२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीका स्थानीय तहहरुले संचालनमा ल्याए कोरोना विशेष अस्पताल

रुपन्देहीका स्थानीय तहहरुले संचालनमा ल्याए कोरोना विशेष अस्पताल


बुटवल-रुपन्देहीमा बेड अभावमा दिनानुदिन कोभिड १९ का बिरामीको मृत्यु हुन थालेपछि जिल्लाका स्थानीय तहहरुले कोरोना विशेष अस्थायी अस्पताल संचालनमा ल्याएका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाले वडा नम्बर १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छन् । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्सरे, तीन वटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

यता तिलोत्तमा नगरपालिकाले पनि शंकरनगरमा कोरोना अस्थायी अस्पताल संचालनमा ल्याएको छ । गत वर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर संचालनमा ल्याइएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरिक्षक केशव भट्टराईले बताए । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेसन सेन्टर निर्माण गरेको थियो । २० शैंय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरिक्षक भट्टराईको दावी छ । सेन्टरमा आईसीयु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने उनले बताए ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नैं आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो ।

रुपन्देहीमा रहेका अन्य स्थानीय तहले पनि कोरोना विशेष अस्पताल निर्माणको तयारी गरेका भएपनि संचालनमा ल्याउन सकेका छैनन् । स्थानीय तहहरुले पनि आइसोलेसन वार्ड निर्माण गरी सेवा दिन सके बिरामीलाई सहज हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ