२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ : कलाकार श्रेष्ठ


विराटनगर—नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

क्यान्सरका बिरामीहरूका लागि सरकारले पाँच हजारको प्रतिव्यक्ति बिमा गरिदिनुपर्ने उनले बताए । ‘मेरो परिवारमा क्यान्सरका कारण १५ जना आफन्त गुमाउनु परेको छ । क्यान्सर हुँदा कति पीडा हुन्छ । त्यो मैले महसुस गरेको छु,’ उनले भने ।

क्यान्सरको रोकथाम र नियन्त्रणमा सरकारले योजना बनाएर लाग्नुपर्ने उनले बताए । ‘सरकारले क्यान्सर पीडितको लागि एक लाख रुपैयाँ दिने गरेको छ । तर, त्यो एक लाख रुपैयाँ क्यान्सरको उपचारको लागि पिनट मात्र हो । राज्यले गर्न सक्ने त्यो भन्दा धेरै पनि छैन । भोलि हामी नै पनि सरकारको नेतृत्व गरौंला । त्यो एक लाख रुपैयाँलाई दश लाख रुपैयाँ गरिदेओ भनेर कसैले भन्यो भने त्यो सक्ने अवस्था रहँदैन्,’ उनले भने ।

सरकारले स्वास्थ्य बिमाको कार्यक्रमलाई पनि प्रभावकारी बनाएर लैजानुपर्नेमा उनको जोड थियो । ‘सरकारले स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ । क्यान्सरको लागि बेग्लै एक लाख रुपैयाँ दिएको छ । सरकारलाई आव्हान गर्न चाहन्छु, प्रत्येक जनतालाई पाँच हजार रुपैयाँका हिसाबले बिमा गरिदिए क्यान्सर रोगका बिरामीको उपचारमा सहज हुने थियो,’ नेता कोइरालाले भने ।

आफू डाक्टरसँगै राजनीतिज्ञ पनि भएकोले दैनिकजसो बिरामीका कुरुवा र आफन्तहरू अस्पतालमा उपचारको लागि भनिदिनुप¥यो भन्दै आउने गरेको बताए । ‘अस्पतालमा भनी दिनुप¥यो भन्दै काठमाडौं र विराटनगरमा आउने गरेका छन् । आफू दिल्लीमा पढेको हुनाले चिठी लेखिदिनु भन्दै पनि आउने गरेका छन्,’ उनले भने, ‘यो रोक्न राज्यले बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्दछ ।’

क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ : कलाकार श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन जरुरी रहेको बताएका हुन् ।

‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको उद्घाटन सत्रमा कलाकार श्रेष्ठले राखेको मन्तब्यः

क्यान्सरबाट सबै मानिस पर रहोस् । क्यान्सर रोग असाध्यै प्राण घातक रोग हो । यसबाट बच्न सक्नु पर्दछ । क्यान्सर लाग्नु भनेको मृत्यदण्ड पाए सरह हो । मैले मेरो श्रीमती क्यान्सर रोग लागेर मृत्यु भएपछि प्रत्यक्ष भोगेको अनुभूति हो । क्यान्सर लागेपछि उपचार पनि खर्चिलो हुन्छ ।

पैसाको खोला बगेजस्तो हुन्छ । कतिपय मान्छेको घर खेत जाँदो रहेछ । श्रीमतीको उपचारमा निरन्तर लागि परे । उपचारमा विदेश पनि लगे । ६ वर्षसम्म उपचार गरेर टिकाए । त्यसपछि सकिन । त्यसकारण पनि क्यान्सर रोगसँग मलाई असाध्यै डर लाग्छ ।

पाँच जनामा एक जनामा क्यान्सर लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन मलाई डर लाग्ने गर्दछ । त्यसैले यो रोग लाग्न दिनु हुँदैन । क्यान्सर रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु ।

मेरो श्रीमतीलाई ९९ सय वटा किमोथेरापी दिइएको थियो । त्यसबाहेक मुखबाट खाने औषधि कति हो कति त्यसको गणना नै छैन । एक महिनामा ९ लाख रुपैयाँसम्म खर्च हुने औषधि पनि खुवाए । औषधि जापानबाट ल्याएर पनि खुवाएको थियो । मेरो छोराको साथीले उक्त औषधि दिएका थिए । श्रीमतीको उपचारमा मैले थुप्रै चिकित्सकहरुको साथ सपोर्ट पनि पाए । त्यसबेला नेपालमा पेट स्क्यान गर्ने उपकरण थिएन । पेट स्क्यानको लागि विदेश जानुपर्ने अवस्था थियो । स्वदेशमा नपाएपछि बैंकक गएका थियौं । त्यसबेला १ लाख ३४ हजार रुपैयाँ पेट स्क्यानमा खर्च भएको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ