२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट

डा. चक्रराज पाण्डे बाहिरिए ग्राण्डी अस्पतालको मेडिकल निर्देशक र बोर्डबाट


काठमाडौं—काठमाडौंको धापासीस्थित नेपालको अग्रणीमध्येको एक कर्पोरेट अस्पतालका संस्थापक मेडिकल निर्देशक डा. चक्रराज पाण्डे अन्ततः निर्देशक र बोर्डबाट बाहिरिएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका परिकल्पनाकार समेत रहेका डा. पाण्डे बाहिरिएपछि अस्पतालमा नयाँ तरंग सिर्जना भएको छ ।

लामो समयदेखि व्यवस्थापन देखिएको किचलोका कारण डा. पाण्डे दबाब थेग्न नसकेपछि अस्पतालको निर्देशक र सञ्चालक समितिबाट ७ कात्तिकमा सम्पन्न साधारणसभाबाट औपचारिक रुपमा बिदा भएका हुन् । अध्यक्ष ई. दीपक कुँवरसँग चरम विवाद भएपछि डा. पाण्डेले दुवै पदबाट राजीनामा दिएका हुन् । झण्डै १५—१६ महिनादेखि व्यक्तिगत तवरमै अध्यक्षसँग टसल भएपछि उनी बाहिरिने मनस्थितीमा थिए । कुँवरले गत असारमा सम्पन्न बार्षिकोत्सव र दशैंअघि कर्मचारीसँगको भेटघाटमा डा. पाण्डेका विरुद्ध सार्वजनिक रुपमा गालीगलौज गरेका थिए ।

डा. पाण्डेले आफूले बोर्ड र मेडिकल निर्देशकबाट हट्ने निर्णय लिएको हेल्थआवाजलाई बताए । ‘मैले रगत र पसिनाले सिर्जेको अस्पतालको राम्रोका लागि बोर्ड र निर्देशकबाट बिदा लिने निर्णय गरे,’ अस्पतालका सेयरहोल्डर समेत रहेका उनले भने, ‘तर, मेरो विज्ञता मैले जन्माएका संस्थाका लागि सधैं रहिरहन्छ । मैले आजमात्रै पनि ९ वटा शल्यक्रिया गरेर आएको हुँ ।’ आफू अस्पतालको परिकल्पनाकार भएर यो अवस्थामा ल्याइपु¥याएको संस्थाका अध्यक्षले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि आफूलाई असह्यै भएको उनले बताए ।

डा. पाण्डे अहिले पनि अस्पताल राम्रो अवस्थामा रहेको बताउँदैं आफूले व्यवस्थापन छोडेपनि ५० प्रतिशत शेयरका मालिक रहेका डा. रुपज्योति र डा. उपेन्द्र महतो बोर्डमा आएर अस्पताललाई अगाडि बढाउनुपर्ने बताए । ‘डा. रुपज्योतिको २५ प्रतिशत र डा. महतोको २५ प्रतिशत शेयर अस्पतालमा छ । उहाँहरु धेरै सेयर भएको मान्छे बाहिर बसेर हुँदैन्, बोर्डमै आएर अस्पताललाई अगाडि लैजानुपर्छ,’ उनले भने, ‘यदि उहाँहरु आएर अस्पताल सञ्चालन गरेमा आफ्नो विज्ञताअनुसार पदमा नरहेरै पनि म अस्पतालका लागि काम गर्छु ।’

डा. पाण्डे र अस्पताल अन्य सञ्चालकबीच स्थापना भएको केही समयदेखि नै विवाद रहँदैं आएको थियो । सुरुमा एकथरी लगानीकर्तासँग राम्रो सम्बन्ध नरहेका उनको गत वर्षदेखि अहिलेको सञ्चालक समितिका अध्यक्ष ई.दीपक कुँवरसँग पनि विवाद चुलिएको थियो । जसका कारण गत कात्तिकमा नै डा. पाण्डेले ग्राण्डीको जिम्मेवारी अलग्गिने मनस्थितीसहित लाजिम्पाटमा छुट्टै ‘अनामिवा क्लिनिक’ सुरु गरिसकेका थिए । तर, मेडिकल निर्देशक साधारणसभाले मात्रै परिवर्तन गर्न सक्ने भएकाले उनी केही समय ग्राण्डीको निर्देशककै रुपमा कार्यरत रहे । तर, उनलाई ‘सेरमोनियल’ भूमिका मात्रै दिइयो ।

कुँवरकै सक्रियतामा केही वर्षअघि अस्पतालको व्यवस्थापन सम्हालेको भारतीय समूह ‘लसान्ते’ गत बैशाखबाट पुनः ग्राण्डीको व्यवस्थापन सम्हाल्न आइपुगेको थियो । गत बैशाखबाट ग्राण्डीको प्रमुख कार्यकारी अधिकृतमा भारतीय चिकित्सक डा. अशोक वर्द्धधनलाई ल्याइएको थियो भने सिओओमा भारतीय नागरिक अमृत खन्नालाई जिम्मेवारी दिइएको थियो । यस्तै, अस्पतालको प्रभावशाली कार्यकारी भूमिकामा भारतीय चिकित्सक डा। नोनिका गोयल आएकी थिइन् । यस्तै, डा. पाण्डेको मेडिकल निर्देशकको भूमिकालाई सेरमोनियल बनाएर डेपुटी निर्देशक डा. विनोद विजेक्छेलाई सक्रिय बनाइएको थियो ।

धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवनमा रहेको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् । अस्पतालमा देशकै गनेचुनेका चिकित्सकहरुको सशक्त टिम छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ई. दीपक कुँवर, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. उपेन्द्र महतो, #डा. चक्रराज पाण्डे, #डा. रुपज्योति


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ