२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकरुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा

करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा

इएनटी विशेषज्ञ डा. शोभाको सिओओ हुँदैं मेडिकल निर्देशकसम्मको यात्रा


बुढानिलकण्ठ चुनिखेलस्थित करुणा अस्पतालको नेतृत्व डा. शोभा महर्जनले गर्दैछिन् । एक वर्षयता अस्पतालको मेडिकल निर्देशकको जिम्मेवारी लिएकी ३७ वर्षीया डा. शोभा पेशाले नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । यी युवा चिकित्सकले झण्डै ६ महिना चिफ अपरेटिङ अफिसर (सिओओ)को भूमिकामा रहेर पनि अस्पताल व्यवस्थापनमा आफ्नो कुशलता देखाइसकेकी छन् ।

हेल्थ सेक्टरमा उदाउँदैं गरेको करुणा अस्पतालमा व्यवस्थापकीय भूमिका रहेर काम गर्नु कम चुनौतीपूर्ण छैन । तर, डा. शोभा क्लिनिकलदेखि व्यवस्थापन र ह्युमन रिसोर्सदेखि फाइनान्ससम्मका सबै कामहरुमा उत्तिकै जमेर खटन—पटनमा सक्रिय छन् । केही समयअघिसम्म अस्पतालमा २ सय कर्मचारी कार्यरत थिए, त्यो बेला पनि उनले गज्जबले काम गरिन् । अहिले अस्पतालमा यो संख्या केही घटेर १५० हाराहारीमा छ । ती सबै कर्मचारी परिचालन, अस्पतालका दैदिनका कामहरुमा उनकै प्रमुख भूमिका छ ।

विहान ९—१० बजे अस्पताल पुग्ने र साँझ ७—८ बजे घर फर्किने डा. शोभा नै झण्डै ३ दर्जन विशेषज्ञ चिकित्सकहरुको टिमको मेडिकल म्यानेजमेन्ट गर्छिन् । २५ शैय्याको अस्पतालको क्लिनिक पाटोमा पनि डा. शोभा फिट छिन् । उनलाई अहिले लाग्छ—डाक्टर भएर गर्ने कामभन्दा म्यानेजमेन्ट अझै महत्वपूर्ण रहेछ । त्यही कारण थप व्यवस्थापकीय स्कील हासिल गर्न उनी हस्पिटल म्यानेजमेन्टमा माष्टर्स गरिरहेकी छन् । ‘अस्पताल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर जान्नकै म यो विषय पढिरहेकी छु,’ उनी भन्छिन्, ‘अस्पतालको जग राखेदेखि नै प्रमुखतः फाइनान्स व्यवस्थापन रहेछ भन्ने लाग्यो ।’ नयाँ जिम्मेवारीलाई उनले आफ्नो दायित्वका रुपमा लिएकी छन् ।

डा. शोभाले करुणा अस्पताललाई सेवा केन्द्रीत स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने सपना देखेकी छन् । त्यही कारण बिरामीको सन्तुष्टि र हेरचाहलाई प्राथमिकतामा राखेर करुणा व्यवस्थापनले काम गरिरहेको छ । ‘विश्वकै स्ट्याण्डर्ड अस्पतालका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भनिन्, ‘बिरामीले ढुक्क भएर आफूले चाहेको हरेक सेवा सुविधासम्पन्न रुपमा प्राप्त गरुन् भन्ने नै हो ।’ त्यसका लागि प्यासेन्ट सेफ्टी (बिरामीको सुरक्षा)लाई अस्पतालले आफ्नो मूल मन्त्र बनाएर अगाडि बढिरहेको छ ।

वि.सं. २०४१ सालमा काठमाडौंको असनमा जन्मिएकी हुन्, डा. शोभा । बुवा वुद्धराम महर्जन र आमा सरस्वती महर्जनका तीन सन्तानमध्ये उनी एक्ली छोरी हुन् । काठमाडौंका रैथाने किसान वुद्धरामको सिंगो परिवार खेती किसानीमा संलग्न थियो । त्यो बेला असनको वातावरण बेग्लै थियो । ‘पहिले त्यो नेवारको ठूलो बस्ती भएको ठाउँ हो,’ उनी स्मरण गर्छिन्, ‘अहिले जुन ठाउँमा चाइना सिटीहरु अवस्थित छन् नि त्यो ठाउँ पार गर्दा हामी भुतले खाला भन्दैं ज्याँठा नआउँदासम्म कुद्थ्यौँ ।’ सामाखुशीदेखि गोंगबु आउँदा पनि त्यस्तै सुनसान खेतहरु थिए ।

वुद्धरामले आईए उत्तीर्ण गरेका थिए । तर, उनले स्नातक पढ्न पाएनन् । कहीकतै त्यही पढ्न नपाउँदाको पीडा उनीभित्र गडेको थियो । त्यसैले उनले आफ्ना तीन वटै सन्तानको शिक्षादीक्षामा विशेष महत्व दिए । डा. शोभाको प्रारम्भिक शिक्षादीक्षा वसन्त ऋतु माविबाट भएको हो । उनले त्यहीबाट कक्षा ४ सम्मको अध्ययन पूरा गरिन् । त्यसपछि उनी थप शिक्षाका लागि आदर्श योगहरि मावि गइन् । ‘हामी तीन जना भाइबहिनीलाई बुवाले साइकलमा राखेर विद्यालय लैजानुहुन्थ्यो,’ उनी स्मरण गर्छिन् । गोंगबुमा उनको खेत थियो । स्कुल विदा हुँदा शोभा, उनका दाइ र भाइ तीनै जना खेतमा गएर आमा बुवालाई धान, आलु, लसुनजस्ता कुराहरु लगाउन मद्धत गर्थे ।

स्कुल जीवनमा डा. शोभाका दाइ खेलकुदमा निकै रुचि राख्थे । त्यही कारण उनको रुचि पनि खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा थियो । ‘त्यो समय खेलकुद भनेर खासै महत्व दिइँदैन थियो । तर, वार्षिक कार्यक्रमहरुमा भलिबल, बाँस्केटबल चाहीँ खेल्थें,’ उनले भनिन् । स्कुलमा उनलाई सबैभन्दा बढी मनपर्ने विषय गणित थियो । पढाइमा सानैदेखि अब्बल उनले सन् २००० मा योगहरिबाटै ८१ प्रतिशत अंकसहित विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

छोरीले एसएलसीमा उत्कृष्ट नतिजा ल्याएपछि उनका बुवाले थप उत्कृष्ट वातावरणमा शिक्षादीक्षा दिने योजना बनाए । त्यही कारण उच्च शिक्षा अध्ययनका लागि उनी नयाँदिल्लीको श्री सत्यसाई कलेज गइन् । ‘बुवाले आफूले सोचे जसरी पढाइ पूरा गर्न नसक्नुभएकोले होला सायद हाम्रो पढाइका लागि अलि धेरै ध्यान दिनुहुन्थ्यो,’ डा. शोभा भन्छिन्, ‘हामी काठमाडौं हुँदा नै भाइलाई पढाइका लागि दार्जिलिङ पठाउनुभएको थियो । दाइ यतै बस्नुभयो । तर, मेरो एसएलसीमा राम्रो नतिजा आएकोले मलाई दिल्ली पठाउनुभयो ।’ उनका बुवाका साथीको छोरीहरु पनि दिल्लीको त्यही स्कुलमा पढिरहेका कारण पनि डा. शोभालाई दिल्ली पठाउन सहज भएको थियो ।

नयाँदिल्ली बसाइँलाई डा. शोभा जीवनको एउटा ठूलो परिवर्तनका रुपमा लिन्छिन् । ‘असनजस्तो एउटा नेवारी र साँस्कृतिक स्थानमा हुर्किएकी थिएँ । बुवाले छोराहरु हुँदाहुँदै छोरीले राम्रो पढ्छे भनेर दिल्ली पठाउनुभएको थियो । त्यो उमेर भनेको अलिक बिग्रिने उमेर पनि थियो,’ उनी कारण खोल्छिन्, ‘तर, त्यो विद्यालयमा केटीहरु मात्र पढ्थे । त्यहाँ मैलै राम्रो एक्स्पोजर पाए ।’ सत्यसाई कलेजबाटै सन् २००२ मा उनले विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरिन् । प्लस टु सकेपछि उनी नेपाल फर्किइन् ।

गणित मनपर्ने भएकाले उनलाई इन्जिनियर बन्न रुचि थियो । इन्जिनियर र डाक्टरी दुवैतर्फ इन्ट्रान्स दिइन्, नाम पनि निस्कियो । तर, उनका बुवाले साथ दिएपछि उनले एमबीबीएस नै रोजिन् । एमबीबीएस पढ्न सन् २००३ मा उनी नेपाल मेडिकल कलेज अत्तरखेल गइन् । त्यहीबाट उनले सन् २००७ मा एमबीबीएसको अध्ययन पूरा गरिन् । ‘बुबाआमाले आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर मलाई एमबीबीएस पढाउनुभएको हो,’ डा. शोभा भन्छिन् । सन् २००८ को सेप्टेम्बरमा उनको इन्टर्नसीप पनि सकियो । नेपाल मेडिकल कलेजमै उनले मेडिकल अधिकृतका रुपमा काम सुरु गरिन् ।

झण्डै एक वर्ष बढी नेपाल मेडिकल कलेजमा मेडिकल अधिकृतका रुपमा बिरामी सेवामा बिताइन् । उनलाई विशेषज्ञता हासिल गर्ने मन थियो । त्यही कारण सन् २०१० मा इएनटीमा विशेषज्ञता हासिल गर्न युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा गइन् । सन् २०१३ मा उनले युनिभर्सल मेडिकल कलेजबाट एमएस सकिन् । ‘इएनटीमा मैले एक वर्ष काम पनि गरें । यो मलाई मनपर्ने विषय हो जस्तो महसुस भयो,’ डा. शोभा इएनटी रोज्नुको कारण खोल्छिन् ।

विशेषज्ञ चिकित्सक बनेपछि उनी काठमाडौं फर्किइन् । तीन महिना सीतापाइलास्थित मनमोहन मेमोरियल अस्पतालमा इएनटी विशेषज्ञका रुपमा बिरामीको सेवा गरिन् । त्यसपछि डा. शोभाले नेपाल मेडिकल कलेज अत्तरखेल ज्वाइन गरिन् । नेपाल मेडिकल कलेजमा उनले ७ वर्षभन्दा बढी समय बिताइन् । त्यो अवधिमा बिरामीको उपचार र अध्यापनमा सक्रिय रहिन् । ‘त्यहाँ मैले सर्जरी, ओपीडीमा काम गर्ने तथा एमबीबीएसका विद्यार्थी पढाउने र मास्टर्सका विद्यार्थीलाई गाइड गर्ने मौका पाएँ,’ उनी भन्छिन् ।

यही बेला उनका श्रीमान डा. रामकुमार श्रेष्ठले चुनिखेलमा करुणा अस्पताल स्थापना गर्न सुरु गरे । स्थानीय समुदायकै पहलमा स्थापना भएको उक्त अस्पतालको नेतृत्व गरिरहेका श्रीमानले गरिरहेका कारण उनलाई पनि सघाउनुपर्छ भन्ने लाग्न थाल्यो । त्यही कारण उनले करुणा अस्पतालमा पार्टटाइम काम गर्न थालिन् । २ वर्षअघि उनी पूर्णकालीन रुपमा नेपाल मेडिकल कलेजलाई वाइवाइ गरेर करुणा अस्पतालमा बिरामी सेवा र व्यवस्थापकीय काममा तल्लीन रहन थालिन् ।

सुरुमा डा. शोभा करुणामा क्लिनिकल मात्र हेर्थिन् । पछि अस्पताल व्यवस्थापनले उनलाई क्लिनिकल सेवासँगै चिफ अपरेटिङ अफिसर (सिओओ) जिम्मेवारी सुम्पियो । झण्डै ६ महिना सिओओको रुपमा उनले अस्पतालको आन्तरिक व्यवस्थापनमा पनि आफ्नो कुशलता प्रदर्शन गरिन् । गत वर्ष सेप्टेम्बरदेखि भने उनले करुणा अस्पतालको मेडिकल निर्देशकको जिम्मेवारी पाइन् । अस्पताल निर्देशकका रुपमा उनले क्लिनिकलसँगै कर्मचारीको पाटोलाई पनि हेरिरहेकी छन् । ‘अहिले अनुभव भएका कर्मचारी पाउन गाह्रो छ,’ करुणाकी मेडिकल निर्देशक डा. शोभा भन्छिन्, ‘अस्पताल सञ्चालन गर्नु एकदमै ठूलो चुनौती रहेछ । मैले सबै कुराहरु हेरिरहेकी छु ।’

अस्पतालको सम्पूर्ण जिम्मेवारी भने डा. रामकै काँधमा छ । रोचक त के भने डा. राम केही समयअघि सगरमाथा आरोहण गर्न गए । त्यो अवधिमा झण्डै साढे दुई महिना हस्पिटलको सम्पूर्ण कमाण्ड डा. शोभाकै काँधमा आइलाग्यो । त्यो चुनौतीले उनलाई थप धेरै अनुभव हासिल गर्ने अवसर दियो । ‘कर्मचारीहरुबीच तालमेल मिलाएर काम गर्न सक्नुपर्ने रहेछ,’ उनी भन्छिन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #करुणा अस्पताल, #कान, #घाँटी रोग विशेषज्ञ, #डा. रामकुमार श्रेष्ठ, #डा. शोभा महर्जन, #नाक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ