विराटनगर—नोबेल मेडिकल कलेज विराटनगरले चिकित्सा शिक्षा आयोगले तोकेको आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नदिएको भन्दै राष्ट्रिय चिकित्सक संघले विरोध जनाएको छ ।
संघको कोशी प्रदेश कमिटीले नोबेल मेडिकल कलेज नदिएको सम्बन्धमा कलेज प्रशासनलाई तत्काल तोकिएको तलब उपलब्ध गराउन ध्यानाकर्षण पत्र दिएको छ ।
संघका प्रदेश संयोजक डा. शिलवन्त सेन श्रीवास्तवसहितको टोलीले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले तोकेको दिनबाटै सरकारी आठौं तह मेडिकल अफिसर बराबरको निर्वाह भत्ता उपलब्ध गराउन भनेको छ ।
सो मेडिकल कलेजले सरकारले तोकेअनुसार निर्वाह भत्ता नदिई १९ हजार रुपैयाँ मात्र दिएको भन्दै यदि तत्काल नदिए आन्दोलनको कार्यक्रम घोषणा गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
संघले काठमाडौं मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज र चितवन मेडिकल कलेजमा पनि सरकारले तोकेको निर्वाह भत्ता नदिएको र तत्काल उपलब्ध गराउन पहिले ध्यानाकर्षण पत्र दिने र यदि त्यसो गर्दा पनि अटेर गरे कडाभन्दा कडा आन्दोलनमा उत्र्ने चेतावनी दिएको छ ।
