२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग

८४ वर्षीया चन्द्रमाया गिरीद्धारा पालिकालाई एम्बुलेन्स सहयोग


चरिकोट—चन्द्रमाया गिरीले आफू सुत्केरी हुँदा स्वास्थ्य संस्थामा जान नपाएको र भोगेको समस्यालाई स्मरण गर्दै एम्बुलेन्स सहयोग गरेकी छन् । दोलखा बैतेश्वर गाउँपालिका–६ की चन्द्रमायाले ८४ वर्ष पुगेको उपलक्ष्यमा एम्बुलेन्स सहयोग गरेकी हुन् ।

उक्त एम्बुलेन्स बैतेश्वर गाउँपालिका—६ नाम्दुलाई सहयोग गरेकी हुन् । गिरीले विगतमा आफूले घरमै सुत्केरी हुनुपर्दा भोगेको समस्यालाई सम्झेर वडालाई नयाँ एम्बुलेन्स सहयोग गरेकी छन् । दुई छोरा र दुई छोरीसहित ४ सन्तानलाई स्वास्थ्य चौकी र सवारी साधन अभावमा दुःखले घरमै सुत्केरी गराउनु पर्दाको विगतलाई सम्झेर उनले बैतेश्वरका महिलाले अब आफ्नोजस्तो समस्या र पीडा खेप्नु नपरोस् भन्दै एम्बुलेन्स सहयोग गरेकी हुन् ।

उनले ८४ वर्ष पुगेको खुसीमा घरमा पूजापाठ गरेर बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती र वडा नं. ६ का वडाअध्यक्ष अशोककुमार तामाङलाई घरमै बोलाएर एम्बुलेन्स हस्तान्तरण गरेकी थिइन् । बैतेश्वर–६ नाम्दु वडा कार्यालय तथा नाम्दु स्वास्थ्य चौकीलाई सवारी साधन अभावका कारण कुनै पनि बिरामी तथा गर्भवती महिलाले समस्या भोग्न नपरोस् भन्ने उदेश्यले एम्बुलेन्स सहयोग गरेको गिरीले बताइन् ।

गिरीका जेठो छोरो भीम बहादुर गिरी व्यवसाय गर्छन् भने अर्का छोरा सुर्यबहादुर गिरी १९ वर्षदेखि फ्रान्समा वैदेशिक रोजगारमा रहेका छन् । त्यस्तै, जेठी छोरी हर्कमाया ढुङेल र कान्छी नैनाकुमारी गिरी रहेका छन् ।

एम्बुलेन्सको चाबी बुझ्दै बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले लाखौं मूल्यको एम्बुलेन्स सहयोग गरेको भन्दै चन्द्रमाया गिरी परिवारलाई धन्यवाद दिए । एम्बुलेन्स नियमित सञ्चालन गर्न गाउँपालिकाले इन्धन तथा चालकको व्यवस्थापन वडासँग समन्वय गरेर गर्ने बताए ।

हस्तान्तरण कार्यक्रम पालिका उपाध्यक्षले चन्द्रमाया गिरीले खुल्ला मनले बैतेश्वर गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएकोमा धन्यवाद दिइन् । त्यस्तै एम्बुलेन्सको चाबी बुझ्दै वडा नम्बर–६ नाम्दुका वडाअध्यक्ष अशोककुमार तामाङले एम्बुलेन्स सहयोग गरेर बैतेश्वरमै उदाहरणीय कार्य गरेकाले वडाले चन्द्रमाया गिरीलाई सम्मान गरेको बताए । वडालाई हस्तान्तरण गरिएको उक्त एम्बुलेन्स वडाले नियमित रुपमा प्रयोगमा ल्याउने वडाअध्यक्ष तामाङले जानकारी दिए ।

चन्द्रमायाका छोरा सुर्यबहादुर गिरी भन्छन्, ‘आमाको एउटै इच्छा थियो गाउँका बिरामी तथा गर्भवती महिलालाई एम्बुलेन्स सहयोग गरेर अस्पतालसम्म पुग्न सहज गराउनु सोहीअनुसार आमाले चौरासीको अवसरमा एम्बुलेन्स सहयोग गर्नु भएको हो ।’ ख वर्गको एम्बुलेन्स वडालाई उपलब्ध गराउन करिब २७ लाख लागेको गिरीको भनाइ छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ