चरिकोट—दोलखामा क्यान्सर पीडितको संख्या लगातार दुई आर्थिक वर्षदेखि स्थिर रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा १७ जना क्यान्सर पीडित दर्ता भएका थिए भने गत आर्थिक वर्ष ०८१/८२ मा पनि सोही संख्या कायम रहेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
शैलुङ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक विष्णुबहादुर कार्कीकाअनुसार तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग, वंशानुगत कारण, धुमपान–मद्यपान र अस्वस्थ जीवनशैलीकै कारण क्यान्सर बढ्दो अवस्थामा पुगेको हो । उनकाअनुसार शैलुङ गाउँपालिकामा गत आर्थिक वर्षमा १८ जनामा क्यान्सर देखिएकोमा ५ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २९ जनामध्ये १२ जनाको मृत्यु भएको तथ्यांक छ ।
जनस्वास्थ्य कार्यालयको वार्षिक प्रतिवेदनअनुसार दोलखाका ९ पालिकामध्ये ७ पालिकामा क्यान्सरका केस दर्ता भएका छन् । गौरीशंकर, कालिञ्चोक र तामाकोशी गाउँपालिकामा भने पछिल्ला दुई वर्षमा क्यान्सर पीडित नदेखिएको उल्लेख छ । अन्य पालिकामध्ये विगुमा ६ जना, वैतेश्वरमा ३ जना, जिरी नगरपालिकामा १ जना, शैलुङमा ४ जना र भीमेश्वर नगरपालिकामा ३ जना क्यान्सर पीडित दर्ता भएका छन् । मेलुङमा भने ०८०/८१ मा ३ जना रहेकामा पछिल्लो वर्ष उल्लेख छैन ।
जनस्वास्थ्य कार्यालय दोलखाले जिल्लाका सबै नागरिकहरुलाई नसर्ने तथा मानसिक रोगबाट बचाउनको लागि प्रतिवद्धता तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी, गैरसरकारी संस्थालाई मार्गदर्शन प्रदान गर्ने यस रोगको अवस्था विश्लेषण गरी रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१ देखि २०२५ ले अवलम्बन गरेको अनुसूची ७ बमोजिमको स्थानीय तहको समन्वय समिति गठन गरी प्रतिवद्धता समेत गरेका छन् । प्रतिवद्धता गरे तापनि स्थानीय स्तरमा नसर्ने रोगको संख्यामा कमि नआएको नागरिकको गुनासो छ ।
क्यान्सरसहित दीर्घरोगका बिरामीलाई उपचार खर्चमा सहयोग गर्न शैलुङ गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको संयोजक कार्कीले जानकारी दिए । उनका अनुसार, पालिकाले क्यान्सर, मुटु, मृगौला, सिकलसेल, एनेमिया, हेड इन्जुरी, स्पाईनल इन्जुरी र अल्जाईमर जस्ता रोगीलाई २० हजार रुपैयाँ दिने प्रावधान छ । यस्तै, संघीय सरकारले एक लाख र बागमती प्रदेश सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।