२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी अस्पतालमा घाँटीमा अड्किएको १८ सेन्टीमिटर लामो ब्रस निकालियो

लुम्बिनी अस्पतालमा घाँटीमा अड्किएको १८ सेन्टीमिटर लामो ब्रस निकालियो


बुटवल – घाँटीमा अड्किएको १८ सेन्टीमिटर लामो ब्रस लुम्बिनी प्रादेशिक अस्पतालमा सफल रुपमा निकालिएको छ । रुपन्देहीको रुद्रपुर हरैयाका २४ वर्षीय युवाको घाटीमा अड्किएको ब्रस राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट निकालिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विष्णु शर्माले बताए ।

घट्ना के थियो ?

१८ सेन्टिमिटर लामो ब्रस नै घाँटीमा अड्कीनु नौलो घट्ना हो । रुद्रपुर हरैयाका २४ वर्षीय युवामा त्यो घट्ना घट्यो । आइबार विहान ब्रस गर्दै गरेका उनको अचानक ब्रस घाँटीभित्रै फसेको थियो । स्थानीय मेडिकलमा एक्स-रे गर्दा समेत ब्रस नदेखिए पछि थप जटिल र रहस्यमय बन्यो । बिरामीलाई झनपछि झन दुखाइ भने बढ्दै गयो । घरपरिवारका सदस्य पनि आत्तिए । बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा इण्डोस्कोपी गरियो । इण्डोस्कपीमा भने ब्रस देखियो ।

इण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको बीच भागमा ब्रस अड्किएको देखियो । उनको शल्यक्रिया जटिल त थियो नै त्यसमा पनि असहज प्रकृतिको थियो । घाँटीबाट छिरेको ब्रस छातीको बीच भागमा पुगिसकेकोले केही ढिलो भएको भए त्यो पेटसम्म पुग्न सक्ने र अझै आन्द्रा छेडेर शरीरभित्रै आन्द्रा बाहिर पनि जानसक्ने खतरा थियो । आफन्तको सहमतीमा राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको उपचार सुरु भयो ।

के हो ओसोफ्यागोस्कोपी ?

यो आधुनिक प्रविधिमा आधारित उपचार विधि हो । यसमा बिरामीलाई बेहोस गराइन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाइप छिराएर त्यसको सहायताले अट्कीएको बस्तु समातेर निकाल्ने गरिन्छ । यसरी ठूलो आमाशयसम्म नपुगेको वस्तुलाई निकाल्ने प्रविधिलाई ओसोफ्यागोस्कोपी भनिने डा. सन्तोष भूषाल बताउँछन् । ‘यो प्रविधि धेरै हदसम्म सफल नै छ । तर कतिपय अवस्थामा चिरफार समेत गर्नु पर्ने हुन सक्छ ।’, उनले भने ।

ती युवाको घाँटीमा रहेको ब्रस यही प्रविधिको माध्यमबाट सफल रुपमा निकालिएको छ । यो प्रविधि युक्त उपचार विधि सफल नहुने जोखिमलाई हेरेर सर्जनहरूलाई पनि स्ट्याण्डबाई राखिएको थियो । यद्यपी, यो विधि सफल भएको र चिरफार गर्नु नपरेको डा.शर्माले बताए ।
चिकित्सकहरू डा विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधनसहितको टोली ब्रुस निकाल्नका सफल भएको छ । घाइतेको अवस्था खतरा मुक्त छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ