२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना नियन्त्रणको प्रयासमा लुम्बिनी, ‘तपाईंको मास्क खोई’ अभियानदेखि संक्रमित क्षेत्र ‘सिल’सम्म

कोरोना नियन्त्रणको प्रयासमा लुम्बिनी, ‘तपाईंको मास्क खोई’ अभियानदेखि संक्रमित क्षेत्र ‘सिल’सम्म


बुटवल—लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पहल सुरु गरेको छ । प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमदेखि संक्रमित क्षेत्र तोकेर सिल गर्नेसम्मका निर्णय लिएको छ ।

प्रदेशअन्तर्गतका सार्वजनिकस्थल तथा सार्वजनिक यातायातमा रहने व्यक्तिहरुलाई अनिवार्य मास्क प्रयोगको लागि एक हप्तासम्म ‘तपाईको मास्क खोई’ अभियान संचालन गर्ने भएको छ । प्रदेश सरकारले नेपाल प्रहरीलाई परिचालन गरेर यो अभियान एक हप्तासम्म संचालन गर्नेछ । एक हप्तापछि भने मास्क प्रयोग नगर्नेलाई जरिवाना गरिनेछ ।

प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लाको कुनै स्थानमा आकस्मिक रुपमा महामारी फैलिएको वा फैलिनसक्ने अवस्थाको आँकलन गरेर प्रभावित स्थानलाई मात्र निश्चित समय सिल गर्ने गरी निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए । स्थानीय तहले प्रभावित स्थानका संक्रमितहरुबाट संक्रमणलाई फैलिन नदिन आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने छन् ।

कुनै विद्यालयमा विद्यार्थी वा शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएमा सो विद्यालय तत्काल सात दिनका लागि बन्द हुनेछ । त्यसरी बन्द विद्यालयका संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउनु पर्नेछ ।

शिक्षण अस्पताल रहेका जिल्लाहरुले ती अस्पतालहरुमा कोभिड—१९ का बिरामी उपचारको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

सबै स्थानीय तहहरुले कोभिड महामारीको थप संक्रमण फैलिन नदिनेतर्फ आवश्यक प्रबन्ध मिलाउन आइसोलेसन सेन्टरको व्यवस्थापन गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक आर्थिक सामाजिक गतिविधिहरु संचालन गर्न जनचेतनामूलक अभियान संचालन गर्ने, सबै आरटी—पिसिआर ल्याबहरुलाई सुचारू गर्ने, कोभिड विशेष अस्पताल धागो कारखाना रुपन्देही, बेलझुण्डी दाङ र भेरी अस्पताल बाँकेको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेशले आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाउनेजस्ता निर्णय भएको छ ।

सीमा नाकामा समेत विषेश ध्यान दिने गरी निर्णय भएको छ । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकाहरुको व्यवस्थापन र निगरानी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्ने छन् । त्यस्तै हेल्थ डेस्कको व्यवस्था गर्ने, नेपाल सरकारले संचालनमा ल्याउने भनी उल्लेख गरेका सीमा नाका बाहेक अन्य नाकाहरु बन्द हुनेछन् । नेपाल प्रवेश गर्न तोकिएको सीमा नाकामा एम्बुलेन्सको समेत व्यवस्था हुनेछ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरी आर्थिक र सामाजिक जीवनलाई संचालन गर्ने, कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको शव नेपाली सेनाको समन्वय र सहयोगमा व्यवस्थापन गर्नेलगायतका निर्णय गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ