२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराष्ट्रिय युवा परिषद्द्वारा कोभिड अस्पताललाई १४ लाख २५ हजार सहयोग

राष्ट्रिय युवा परिषद्द्वारा कोभिड अस्पताललाई १४ लाख २५ हजार सहयोग


बुटवल—रुपन्देहीको सैनामैना नगरपालिकामा संचालनमा रहेको कोभिड अस्थायी अस्पतालका लागि राष्ट्रिय युवा परिषदले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय, वनकट्टामा संचालन गरेको कोभिड अस्पतालका लागि परिषदले १४ लाख २५ हजार आर्थिक सहायता प्रदान गरेको हो ।

अक्सिजन सिलिन्डरका लागि आर्थिक सहयोग गरिएको परिषद सदस्य तथा लुम्बिनी प्रदेशका संयोजक बाबुराम बन्जाडेले बताए । ‘परिषदको सामाजिक उत्तरदायीत्वअन्तर्गत हामी यो आर्थिक सहायता प्रदान गरेका छौँ । यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भने ।

कोभिडका बिरामीका लागि आवश्यक हुने ५० वटा अक्सिजन सिलिन्डर खरिदका लागि सो रकम प्रदान गरिएको उनले बताए । ‘प्रतिसिलिन्डर २८ हजार ५ सय पर्ने रहेछ सोही अनुसार ५० वटा सिलिन्डरका लागि आवश्यक रकम दिइएको छ,’ उनले भने ।

सैनामैनामा ५० शैय्याको कोभिड—१९ अस्थायी आइसोलेशन संचालनमा रहेको छ । अक्सिजन अभावमा समस्या भैरहेका बेला परिषदले गरेको सहयोगले जीवन वचाउन सकिन्छ भन्ने आशा बढेको सैनामैनाका नगरप्रमुख चित्रवहादर कार्की बताउँछन् । ‘महामारीको समयमा कसरी सहयोग हुन्छ त्यसरी नै सहयोग गर्ने हो । सहकार्यबाट नै विपदको सामना गर्न सकिन्छ । नगरपालिका समन्वयात्मक कार्य गरिरहेको छ,’ उनले भने ।

परिषदसँग रकम प्राप्तीका लागि नगरपालिकाले गत जेष्ठ १९ गते सम्झौता गरेको थियो । कोभिड—१९ को विपद् व्यवस्थापनका लागि भन्दै परिषदले रकम उपलब्ध गराएको हो ।

कोभिड—१९ का बिरामीको सरल र सहज उपचारका लागि अतिआवश्यकीय मेडिकल समाग्री खरिदमा सहयोग पुर्याउने उद्देश्य राखी संझौता गरिएको छ ।

अस्पतालका लागि ६५ केजीका ५० वटा अक्सिजन सिलिन्डर खरिदका लागि भएको सम्झौताअनुसार रकम प्रदान गरिएको बन्जाडेले बताएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ