२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेश सरकार कोभिड–१९ अस्पतालको स्थलगत निरिक्षणमा

लुम्बिनी प्रदेश सरकार कोभिड–१९ अस्पतालको स्थलगत निरिक्षणमा

बिरामी र स्वास्थ्यकर्मीका पीर मर्का बुझ्दैं


बुटवल–लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ का लागि तोकिएका अस्पतालहरुको स्थलगत निरिक्षण सुरु गरेको छ । नवनियुक्त स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको नेतृत्वमा प्रदेश सरकारका स्वास्थ्य सचिवलगायतका उच्चपदस्थ पदाधिकारी सहितको टोली निरिक्षणमा निस्किएको हो ।

टोलीले जिल्ला अस्पताल तथा मातहतका स्वास्थय केन्द्रहरुको अवस्था, कोभिडका बिरामीहरुले व्यहोर्नुपरेका समस्या, अति आवश्यकीय स्वास्थ्य सामाग्रीको अवस्था लगायतका बारेमा छलफल समेत गर्ने गरेको छ ।

निरिक्षणका क्रममा कोभिड संकटका बेला फ्रन्टलाइनमा खटिरहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई मनोवल उच्च राख्न टोलीले उत्साहित गर्ने गरेको छ । लुम्बिनी प्रदेशमा कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित जिल्ला बाँकेदेखि पहाडी जिल्ला पाल्पासम्म टोली पुगेको छ ।

प्रदेश सरकारका मन्त्रीसहितको टोलीलाई बिरामीहरुले खुलेर आफ्ना पीडा सुनाउने गरेका छन् । ‘मन्त्रीज्यूसहितको टोली आएको थियो । अक्सिजन छैन्, बेड छैन् । केही गर्नु परो भनेर भनेको थिए,’ बाँके जिल्ला अस्पतालमा उपचाररत एक संक्रमितले भने, ‘नेताहरु आउँदा पनि जीवन पाइन्छ कि जस्तो लाग्ने रहेछ ।’

अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेको टोलीले बिरामी र अस्पतालको अवस्थाका बारेमा मात्रै छलफल गर्ने गरेको छैन । टोलीले स्वास्थ्यकर्मीका समस्याका बारेमा समेत छलफल गर्ने गरेको छ । स्वाथ्य केन्द्रका कर्मचारीहरुले महामारीका बेला प्रदेश सरकारका मन्त्री तथा सचिवसहितको टोलीलाई भेट्न पाउँदा आत्मबल बढेको बताउने गरेका छन् । मन्त्री श्रेष्ठले निरिक्षणका क्रममा कर्मचारी र पदाधिकारीहरुबाट सुझाव समेत संकलन गरेका छन् ।

स्वास्थ्य कर्मीहरुले स्वास्थ्य उपकरण, अक्सिजन, थप जनशक्ति र भौतिक पुर्वाधारमा लगानी बढाउन आग्रह गर्ने गरेका छन् ।

स्थलगत रुपमा अध्ययन भैरहेको मन्त्रालयका सचिव विकास देवकोटा बताउँछन् । ‘हामी स्थलगत रुपमा नै वस्तुस्थितिको अध्ययन गर्दैछौं,’ उनले भने ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले फ्रन्टलाइन स्वास्थ्यकर्र्मी तथा चिकित्सकले संकटपूर्ण अवस्थामा काम गरेका बेला समेत तलबको अलावा केही पाउन नसकेको गुनासो गरे ।

स्वास्थ्यकर्मीहरु आफै बिरामी भएरपनि बिरामीको सेवामा खटिएका छन् । उनीहरुको उचित मुल्यांकन हुनुपर्नेमा समेत स्वास्थ्यकर्मीको जोड छ । ‘आफै बिरामी भएर पनि बिरामीको उपचारमा अनवरत खट्ने कर्मचारीहरुको मुल्यांकन होस्,’ भेरी अस्पतालकी नर्सिङ विभाग प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले भनिन्, ‘हाम्रो आत्मवल बढ्ने गरी हौसला चाहिएको छ ।’

निरिक्षणका समयमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि प्रदेश सरकारले काम गरिहेको बताएका थिए । उनले प्रदेशमा पहिलेभन्दा अक्सिजन व्यवस्थापन भएको तर पर्याप्त नभएको भन्दै धैर्य गर्न आग्रह गर्ने गरेका छन् । ‘हामी सम्पूर्ण बल लगाएर समस्या समाधनको प्रयास गर्दैछौं । जनताको जीवनभन्दा अन्य प्राथमिकताको विषय केही हुन सक्दैन्,’ उनले भने


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ