२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनयाँ पुस्ताका सर्जनको उडानः कलेजो ट्रान्सप्लान्टदेखि प्रधानमन्त्रीको सर्जरीसम्म

नयाँ पुस्ताका सर्जनको उडानः कलेजो ट्रान्सप्लान्टदेखि प्रधानमन्त्रीको सर्जरीसम्म


सर्जनका लागि ट्रान्सप्लान्ट ड्रिम हुने गर्छ, किनभने यो सर्जरीको वर्ल्डकपजस्तै हो । त्यही सर्जरीप्रतिको अनुरागकै कारण डा. रमेशसिंह भण्डारी पछिल्लो एक वर्ष निरन्तर चर्चामा रहे । ट्रान्सप्लान्टप्रतिको उनको मोहकै कारण त्रिवि शिक्षण अस्पतालमा एकपछि अर्को गर्दै तीन–तीन महिनाको अन्तरमा यो बीचमा चार वटा सफल कलेजो ट्रान्सप्लान्ट भए । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सर्जरी गर्ने अवसर पनि उनलाई नै जुर्‍यो ।

ती सबै सफल ट्रान्सप्लान्टका प्रमुख अगुवा डा. भण्डारी अहिले अलि हल्का भएका छन्, पिठ्युको गह्रौ भारी बिसाएजस्तै । पहिलोपछि दोस्रो र दोस्रोपछि तेस्रो ट्रान्सप्लान्टसम्म उनी केही डराएका, केही नर्भस थिए । नर्भस हुनुको कारण थियो— शिक्षणमा कलेजो ट्रान्सप्लान्टको जग नहाल्दै रोकिएला भन्ने चिन्ता । पहिलो पाइलामै असफल हुँदा यसै पनि कठिन भैरहेको त्यो काम झन सकसपूर्ण हुन्छ भन्ने उनले राम्रैसँग बुझेका थिए ।

तर, निरन्तरको अथक परिश्रम र मेहनेतबाट एकपछि अर्को कलेजो ट्रान्सप्लान्टमा शिक्षणलाई सफलता दिलाएपछि भने उनी केही हल्का भएका छन् । चार वटा सफल ट्रान्सप्लान्टपछि अब शिक्षण अस्पतालमै कलेजो ट्रान्सप्लान्ट गर्न सकिने आधार तयार भएको छ । तर, अझै यसलाई नियमित बनाउने र छुट्टै युनिटका रुपमा स्थापित गर्ने उनको सपना पूरा भएको छैन् । सुरुका दिनमा ‘सम्भव होला र ?’ भनेर शंका प्रकट गर्ने र ‘सम्भव छैन’ भन्नेहरुलाई उनको व्यवहारिक जवाफ छ । त्यसैले ‘आशंका प्रकट गर्ने’ र ‘असम्भव भन्नेहरु’ पनि ‘सम्भव रहेछ’ भन्ने पक्षमा बोल्न थालेपछि शिक्षणमा कलेजो ट्रान्सप्लान्ट युनिट बनाउन त्यति असहज नहोलाकी भन्ने उनले ठानेका छन् ।

सधैं हँसिलो र ताजगी देखिने यी सर्जनको १० वर्षको अथक प्रयासको बलमा त्रिवि शिक्षण अस्पतालमा कलेजो ट्रान्सप्लान्ट सम्भव भएको हो । सन् २००६ मा एमएस सकेपछि उनी नेपालमा कलेजो ट्रान्सप्लान्टका सम्भावनाबारे खोज र अध्ययनमा लागेका हुन् । ‘यहाँ काम गर्दागर्दै सबै सरहरुले माया गर्नु भएपछि म फ्याकल्टी भएँ, मैले यहाँ सर्भिस गर्दागर्दै इनसर्भिस स्वरुप नै एमसीएच स्पेशलिटी पढ्ने अवसर पाएँ,’ उनले सुनाए, ‘सर्जन भएपछि मैले नेपालमा कलेजो ट्रान्सप्लान्टका सम्भावना हेर्न थाले ।’

त्यसका लागि उनी विदेशमा फेलोसिपी गरेर तथा ट्रान्सप्लान्ट सेन्टरहरुमा गएर थप अनुभव लिन चाहन्थे । रुची पनि कलेजो ट्रान्सप्लान्टमै भएपछि सन् २००९ मा उनले अष्ट्रेलियाको ‘रोयल अष्ट्रेलियन कलेज अफ सर्जन’मा फेलोसिपी छात्रवृत्तिका लागि आवेदन दिए । उक्त छात्रवृत्ति आवेदनमा एउटा प्रश्न थियो, ‘तिमी यो पढेर के गर्न चाहन्छौं ?’ उनले उत्तर लेखे, ‘म सिकेर नेपाल फर्कन्छु । नेपालमा पनि कलेजो प्रत्यारोपण सुरु चाहन्छु ।’ डा. भण्डारीको उत्तर छात्रवृत्तिका आवेदन केलाउनेहरुको मन जित्यो । उनले छात्रवृत्ति पाए । ‘जसरी लामो समय फुटबल खेल्नेहरुको रुची वर्ल्डकप हुन्छ, त्यसैगरी हामी सर्जनहरुको सबैभन्दा ठूलो सपना भनेकै ट्रान्सप्लान्ट थियो,’ फुटबलखेलप्रेमी यी सर्जन भन्छन्, ‘र, मैले यहि नै बताए ।’ उनको १० वर्षपछि नेपालमा कलेजो ट्रान्सप्लान्ट सुरु गर्ने ड्रिमले जित्यो ।

सन् २०१० को अन्तिमतिरको कुरा हो, उनी छात्रवृत्तिमै रहेका बेला अष्ट्रेलियाको कलेजो ट्रान्सप्लान्ट सेन्टरमा गए । त्यसको अवलोकन गरे । ‘सुरुवाती चरण भएकाले मलाई त्यतिबेला गाह्रो लागेको थियो । तर, पनि इच्छा गरेपछि असम्भव कुरा के होला र भनेर मैले त्यहाँबाट आएर कलेजो ट्रान्सप्लान्ट गर्नको निम्ति आवश्यक केहि विधि विधानलाई यहाँ बुझ्न कोशिस गरे,’ शिक्षणमा कलेजो ट्रान्सप्लान्टको किस्सा बल्ल खोल्न थाले, ‘नेपालमा यस्तो उपचार सम्भव होला कि नहोला, कलेजो ट्रान्सप्लान्ट यहाँ आवश्यक छ कि छैन, उपचार सुरु गर्‍यौ भने त्यसले दिगो रुप लिन्छ कि लिदैन र यसमा यतिका मेहनत गर्न उचित होला या नहोला भन्ने जस्ता विभिन्न पक्षहरुको अध्ययन गरे ।’

लामो अध्ययनपछि उनी एउटा निष्कर्षमा पुगे–नेपालमा पनि यो उपचार सुरु गर्न सकिन्छ । निष्कर्षसँगै उनी थप अध्ययनका लागि पुनः त्यही अष्ट्रेलियन ट्रान्सप्लान्ट सेन्टर पुगे । ‘ट्रान्सप्लान्ट सेन्टरका सरहरुलाई रिक्वेस्ट गरेर म १ वर्षका लागि पढ्नको निम्ति फेरि सन् २०१४ मा त्यहाँ गए,’ उनले भने । जब उनी त्यहाँ पढेर फर्किए । शिक्षणमा कलेजो ट्रान्सप्लान्टका लागि उनको वास्तविक संघर्ष र यात्रा बल्ल सुरु भयो । उनी आफै स्वास्थ्य मन्त्रालय धाएर शिक्षणमा ट्रान्सप्लान्ट स्वीकृती मागे । उनको निवेदन कयौं महिना त्यही मन्त्रालयमै हरायो । त्यसपछि उनी पुनः निवेदन लिएर स्वास्थ्य सेवा विभाग पुगे । अंग प्रत्यारोपण अनुमति समितिलगायतका सबै प्रक्रिया पूरा गर्न उनलाई थप ४ वर्ष लाग्यो ।

यी सर्जन २०७६ जेठ १७ गते जीवनकै सबैभन्दा ठूलो सर्जरीको तयारीमा थिए । ‘सानातिना सर्जरी हामीले इन्टर्नसीप गर्दा र एमसीएच गर्दाखेरि नै गरिरहेका हुन्छौं,’ उनी सर्जन यात्राबारे सुनाउँछन्, ‘यो प्रक्रिया विस्तारै अलि–अलि गर्दै बढ्दै जान्छ । त्यसैले सर्जरी सर्जन डाक्टरहरको निम्ति ग्रयाजुअल नै हुन्छ । तर, कुनै पनि कलेजो ट्रान्सप्लान्टजस्ता ठूला–ठूला सर्जरी गर्ने बेलामा भने अलिकति त नर्भस नै हुन्छ ।’ सायद फुटबल खेलाडीहरुको वर्ल्डकप फाइनलजस्तै । ‘हो मलाई पनि त्यस्तै भएको थियो, वर्ल्डकपको फाइनलमा भिडिरहेको जस्तै,’ उनी पहिलो कलेजो ट्रान्सप्लान्टको अनुभव बाँडछन्, ‘मनमा अनगिन्ती कुराहरु खेलेका थिए ।’

साँच्चै एक सर्जनका लागि सबैभन्दा ठूलो ड्रिम अगाडिका कौतुहलता र मनस्थिती कस्तो हुन्छ ? पहिलो पटक कलेजो ट्रान्सप्लान्ट गर्नुअघि पिक आवरमा डा. भण्डारी के सोचिरहेका थिए ? उनको दिमागमा कस्ता कुराहरु खेलिरहेका थिए ? त्यो जीवन्त अनुभूति कस्तो थियो ? कस्ता प्रश्नहरुले उनको दिमागमा वयेली खेलिरहेका थिए ? भन्छन्, ‘ट्रान्सप्लान्ट कस्तो होला ? बिरामीलाई कस्तो होला ? कलेजो दिने मान्छेलाई के होला ? ‘त्यो छुट्टै किसिमको स्ट्रेस थियो ।’

उनको मनमा अझ धेरै कौतुहलताहरुले राज गरिरहेका थिए । जस्तो—‘ला हुन्छ कि हुँदैन । यत्ति धेरै मेहनेत असफल भएमा न बन्द पो हुने हो कि ! यत्तिका मेहनेत गरेको छ सुरु नै नभै बन्द भइदिने पो हो कि ! इन्डियाबाट टिम बोलाएर कुनै कारणवस रोक्किएला कि !’ ‘बिरामीको आउटकम कस्तो होला । कुनै कारणबस सर्जरी असफल होला कि या बिरामीलाई केहि होला कि भन्ने चिन्ता थियो,’ उनी भन्छन्, ‘नत्र आफ्नै साथीभाइले त विश्वास नगर्ने हामीलाई फेरि भोलिका दिनमा सोही व्यक्तिहरुबाट विश्वास कमाउन गाह्रो थियो ।’ यो सबैको केन्द्रमा बिरामीको स्वास्थ्य थियो । अत्यन्तै धेरै स्ट्रेस, मनमा ठूलो डर हुँदाहुँदै उनले कसैसँग पनि त्यो सेयर गरेनन् ।

भनिन्छ, साहस र आँट गर्नेहरुको नै विजय हुन्छ । यस्ता सबै चिन्ता र डरमाथि विजय थियो—१८ जेठको पहिलो ट्रान्सप्लान्टको सफलता । त्यो सफललता डा. भण्डारीको १० वर्षको मेहनेतको सबैभन्दा ठूलो गिफ्ट थियो । कहिलेकाही भाग्यवादी बनेर अहिले यी सर्जन सोच्छन्—भाग्यवस अहिलेसम्म कुनै पनि कलेजो ट्रान्सप्लान्ट फेल भएको छैन । अझ पछिल्लो समय त उनका लागि धेरै कुरा सजिला भएका छन् । धेरैको विश्वास कमाउन सकेका छन् । तर, अझै पनि केहि कारणवस ट्रान्सप्लान्ट रोकिएला कि भन्ने भय भने छ । ‘सुरु गर्न जति गाह्रो थियो त्यत्ति त नहोला तर चुनौती अझै पनि सकिएको छैन्,’ उनी आशातीत भावमा खुल्छन्, ‘माउन्ट एभरेष्ट नै चढेपछि फेरि अन्नपूर्ण चढ्न पनि त गाहै्र हुन्छ नि !’

प्रधानमन्त्रीको त्यो सर्जरी

प्रधानमन्त्री ओलीसँग डा. भण्डारी । प्रधानमन्त्रीले पनि उनलाई कलेजो प्रत्यारोपणमा अगाडि बढ्न प्रेरणा दिइरहेका छन् ।

नयाँ पुस्ताका सर्जन डा. भण्डारीलाई यसै वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सर्जरी गर्ने अर्को ठूलो अवसर प्राप्त भयो । मुलुकको कार्यकारी प्रमुखको सर्जरी गर्दा मिडिया र अन्य प्रेसर त हुने भैहाले । विशिष्ट व्यक्ति भएकाले तनाव पनि उस्तै । अझ एपेन्डिसाइटिस फुटेर संक्रमण भैसकेकाले झन जटिल थियो । तर, डा. भण्डारीसहितको टोलीले ओलीको एपेन्डिसाइटिसको सफल शल्यक्रिया सम्पन्न गर्‍यो । प्रधानमन्त्री ओली शल्यक्रियापछि १० दिन शिक्षणमा बसे । रमाइलो त के भने सर्जन र बिरामी उस्तै, दुवैलाई हाँसिरहनुपर्ने । अस्पतालको माहौल नै अलग बन्थ्याे ।

यो अवधिमा स्वभाव पनि मिलेका कारण प्रधानमन्त्रीसँग डा. भण्डारीको इमोसनल एट्याचमेण्ट पनि विकसित भयो । ‘प्रधानमन्त्री र मलाई गीत संगीत मनपर्ने कुरा कमन थियो,’ उनी भन्छन्, ‘यहाँ रहँदा उहाँलाई हामीले टाइम पास होस् भनेर गीत संगीत र न्युजहरु पनि सुनाइदिने गर्थ्याै । उहाँलाई मैले रियाज गरेको मोबाइलमा रेकर्ड गरेको गीतहरु पनि सुनाएको थिए ।’ प्रधानमन्त्रीकै आग्रहमा डा. भण्डारीले गीत पनि गाएका थिए । प्रधानमन्त्री जब अस्पतालबाट सकुसल डिस्चार्ज भए, डा. खुसीले गदगद भए ।

४३ वर्षीय यी सर्जनको उडान आम व्यक्तिका भन्दा धेरै अगाडि छ । उनले युवा उमेरमै ठूला अनुभव सफलता हात पारेका छन् । यो कुरा उनी स्वयंमलाई पनि अनुभूत भएको छ । ‘यो लेभलसम्म आइपुग्नको निम्ति धेरै समय लाग्छ । तर, मेरो सन्दर्भमा भने त्यो भएन्,’ उनी भन्छन्, ‘पढाइलगायत प्रोफेसनल लेभलमा आइपुगेको छु । यो सबै आफ्नै गति र रफ्तारमा भएको छ ।’ उनलाई कहिलेकाही लाग्छ गतिवान रुपमा विकास नभएको भए यो लेभलमा आइपुग्न अनुभव र संघर्षमात्रै ४०/४२ भन्दा धेरै वर्ष लाग्थ्यो । तर, उनको हकमा त्यो भएन्, जसलाई उनी भगवानको वरदान मान्छन् ।

बैतडीदेखि शिक्षण अस्पतालसम्मको यात्रा

सुदूरपश्चिम बैतडीको रोडीदेवलमा डा. रमेशसिंह भण्डारीको पुर्खौली घर हो । बुवा देवसिंह भण्डारी र आमा रुपासिंह भण्डारीको कोखबाट २०३३ सालमा उनी त्यही जन्मिएका हुन् । मध्यम वर्गीय परिवार जन्मिएका उनका बुवा भारतमा जागिरे थिए, आमा घरायसी कर्ममै । ५ दाजुभाइ दिदीबहिनीमध्ये उनी दोस्रो हुन् ।

५/६ वर्षकै उमेरमा पढाइको शिलशिलामा घरपरिवारबाट टाढा भए । बाल्यकालमा आफन्तहरु काठमाडौं ल्याए । उनको शिक्षादीक्षा काठमाडौंमै भयो । भिएस निकेतनबाटै उनले नर्सरीदेखि एसएलसीसम्मको शिक्षा पूरा गरे । बाल्यकालमा उनको खेलकुदप्रति अत्यन्तै रुचि थियो । पढाइमा भने कक्षा ८ सम्म औसत विद्यार्थी उनी त्यसपछि अब्बल देखिन थाले । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै डा. भण्डारीले विं.सं. २०४८ साल फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले वीरेन्द्र सैनिक आवासीय विद्यालयबाट आइएस्सी गरे । वीरेन्द्र सैनिक आवासीय माविले उनलाई पढाइसँगसँगै समय र अनुशासनको परिपालन गर्ने महत्वपूर्ण गुण सिकायो ।

आर्मी स्कुलकै परिणाम मान्नुपर्छ, उनी अहिले शिक्षणमा कडा अनुशासन भएको प्रोफेसरका रुपमा चिनिन्छन् । आफू अनुशासनमा बसेपछि सबै जना अनुशासनमा बस्छन् भन्ने बुझाइ उनको छ । ‘अनुशासनमा बस्नु एकदम महत्वपूर्ण हुन्छ यो प्रोफेसनमा । आर्मी कलेजबाट पढ्दा त्यो चाहिँ सिके,’ उनी बोले । उनी वीरेन्द्र सैनिक आवासीय माविको सन् १९९२–१९९४ को ब्याच हुन् ।

डा. भण्डारीले छात्रवृत्तिमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएसमा नाम निकाले । सन् २००१ मा धरानबाट उनले एमबीबीएस सके । सन् २००३ मा एमएसको रेजिडेन्सका रुपमा त्रिवि शिक्षण अस्पतालमा काम पढ्ने अवसर पाए । सन् २००६ मा उनको एमएस सकियो । डा. भण्डारीको खुबी र अनुशासनबाट प्रभावित त्रिवि शिक्षण अस्पतालका अग्रजहरुले उनलाई लगतै फ्याकल्टीका रुपमा काम गर्ने अवसर दिए ।

‘मैले पहिले जनरल सर्जरीको अध्ययन गरेको थिए,’ उनी भन्छन्, ‘सर्जन भन्नाले सबैभन्दा पहिले पेट र त्यसपछि क्रमसः टाउको, छाती गर्दै अन्य सबै पक्षको विषयमा पढ्नुपर्छ । सो अध्ययनपछि मैले यहाँ पेटको जीआईको सर्जरीमा काम गरेको थिए । त्यो गर्दागर्दै मलाई सर्जरीमा रुची बढेको हो ।’ त्यसपछि उनको ध्यान एचपिबी प्यान्क्रियाज, गल ब्ल्याडर र कलेजोजस्ता सर्जरी गयो । आखिर के कुराले उनी यतातिर तानिए त ? भन्छन्, ‘जोखिम तथा चुनौतीपूर्ण भएकोले पनि म यसतर्फ आकर्षित भएको हो,’ उनी भन्छन्, ‘र, यसतर्फ भएका सर्जनको लङटर्ममा सबैभन्दा ठूलो टार्गेट भनेको नै कलेजो ट्रान्सप्लान्ट हो ।’

काम गर्दै गर्दा सन् २००९ मा उनमा बाहिर गएर पढने र टे«निङ लिने इच्छा जाग्यो । अस्ट्रेलियाको ‘रोयल अष्ट्रेलियन कलेज अफ सर्जन’मा पढ्ने स्कलरसीप पाएपछि अष्ट्रेलिया पुगे । तर, त्यतिले मात्र उनको सर्जरी पढ्ने भोक मेटिएन् । अर्को पटक पुनः उनी अष्ट्रेलियाको ट्रान्सप्लान्ट सेन्टरमा अनुभव संगाल्न गए । सबै हेरिसकेपछि सन् २०१४ मा उनले नेपाल फर्किएर शिक्षणमै कलेजो ट्रान्सप्लान्ट गर्ने लक्ष्य बनाए । त्यो लक्ष्य पूरा भयो झण्डै १० वर्षपछि अर्थात १८ जेठ २०७६ मा ।

फुटबलका सौखिनको प्रेम विवाह

श्रीमती र छोराछोरीसँग डा. भण्डारी

अध्ययनकै क्रममा सन् २००५ मा उनी डा. विन्दा काफ्लेसँग विवाह बन्धनमा बाधिँए । ‘हाम्रो लभ म्यारिज भएको हो,’ मोहक मुस्कान भएका यी फरासिला सर्जन सुनिए, ‘त्यतिबेला म एमएस थर्ड एयरमा थिए । मेरो श्रीमती काठमाडौं मेडिकल कलेजमा पढ्दै थिइन् ।’ उनको एमबीबीएस सकेर काम गर्ने क्रममा डा. विन्दा चिनजान भएको थियो ।

डा. भण्डारी जति चुलबुले छन्, उनकी श्रीमती विन्दा त्यति नै शान्त र कुल छिन् । त्यही शान्त र कुलशैलीले डा. भण्डारीको मन चोर्‍यो । अहिले डा. विन्दा पनि शिक्षणकै ग्यास्ट्रो विभागमा कार्यरत छिन् । अहिले यो जोडीका २ सन्तान छन् ।

डा. भण्डारी सबैभन्दा मन पर्ने खेल फुटबल हो । उनी फुटबल भनेपछि हुरुक्कै हुन्छन् । अहिले पनि उनमा फुटबल मोह उत्तिकै छ । शिक्षणका मन मिल्ने विभिन्न विभागमा २०/२५ जना डाक्टरहरुको टिम बनाएका छन् । प्रत्येक बिहिवार त्यो टिमले फुटबल खेल्छ ।

यसबाहेक उनको दौड, संगीतजस्ता विषयमा पनि उत्तिकै मोह छ । अहिले पनि उनी आफूलाई ३०/३२ वर्षको युवा नै ठानिरहेका हुन्छन् । भन्छन्, ‘मलार्ई यी विधाहरुमा एकदमै रुची छ ।’ उनी गीत पनि गुन्गुनाउँछन् । उनको स्वभाव नै केही कुरामा रुची जाग्यो कि त्यसको पछि परिहाल्ने छ । गीत—संगीत उनले साथीभाइबाटै सिकेका हुन् ।

अहिले पनि उनी साथीभाइ र घरपरिवारका अगाडि रमाइलोका लागि गीत गाउँछन्, गितार बजाउँछन् । बाँसुरी बजाउने उनको रहर अझै पूरा भएको छैन् । रमाइलो त के भने यी सर्जनले एमबीबीएस अध्ययन गर्दा सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ…’ रेकर्ड गराएका थिए । त्यो गीत रेडियोमा पनि बजेको थियो । अझै पनि उनलाई गीत रेकर्ड गर्ने इच्छा छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ