२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाको नीति कार्यक्रम : नगरबासीलाई खोप, गर्भवती महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा

तिलोत्तमाको नीति कार्यक्रम : नगरबासीलाई खोप, गर्भवती महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा


बुटवल –  नगरबासीका लागि कोभिड-१९विरुद्धको खोपको पहुँचमा पुर्याउने कार्यक्रम सहित तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरप्रमुख बासुदेव घिमिरेले बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीका लागि खोप उपलब्ध गराउन कुटनीतिक पहल भैसकेको बताए । नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा मात्र रहेका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्ति तथा प्रविधियुक्त बनाइ  विश्‍वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य चौकीहरुमा चिकित्सक सहितको सेवा प्रदान गर्ने विगतको कार्यलाई थप स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गरी सेवा प्रदान गरिनेछ ।

जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने भएको छ । जसका लागि उमेरको हद ७० वर्ष पुरा हुनुपर्नेछ । गर्भवती महिलाहरु बिरामी भई स्वास्थ्य संस्था वा जिल्लाभित्रका अस्पतालहरु जानुपर्दा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

नगरपालिकाले ८० वर्ष नाघेका जेष्ठ नागरिकका लागि पनि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको  छ। भने, नगरपालिका मातहत रहेका एम्बुलेन्सलाई थप जनमुखी बनाइने छ ।

आर्थिक रुपमा विपन्‍न नगरबासीको स्वास्थ्य उपचारको लागि ‘नगर प्रमुख विपन्न नागरिक सहायता कोष’ स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, ‘स्वस्थ नगरबासी : स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने नीति नगरपालिकाले लिएको छ ।

नगरभित्रका सबै वर्थिङ्ग सेन्टरहरुको गुणस्तर सुधार गरी सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गर्ने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन भत्ता स्वरुप दिइने १ हजार रुपैंयाँ भत्तालाई निरन्तरता दिने, गर्भवती महिलालाई निःशुल्क क्याल्सियमको साथै गर्भवती महिलाको पोषणमा सुधार ल्याउन ‘गर्भवतीसँग उपमेयर कार्यक्रम’लाई निरन्तरता दिने, जिरो होम डेलिभरी कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने, गर्भवती सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रोटेबल अल्ट्रासाउण्ड सेवा सुरुवात हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य चौकीहरुमा सञ्‍चालनमा रहेका प्रयोगशालाहरुलाई स्तरोन्नती गर्ने, नगरस्तरीय सुविधासम्पन्न प्रयोगशाला निर्माण गर्ने, आनन्दवन स्वास्थ्य चौकी अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि भवन निर्माण कार्य प्रारम्भ भएकोमा त्यसलाई सम्पन्न गराउन नगरपालिकाको तर्फबाट सहजीकरण गर्ने, स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्न संघीय सरकारसँग आवश्यक पहल गर्ने जस्ता विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

तिलोत्तमाको वडा नं. १७ मा रहेको बिपी ग्राम सामुदायिक अस्पताललाई १५  शैय्यामा अस्पतालको रुपमा निर्माण कार्य अघि बढेकोमा यसलाई पूर्णता दिन आवश्यक सहजीकरण गरिने भएको छ ।

प्रत्येक स्वास्थ्य संस्थाहरुमा व्यवस्थित र सुविधा सम्पन्‍न खोप केन्द्र सञ्‍चालनको लागि पूर्वाधार निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने , सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य र पोषण प्रवद्र्धन तथा शारीरिक एवं मानसिक वृद्धि विकास अनुगमनका लागि विद्यालय स्वास्थ्य कार्यक्रम र विद्यालय नर्सिङ्ग कार्यक्रमलाई थप प्रभावकारी बनाउने, संस्थागत विद्यालयहरुमा समेत विद्यालय नर्सिङ्ग कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गर्ने, सबै सामुदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने जसता कार्य अघि बढ्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिका लागि प्रोत्साहन कार्यक्रम संचालन हुने भएको छ । उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नेपाल सरकारले प्रदान गर्ने रकममा केही रकम थप गरी सञ्चालन गरिएको  ‘सुनौलो अवकाश योजना’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । सिकलसेल एनिमिया रोकथाम कार्यक्रम संचालन हुनेछ । नगरभित्रका उपयुक्त स्थानमा ‘भ्याक्सिन सव सेन्टर र कोल्ड सेन्टर’ स्थापना गर्दै पूर्ण खोपको सुनिश्चितता गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

तिलोत्तमा वडा नं. १ र ८ मा निर्माण हुने ‘प्रादेशिक सरकारी मेडिकल कलेज’ र वडा नं ४ मा निर्माण हुने ‘गौतमुद्ध सामुदायिक मुटु अस्पताल’ को कार्यमा आवश्यक समन्वय र सहकार्य गर्ने, नगरका बाँकी वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि केन्द्र तथा प्रदेश सरकारसँग माग गर्ने, ३ वटा वडामा योग तथा खुला व्यायमशाला निर्माण गर्न योजना निर्माण गर्ने जस्ता कार्य गरिने भएको छ ।

करहिया आयुर्वेद औषधालयको स्तरोन्नतीको लागि आवश्यक पूर्वाधार, औषधी उपकरणसहित थप जनशक्तिको व्यवस्थापन खानपान, योग, ध्यान, साधनाद्धारा स्वस्थ जीवनशैली प्रवद्र्धनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिलाई प्राथमिकता दिई ‘आफ्नै भान्सा आफ्नै जडिबुटी’ कार्यक्रमअन्तर्गत् रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने, योग, ध्यान साधनाको माध्यमबाट कोभिड–१९ को कारण पर्न गएको शारीरिक मानसिक तथा सामाजिक प्रभावलाई कम गरिने जस्ता वैकल्पिक चिकित्सालाई पनि आत्मसाथ गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ