२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउन २५ करोड विनियोजन

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउन २५ करोड विनियोजन


बुटवल – लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखि ‘पहिले कोभिड’ नीति सहितको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

कोभिड–१९ को नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने प्रमुख प्राथमिकता सहितको बजेट आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको बजेटमा कोभिड-१९ र समग्र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेश गरेको छ ।

कोभिड १९ नियन्त्रणमा बजेट

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा कोभिड-१९ नियन्त्रण र कोभिडका बिरामीको उपचारलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सातवटा लक्ष्य निर्धारण गरिएको बजेटमा सर्वसाधारणको स्वास्थय क्षेत्रमा पहुँच बढाउने लक्ष्य राखिएको छ ।

कोभिड-१९सँग सम्वन्धित संयन्त्रहरुलाई प्रभावकारी बनाउने बजेटमा उल्लेख छ । अक्सिजन ग्यास उत्पादनका लाग अस्पतालहरुका लागि स्रोत व्यवस्थापन गरिनेछ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मीका लागि दिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ ।

स्थानीय तहहरुसँगको समन्वयमा आइसोलेशन तथा क्वारेन्टाइनहरुको व्यवस्थापन गरिने भएको छ ।

स्वास्थ्य पूर्वाधारमा बजेट

प्रदेश सरकारको गौरवको आयोजनामा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि बजेट छुट्टाइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालाई विशिष्टिकृत अस्पतालको रुपमा निर्माण थालनी गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

आगामी आर्थिक बर्षमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नती गरिने भएको छ । विएसएल द्धितीय स्तरमा संचालनका लागि र पूर्वाधार विकासका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, राप्ती प्रादेशिक अस्पताललाई पनि विशिष्किृत अस्पतालको रुपमा विकास गर्ने सरकारको तयारी छ । जसका लागि डिपिआर तयारीका लागि बजेट विनियोजन गरेको मन्त्री चौधरीले बताए ।

उता, दाङको लमहीमा ट्रमा सेन्टर बन्ने भएको छ । दाङमा बन्ने ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।
हालसम्म ५० शैय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिनेछ ।

आयुर्वेद क्षेत्रमा बजेट

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा आयुर्वेद क्षेत्रलाई पनि समेटिएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालयमा रहेका शैय्या वृद्धि  गरिने भएको छ । चिकित्सालयलाई १५ शैय्याको आयुर्वेद अस्पतालको रुपमा विकास गरिने छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको स्तरोन्नति र लुम्बिनी प्रादेशिक चिकित्सालयको शैय्या थपका लागि दुइ करोड विनियोजन गरिएको छ ।

उता, नवलपरासी पश्चिम र रुकुम पूर्वमा पनि आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने भएको छ । ती जिल्लाहरुमा अस्पताल संचालनका लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।

नि:शुल्क रगतसञ्चार सेवा

सरकारले आगामी आर्थिक बर्षदेखि प्रदेशमा रहेका सबै सरकारी अस्पतालहरुबाट निशुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ । रत्तसञ्चार सेवालाई प्रभावकारी बनाउन ‘निशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारा तय भएको छ । रक्तसञ्चार सेवाका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

घातक रोगमा प्रदेशको बजेट

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा जटिल र घातक रोग लागेमा उपचारमा राहात दिने गरी सम्बोधन गरिएको छ । मृगौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउने बाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउने छ ।

त्यस्तै, प्रदेश सरकारले १६ बर्षभन्दा मुनिका क्यान्सर बिरामीहरुका लागि पनि आर्थिक सहायता गर्ने भएको छ । जसअनुसार १६ वर्षभन्दा मुनिका क्यान्सर बिरामीहरुका लागि प्रति व्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउनेछ । योसँगै क्यान्सर बिरामीले संघीय सरकारले उपलब्ध गराउने सहयोग सहित प्रदेश सरकारबाट समेत आर्थिक सहायता पाउने छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ