पूरा गरिन् । त्यसपछि मेदान्तमै एक वर्ष तीन महिनाको एडभान्स फेलोसीप गरेर एटेन्डीङ कन्सल्ट्यान्टको रुपमा काम गरिन् । सबै गरी ३ वर्ष तीन महिना उनले मेदान्तमा बिताइन् । मेदान्तले उनलाई के सिकायो त ? ‘त्यहाँको अनुभव बेग्लै छ, त्यहाँको काम गर्ने शैली र यहाँको काम गर्ने शैली फरक छ,’ डा. अनिशा भारतको चर्चित अस्पतालमा रहँदाको अनुभव सुनाउदैं भन्छिन्, ‘त्यहाँ प्रतिस्पर्धा पनि धेरै छ, जनसंख्या पनि धेरै छ । मेदान्त एकदमै धेरै प्यासेन्ट फ्लो हुने ठाउँ हो ।’

मेदान्तमा रहँदा उनले धेरै अनुभव हासिल गर्ने मौका पनि पाइन् । हरेक दिनजसो मेदान्तमा लिभर वा ट्रान्सप्लान्टको अप्रेसनहरु भैरहेकै हुन्थ्यो । ‘त्यसकारण मैले धेरै एक्सपिरियन्स गर्न पाएँ, अप्रेसनहरु सिक्न पाएँ, गर्न पाएँ,’ उनी भन्छिन् । डा. अनिशाले मेदान्तमा रहँदा सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय लिभर ट्रान्सप्लान्ट सोसाइटीको वेष्ट रिसर्च पेपर अवार्ड जितिन् । त्यसपछि उनी हेपाटो बिलियरी सोसाइटी इन साउथ कोरियाको छात्रवृत्तिमा फेलोसीप गर्न दक्षिण कोरिया गइन् । दक्षिण कोरियामा अध्ययन सकिएपछि नेपाल फर्किएकी उनी झण्डै ७ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कन्सल्ट्यान्ट एचपीबी एण्ड लिभर प्लान्ट सर्जनका रुपमा कार्यरत छन् ।

सर्जन अनिशा अब लिभर डिजिज, लिभर क्यान्सर र लिभर सिरोसिस प्रत्यारोपणमै आफूलाई फोकस गर्ने योजनामा छिन् । ‘लिभर सर्जनभन्दा अघि म जनरल सर्जन थिएँ, जनरल सर्जरीका सबै अप्रेसन गरिरहेकै हुन्थेँ,’ उनी भन्छिन्, ‘अब म लिभर, गलब्लाडर, प्यानक्रियाज र लिभर ट्रान्सप्लान्ट सर्जरीमै फोकस गर्न चाहन्छु ।’ नेपालमा विरलै हुने यस्ता अप्रेसनहरुमा छुट्टै चिकित्सक हुने प्रायाक्टिस पनि नेपालमा उति प्रचलनमा आइसकेको छैन् । ‘कलेजो प्रत्यारोपण अहिले पनि सुरुवाती स्टेजमै छ,’ नेपालको कलेजो प्रत्यारोपणको अवस्थाबारे उनी भन्छिन्, ‘यसमा अझ धेरै मेहनेत गर्नुपर्छ, जनमानसमा पनि यसको चेतना फैलाउनु जरुरी छ ।’

नेपालमा कलेजो खराबका भएका धेरै विरामी रहेको बताउँदैं उनी ट्रान्सप्लान्ट किन गर्ने भन्ने सोच समाजमा विद्यमान रहेको बताउँछिन् । ‘अर्काले कलेजो दिने भएकाले पनि सामान्य मानिसमा अहिले पनि हेजिटेसन छ,’ उनी कारण खुलाउँछिन्, ‘त्यसलाई हामीले जनचेतना अभिवृद्धि गरेर चिर्नुपर्नेछ ।’

बिरामीको मुस्कानमाथि सर्जनको खुशी

एउटा सर्जनका लागि सबैभन्दा मिठो अनुभव के हुँदो हो ? ‘मलाई धेरै जीवनहरु सेभ गर्न पाएकोमा खुशी लाग्छ, जुन बिरामीको लाइफ मैले सेभ गर्न सके,’ डा. अनिशा भन्छिन्, ‘निको भैसकेपछि उनीहरुबाट ग्रेटफूलनेस र थ्याक्सफूलनेस जुन आउँछ नि त्यसले छुट्टै भावनात्मक आनन्द दिन्छ ।’

नेपालजस्तो सिष्टम नभएको देशमा काम, जागिर र कमाइबाट हुने असन्तुष्टीलाई पनि त्यो बेजोड फिलिङले छिनभरमै भुलाइदिने सुन्दर अनुभव उनीसँग छ । ‘सडेनल्ली आफूले अप्रेसन गरेर बचाएको बिरामी तीन महिनापछि आफ्नो परिवारसँग फ्लोअपका लागि आउँछ,’ उनी सर्जन चिकित्सकको अनुभव साट्छिन्, ‘म ठीक भए भनेर भन्छ, हृद्धयभित्रबाटै थ्याक्यु भन्छ, त्यो सुन्दा मनभित्रै अर्कै खालको ब्यक्त नै गर्न नसकिने फिलिङ्स आउँछ ।’

डा. अनिशा जब परिवारसँग मुस्कान साट्दैं आफ्नो क्याबिनमा आफूलाई धन्यवाद दिइरहेको बिरामीको अनुहार हेर्छिन् । उनलाई उसको वरिपरि रहेका, उमाथि आश्रित परिवारहरुको भरोसा आफूले जोगाइदिएको अनुभूति हुन्छ । उनीहरुलाई दुःखको सागरबाट जोगाउन सकिएको ठानेर उनी एकदमै भावनात्मक बनिदिन्छिन् । ‘त्यो बिरामी बचाउन नसकेको भएँ, मरेको भएँ, फ्यामिलीले आफ्नो सहारा त गुमाउथ्यो,’ डा. अनिशा आफ्नो भावनात्मक अनुभूति साट्छिन्, ‘उनीहरु आफ्नो परिवारको सदस्य गुमाउँदाको पीडामा हुन्थे, तर सबै फ्यामिली नै खुशीपूर्व हामी आयौं, तपाईंले बचाउनुभयो भन्दाखेरि अर्कै खालको रमाइलो फिलिङ आउँछ, मैले केही त लाइफमा राम्रो गरिरा’रहेछ भन्ने अनुभूति हुन्छ ।’

यी सर्जनलाई फुर्सद क्षण बिरलै प्राप्त हुन्छ, अति ब्यस्तता नेपालका चिकित्सकहरुको सबैको साझा विशेषता हो । डा. अनिशा त्यही विरलै प्राप्त हुने फुर्सदको समयमा कुकिङ गर्ने, परिवारमा मानिसहरुको मनपर्ने खानेकुरा बनाउने गर्छिन् । त्यसबाहेक घरपरिवारसँग समय बिताउने तथा घरमा दुई वटा कुकुरसँग समय बिताउँछिन् । घुम्न उति फुर्सद नपाइने भएकाले उनी गीत सुन्ने गर्छिन् । चिकित्सक पेशा दिनदिनै अपडेट भैरहनुपर्ने भएकाले पनि उनी बढीजसो आफ्नो पेशासँग सम्बन्धित पुस्तक र रिसर्च आर्टिकलहरु पढ्छिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)