२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबेड कुर्दै जान्छ कोभिडका बिरामीहरुको ज्यान

बेड कुर्दै जान्छ कोभिडका बिरामीहरुको ज्यान


बुटवल-बेड अभावमा कोभिडका बिरामीहरुको मृत्यु हुने संख्या बढ्न थालेको छ । सामान्य अक्सिजन पाएपनि बचाउन सकिने बिरामी अक्सिजन अभावमा मृत्यु हुन थालेपछि अवस्था भयावह हुने चिन्ता बढ्दै गएको छ ।

लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव छ । एम्वुलेन्स समेत भनेको समयमा पाइदैनन् । वेड पाइन छाडेको झन्डै एक हप्ता भैसकेको छ । पछिल्लो समय अस्पतालमा बेड पाइने आशामा बसेका कोभिडका बिरामीहरुले ज्यान गुमाउन थालेका छन् ।

अर्घाखाँची भूमिकास्थान तीनका ३२ वर्षीय पुरुष संक्रमितको उपचारका लागि बुटवल आएका उनका आफन्त भन्छन्, ‘पहिलो कुरा एम्वुलेन्स नै पाइँदैन्, कति हारकुहार गर्दा बल्ल तल्ल एम्वुलेन्स पाइयो अव अस्पताल कहाँ लाने, बेडै छैन्, श्वास लिन अप्ठयारो भएको हुन्छ । अक्सिजन छैन् । कसरी हो बाच्ने, कसरी हो बचाउने ?’

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा सोमबार ६ जना संक्रमितको मृत्यु भयो । तीमध्ये ४ जना आकस्मिक कक्षामा बेडको प्रतिक्षा गरिरहेका संक्रमित थिए ।

तिलोत्तमा नगरपालिका ३ की ४५ वर्षीया महिला, तिलोत्तमा ३ कै ४० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भयो । उनीहरु आईसीयु्सहितको बेडको प्रतिक्षामा थिए ।

हर सम्भव व्यवस्थापन गर्ने कोसिस गरिरहेको लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल बताउँछन् । ‘हामीसँग भएको स्रोत साधनलाई उच्चतम प्रयोग गर्ने प्रयास हामी गरिरहेका छौं,’ उनले भने ।

उता दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच संक्रमितको आइतबार मृत्यु भयो । यस अस्पतालमा पनि बेड अभाव छ । अक्सिजनको समस्या बिरामीहरु झेलिरहेका छन् ।

उता बाँकेमा पनि अवस्था उस्तै देखिएको छ । भेरी अस्पतालमा बिरामीले भरिभराउ छ भने शिक्षण अस्पताल कोहलपुरमा पनि बेड पाउने अवस्था छैन् । अक्सिजन नहुँदा शिक्षण अस्पताल कोहालपुरले नयाँ बिरामी भर्ना गर्न कठिन भएको बताउँदै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ