२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा कोरोना भाइरस संक्रमणको दर बालबालिकामा बढी

लुम्बिनीमा कोरोना भाइरस संक्रमणको दर बालबालिकामा बढी

सावधानी अपनाउन चिकित्सकको आग्रह


बुटवल—लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणको दर बालबालिकामा बढी देखिएको छ । बालबालिकामा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखिने गरेका छन् ।

कोभिड—१९ को ‘नयाँ भेरियन्ट’ बढी संक्रामक र बालबालिका समेतलाई असर पुर्याउने खालको रहेको चिकित्सकहरु बताउँदै आएका छन् । नयाँ कोरोना भाइरस संक्रमण भएमा सन्चो हुने दर समेत कम रहेकोले सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

‘सिकिस्त अवस्थामा रहेका बिरामीहरुलाई सामान्य अवस्थामा फर्काउन गाह्रो हुनु, नयाँ रुपको कोरोनाको पुष्टी हुनुले त फेरि झस्काउन थालेको छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल भन्छन्, ‘बेलैमा सतर्क बन्नुपर्छ, आफ्नो सुरक्षामा ध्यान दिनुपर्छ ।’

यसअघिको कोभिडको संक्रमण दर बालबालिकामा कम थियो । नयाँ भेरियन्टमा भने विद्यालय अध्ययन गर्ने बालबालिकामा देखा पर्नु चिन्ताको विषय भएको विज्ञहरु बताउँछन् ।

प्रदेशका मुख्य सहरहरु बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जलगायतमा बालबालिकामा संक्रमण बढिरहेको छ । रूपन्देहीमा एक हप्तामा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । उता बाँकेमा ५५ जना बालबालिकामा संक्रमण देखिएको छ ।

रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको भएपनि मापदण्ड पालनामा उदासीनता देखिएको छ ।

बालबालिकालाई विशेष निगरानी राख्ने बेला आएको चिकित्सक बताउँछन् । बालबालिकालाई भिडभाडमा जानबाट जोखाउने, विद्यालय पढाउँदा जनस्वास्थ्यका मापदण्ड आनिवार्य पालना गर्न लगाउने जस्ता संक्रमणबाट बच्ने उपाय अवलम्वन गर्नुपर्ने बालरोग विषेशज्ञ डा.सन्तोष पोखरेल बताउँछन् । ‘बालबालिकामा कुन प्यार्टनमा जान्छ, अहिले नै भन्न सकिने अवस्था छैन् । तर, पछिल्लो पटक देखा परेको संक्रमण बालबालिकामा समेत देखिएको छ । सचेत हुनुपर्ने अवस्था छ,’ उनले भने ।

बालबालिकाका निन्यारो हुने, नियमित क्रियाकलाप गर्न नसक्ने अवस्थामा आउने र श्वास फेर्न अप्ठ्यारो भएमा अस्पताल लैजानुपर्ने उनको सुझाव छ । अन्यथा बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, भिडभाडबाट बचाउने काम गर्नुपर्ने डा. पोखरेलले बताए ।
सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ