२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलडा. दिप्ती : फर्टिलिटीमा दुई वर्षे फेलोसीप गरेकी नेपालकी एक्ली प्रजनन विशेषज्ञ

डा. दिप्ती : फर्टिलिटीमा दुई वर्षे फेलोसीप गरेकी नेपालकी एक्ली प्रजनन विशेषज्ञ


डा. दिप्ती दास । प्रजनन मेडिसिनमा दुई वर्षे फेलोसीप गर्ने सम्भवतः पहिलो नेपाली चिकित्सक हुन् । ‘रिप्रडक्टीभ मेडिसिन’मा भारतको प्रतिष्ठित ‘एफएनबी’ फेलो उनी अहिले अग्रणी वात्सल्य आईभीएफमा सेवारत छन् । नेपालका धेरैजसो प्रजनन विशेषज्ञहरुले एक वर्षे फर्टिलिटी फेलोसीप गरेका छन् । त्यही कारण भारतकी पायोनियर प्रजनन कन्सल्ट्यान्टसँग सिक्ने अवसर पाएकी डा. दिप्ती आगमन निःसन्तानको समस्या झेलिरहेका नेपाली दम्पत्तीहरुका लागि खुसीको कुरा हो ।

सयौं निःसन्तान दम्पत्तिहरुको उपचार संलग्न भइसकेकी उनले भारतको प्रतिष्ठित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरेकी हुन् । डा. दिप्तीसँग विशेषज्ञ भएपछि मुलुककै जेठो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन र उपचारमा काम गरेको लामो अनुभवसमेत छ । नेपालकै प्रजनन स्वास्थ्यमा टेवा पु¥याउने उद्देश्यका साथ भारतमा पाएका राम्रा अवसर छोडेर उनी स्वेदश फर्किएकी हुन् ।

३९ वर्षीया युवा प्रजनन रोग विशेषज्ञ डा. दिप्तीको राजविराजमा भएको हो । बुवा धर्मीलाल दास र आमा मीनादेवीका ६ सन्तानमध्ये उनी काइली हुन् । उनका बुवा पेट्रोलियम व्यापारमा संलग्न थिए भने आमा गृहणी थिइन् । व्यापारिक परिवारमा जन्मिएकी उनको बाल्यकाल राजविराजमै बितेको हो ।

सन् १९९१ मा उनी पढ्नका लागि दार्जिलिङ गइन् । दार्जिलिङको सेन्ट हेलेन्स सेकेण्डरी स्कुलबाट उनको प्रारम्भिक शिक्षाका अगाडि बढेको हो । शिक्षाका लागि कहलिएको उक्त स्कुल अनुशासनका लागि पनि उतिकै जानिन्थ्यो । ‘शिक्षासँगसँगै अनुशासनलाई पनि एकदमै बढी महत्व दिइन्थ्यो,’ उनले स्कुल जीवन स्मरण गरिन्, ‘स्कुलका सिष्टरहरुले पूर्णतयाः हामीलाई त्यसरी नै हुर्काउनुभएको हो ।’

डा. दिप्तीलाई स्कुल जीवनमा इतिहास बढी मन पर्ने विषय थियो । स्कुलमा पढाइ सँगसँगै खेलकूद, संगीतका लागि पनि निश्चित समय तोकिएको हुन्थ्यो । उनलाई बाँस्केटबल मन पर्ने खेल थियो । सन् २००० मा उनले सेन्ट हेलेन्सबाट कक्षा १० सम्मको अध्ययन पूरा गरिन् । त्यसपछि थप शिक्षाका लागि उनी भारतको नयाँदिल्ली गइन् । सन् २००१ म नयाँ दिल्लीस्थित दिल्ली पब्लिक स्कुलमा प्लस टु अध्ययन अगाडि बढाइन् । त्यहाँबाट उनले सन् २००३ मा विज्ञान संकायमा प्लस टु सकिन् ।

डा. दिप्तीको यही नै गर्छु र यही नै बन्छु भन्ने आफ्नो छुट्टै सपना थिएन । त्यसो भए उनी कसरी डाक्टर बनिन् त ? भन्छिन्, ‘बुवाआमाको ड्रिम थियो । मैले कहिल्यै पनि आफूलाई सोधिन मैले के पढनुपर्छ ।’ व्यवसायिक परिवार भएपनि उनका बुवाको ड्रिम छोरीलाई डाक्टर बनाउने थियो । यही सपना पछ्याउँदैं हिडेकी उनका लागि दिल्ली पब्लिक स्कुलबाट प्लस टु सकिएसँगै डाक्टर बन्ने यात्रा तय गर्नु थियो ।

त्यसको तयारीमा लागिन् । सन् २००६ को ब्याचमा उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आंशिक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने अवसर पाइन् । साढे पाँच वर्ष उनले विपीमा डाक्टरी सपना पूरा गर्न खर्चिइन् । ‘वेस्ट इयर अफ माइ लाइफ,’ उनी धरानको एमबीबीएस पढाइ सम्झन्छिन्, ‘विपीको एमबीबीएस पढाइ अरु मेडिकल कलेजभन्दा फरक थियो । घर जान पाइदैंन्थ्यो, रेजिडेन्सीजस्तै ।’ त्यसपछि डा. दिप्तीले विपीमै एक वर्ष हाउस अफिसरका रुपमा काम गरिन् ।

विशेषज्ञता अध्ययनका लागि पनि उनले अवसरहरु हेरिरहेकी थिइन् । त्यहीबेला उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गर्नका लागि पूर्ण छात्रवृत्ति पाइन् । ‘त्यहाँ स्कोरका आधारमा विषय पाइन्छ । मभन्दा माथिकाले रेडियोलोजी, मेडिसिन उठाइसकेका थिए,’ डा. दिप्ती भन्छिन्, ‘मलाई पेडियाट्रिक पढ्न मन थियो । तर, त्यो मैले पिजीआई चण्ढीगढमा पाए ।’ तर, उनलाई एम्समै पढ्नु थियो, त्यही कारण उनी स्त्री तथा प्रसुति रोगमा एम्समै विशेषज्ञता हासिल गर्नका लागि भर्ना भइन् ।

विहान साढे पाँच बजे सुरु हुने एम्सको काम राति १ बजेसम्म चल्थ्यो । त्यहीबीच पढाइका लागि छुट्टै समय निकाल्नुपथ्र्यो । त्यही कारण डा. दिप्ती एम्सको पढाइलाई निकै टफ मान्छिन् । त्यो बीचमा न खाना न त खाजा नै । ‘त्यो एम्सको कल्चर नै हो,’ उनले थपिन्, ‘त्यो १८ घण्टा काममात्रै हुन्छ । पढाइ कतिबेला गर्ने त्यो तपाईंको कुरा हो ।’ उनले सन् २०१७ मा एम्सबाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरिन् ।

एमडी सकेलगतै उनी स्वदेश फर्किइन् । नेपाल आएपछि डा. दिप्तीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिनियर रेजिडेन्स/लेक्चरका रुपमा काम सुरु गरिन् । सन् २०२० को जनवरीमा उनी असिस्टेन्ट प्रोफेसरमा बढुवा भइन् । उनी विपीमा अगष्ट २०२१ सम्म अध्यापन र बिरामी सेवामा सक्रिय रहिन् । विपीमा चार वर्ष बिताएपछि उनले भारतको ‘फेलोसीप इन नेशनल वोर्ड (एफएनबी)’का लागि छानिइन् ।

एफएनबीअन्तर्गत रिप्रडक्टीभ मेडिसिनमा दुई वर्षे फेलोसीप गर्न डा. दिप्ती सन् २०२१ मा भारत गइन् । ‘भारतमा यो निकै प्रतिष्ठित फेलोसीप हो,’ उनले भनिन्, ‘२५—३० वटा मात्रै सिट भएकाले पाउन पनि उत्तिकै गाह्रो छ ।’ भारतमा दुई वर्ष फेलोसीप मेन्टेन गर्ने एफएनबी वोर्ड मात्रै भएको उनले बताइन् ।

डा. दिप्तीले दुई वर्षे फेलोसीपका लागि बैग्लोरस्थित एसिस्टेड कन्सेप्सन सेन्टरमा पोष्टिङ पाइन् । त्यो एसिस्टेड कन्सेप्सन रेफरल सेन्टरजस्तै थियो । ‘अन्ततिरबाट फेल भएका आईभीएफ केसहरु त्यहाँ आउँथे,’ उनले सुनाइन्, ‘डा. कामिनी राव त्यही सेन्टरको हुनुहुन्थ्यो । उहाँ भारतमा पायोनियर प्रजनन विशेषज्ञ हुनुहुन्छ ।’ डा. कामिनीसँग सिक्न पाउनु आफ्ना लागि भाग्यको विषय भएको उनी बताउँछिन् ।

‘४०—४५ वर्ष कटेका, जसको पोर ओररियन रिजर्व हुन्छ । तर, उहाँहरुलाई डोनर चाहिदैंन्, एउटा मात्रै एग भएपनि आफ्नै एगबाट बच्चा जन्माउने गरिन्थ्यो,’ उनले थपिन्, ‘त्यो सेन्टरमा त्यस्ता बिरामीहरुको बढी चाप हुन्थ्यो ।’ एसिस्टेड कन्सेप्सन सेन्टरले उनलाई सबैभन्दा सिकाएको कुरा काउन्सिलिङ हो । भीआईपी बिरामीहरु ओइरिने सेन्टरकी डा. कामिनीसँग ३५—४० वर्ष प्रजनन विशेषज्ञका रुपमा काम गरेको अनुभव छ । डा. दिप्तीका लागि यो पनि धेरै सिक्ने अवसर बन्यो । ‘त्यो सेन्टरमा बिरामी आउँदा म यहाँबाट बच्चा लिएर जान्छु भन्ने कन्फिडेन्ट हुन्थ्यो,’ उनले थपिन् ।

सन् २०२३ को सेप्टेम्बरमा उनले आफ्नो दुई वर्षे फेलोसीप सकिन् । फेलोसीप सक्नेबितिकै उनका हातमा जागिरका आकर्षक अवसरहरु थिए । तर, उनले ती अवसरहरुलाई त्यागिदिइन् । किन ? भन्छिन्, ‘मुख्य कारण यहाँ (नेपालमा) मेरो घर र परिवार छ । एम्समा पढाइ सकेका बेला पनि मलाई अवसरहरु थिए । तर, एकेडेमिक्समा रुचि थियो धरान ज्वाइन गरे ।’ त्यही कारण उनी फेलोसीप सकिएलगतै नेपाल फर्किइन् । नेपाल मेडिकल काउन्सिलमा फेलोसीप दर्ता गरिन् । केही समय विश्राम गरेपछि उनी १ पुसबाट वात्सल्य आईभीएफमा काम गर्न थालेकी छन् ।

नेपाल र भारतका दुवैतिरका बिरामीलाई ट्रिट गरिसकेकी यी चिकित्सकको अनुभवमा नेपालको तुलनामा भारतमा बिरामीहरु अलि कन्जरभेटिभ छन् । सयौैं बिरामीलाई प्रजनन सेवा दिइसकेकी डा. दिप्ती सन्तान प्राप्त गर्न नसकेर पीडामा रहेका दम्पत्तिहरुको अनुहारमा खुसी फर्काउन चाहन्छिन् । ‘बिरामीहरुको उपचार गर्ने र उहाँहरुलाई खुुसी दिने मेरो योजना छ,’ उनले भनिन्, ‘नानी दियो भनेर बिरामीहरु खुसी हुन्छन् ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एफएनबी, #एम्स, #डा. दिप्ती दास, #रिप्रडक्टीभ मेडिसिन, #वात्सल्य आईभीएफ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ