काठमाडौं—वीरगञ्ज महानगरपालिकामा हैजाको महामारी फैलिएको छ । महामारी फैलिएसँगै महानगरका विभिन्न अस्पतालमा १ सय २९ बिरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमोद ठाकुरका अनुसार बुधबारबाट देखिएको हैजाको संक्रमण आइतबारसम्म ४२ जनामा पुष्टि भएको छ भने मिल्दोजुल्दो लक्षण लिएर उपचारमा आउने बिरामीको संख्या १ सय २९ पुगेको बताए ।
जनस्वास्थ्य निरिक्षक ठाकुरका अनुसार हाल नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, तराई अस्पताल, एड्भान्स अस्पताल, प्रभु अस्पताललगायतका अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।
उनका अनुसार बुधबार तराई अस्पतालबाट पहिलो हैजाको केस पुष्टि भएको जानकारी आएको थियो । वीरगञ्जका वडा नम्बर ३, ११, १२, १३ मा हैजाका केस बढी देखिएका छन् । पानीको स्रोतबाटै हैजा फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नारायणी अस्पतालमा शनिबार र आइतबार बिहानसम्म ६० जनाको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । जसमध्ये १६ जना उपचारपछि घर फर्किएका छन् भने ४७ जनाको आकस्मिक कक्ष र वार्डमा भर्ना गरेर उपचार भइरहेको छ ।
अस्पताल आएकामध्ये २३ जनामा हैजाको जिवाणु पुष्टि भएको र अन्यमा पनि लक्षण एउटै भएको हुँदा सबैलाई सोहीअनुसार उपचार भइरहेको उनले बताए । वेड अभावका कारण कतिपयको भुँइमा नै राखेर उपचार गनुपर्ने अवस्था रहेको डा. दासले जानकारी दिए ।
डा. दासकाअनुसार हैजाबाट बच्न पानी उमालेर खाने, दिसापिसा गरेपछि साबुनपानीले हात धुने र बाहिरबाट ल्याएको खानेकुरा सफा र उमालेको पानीले धोएर खानुपर्ने बताए ।