२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा नि:शुल्क कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याउने औपचारिक प्रक्रिया सुरु

तिलोत्तमामा नि:शुल्क कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याउने औपचारिक प्रक्रिया सुरु


बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीका लागि निःशुल्क कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलव्ध गराउने गरी औपचारिक प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले भ्याक्सिनका लागि आवश्यक व्यवस्थापकीय र समन्वयकारी भूमिका खेल्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्र पठाएर प्रक्रिया अघि बढाएको हो ।

नगरपालिकामा रहेका झण्डै ७८ हजार नगरवासीका लागि आवश्यक खोपका ब्यवस्थापन तथा खरिद कार्यका लागि आवश्यक सहजीकरण र समन्वय गर्न आग्रह गरी पत्राचार गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

‘नगरपालिकामा झण्डै ८५ हजार जनसंख्या छ । तीमध्ये लक्षित वर्गका झण्डै ७ हजारले खोप लगाइसके छन्,’ नगरप्रमुख घिमिरेले भने, ‘खोप लगाउन बाँकी नगरवासीका लागि संघीय सरकारले भूमिका खेलोस् भनेर पत्राचार गरेका छौँ ।’

नगरपालिकाले सम्भाव भएसम्म नेपाल सरकारले खोप अनुदानमा उपलव्ध गराउन भनेको छ । अनुदानमा प्राप्त हुन नसकेमा नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च हुनेगरी डव्लुएचओबाट प्रमाणित खोप उपलव्ध गराउन कुटनीतिक नियोगमार्फत सहजीकरण गरिदिन अग्रह गरी पत्र पठाएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘हामी सबै प्रकारको कुटनीतिक च्यानलहरुमार्फत पनि संवादलाई अगाडि बढाइरहेका छौ । हाम्रो प्रयासले छिटै मूर्तरुप पाउनेछ,’ उनले भने ।

प्रवक्ता श्रीले नागरिकको स्वास्थ्य सेवा प्राप्तिको मौलिक हकका लागि नगरपालिका पूर्णरुपमा प्रतिवद्ध रहेर काम गरिरहेको बताए ।

तिलोत्तमा नगरपालिकामा दैनिक झण्डै २ सय जना नयाँ संक्रमित देखिने गरेका छन् । हालसम्म कोभिड–१९ का कारण नगरपालिकाका ८३ जनाको मृत्यु भएको छ ।

यसअघि कोभिड–१९ संक्रमण तीब्र रुपमा बढेको र अझै जोखिम बढन सक्ने भन्दै नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीसँग समेत अनुरोध गरेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ