२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालका १ सय ३१ वर्षः वीर डिस्पेन्सरीदेखि ५ सय वेडको विशिष्टीकृत अस्पतालसम्म

भेरी अस्पतालका १ सय ३१ वर्षः वीर डिस्पेन्सरीदेखि ५ सय वेडको विशिष्टीकृत अस्पतालसम्म


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालले १ सय ३१ औं स्थापना दिवस मनाएको छ । नेपालगन्जमा पहिलोपल्ट वि.सं. १९४७ मा वीर डिस्पेन्सरी अस्पतालको नामबाट भेरी अस्पताल स्थापना भएको थियो ।

वि.सं. २०१६ मा अस्पतालको नाम परिवर्तन गरेर रत्नराज्यलक्ष्मी देवी प्रसुती गृह राखियो । वि.सं. २०२२ सालमा नाम परिवर्तन गरेर भेरी अञ्चल अस्पताल राखेर ५० बेड स्वीकृत गरियो । वि.सं. २०४२ सालमा अस्पताल विकास समिति गठन गरेर बेड संख्या बढाएर १ सय पु¥याइयो । वि.सं. २०४३ सालमा ५० बेड थप गरी १ सय ५० बेडको अस्पताल बनाइयो ।

सरकार र समाजसेवीहरुले अस्पताललाई छिटपुट रुपमा सहयोग गरेपनि ०४३ सालदेखि ०७३ साल अर्थात पछिल्ला ३० वर्षमा अस्पतालले खासै गति लिन सकेन । यो अवधिमा नत बेड संख्या थपियो । न त नयाँ भवन नै निर्माण भयो । जीर्ण भवन, न्यून जनशक्तिले जेनतेन अस्पताल चलि नै रह्यो ।

अस्पताललाई नेपाल सरकारका साथै समाजसेवीहरुले पनि निरन्तर सहयोग गर्दै आएका छन् । अस्पतालको वार्षिककोत्सवका अवसरमा भुसाल इन्टरनेशनलले एउटा एम्बुलेन्स भेरी अस्पताललाई सहयोग गरेको छ ।

बिरामीको चाप बढ्दै गएपछि अस्पतालले वि.सं. २०७४ सालदेखि क्याथ ल्याब सेवा सुरु ग¥यो । आईसीयु एनआईसीयु, डाइलासिस सेवा विस्तार गर्दै गएपछि अस्पतालले विकासमा गति लिन थाल्यो ।

नेपाल सरकारको २०७६ /०७७ को नीति तथा कार्यक्रममार्फत भेरी अस्पतालमा विशिष्टीकृत सेवा प्रदान गर्ने ५ सय बेड संचालन गर्ने घोषणा ग¥यो । तर, अस्पतालका लागि आवश्यक दक्ष जनशक्ति अझैसम्म थपिएका छैनन् ।

कोभिड—१९ महामारीका बेला अस्पतालले एक दिनमा २ सय ७० जनासम्म बिरामीलाई भर्ना गरेर उपचार सेवा प्रदान ग¥यो । १ सय ५० बेड स्वीकृत भएपनि भेरी अस्पतालमा हाल २ सय ९० बेड संचालनमा छन् । ५७ जनाको दरबन्दी भएपनि स्थायी १८ जना, करार १७ जना गरी ३५ जना मात्रै चिकित्सक कार्यरत छन् । स्टाफ नर्सहरुको दरबन्दी लामो समयदेखि थपिएको छैन ।

लुम्बिनी प्रदेश सरकारले चिकित्सक, स्टाफ नर्ससहित १ सय ३९ जना जनशक्तिका लागि आवश्यक पर्ने बजेटको ब्यवस्थापन गरी दिएपछि अस्पतालले कोभिड-१९ को महामारीमा दैनिक २ सय ७० सम्म बिरामीलाई भर्ना गरेर उपचार ग¥यो ।

अहिले भेरी अस्पताल परिसर नै करिब ३४ करोडको लागतमा २ सय ४० बेडको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ । पछिल्ला दिनहरुमा नेपालगन्ज पश्चिम नेपालको मेडिकल हबको रुपमा विकसित हुँदै गइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जलाई मेडिकल हब बनाउने लक्ष्य राखेको मेयर डा. धवल शम्सेर राणाले बताए ।

अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले भेरी अस्पताललाई पश्चिम नेपालको विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ थप जनशक्तिको ब्यवस्थापन र संरचना निर्माणको काम भइरहेको बताए ।

भेरी अस्पतालले हाल मुटु , ग्यास्ट्रो सर्जरी, आँखा सहित १२ किसिमका रोगहरुको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालको ओपिडीमा दैनिक ५ देखि ६ सय र इमर्जेन्सीमा १ सयदेखि १ सय २० जनासम्म बिरामी उपचारका लागि आउने गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #डा. प्रकाश थापा, #डा. रोशन पोखरेल, #नेपालगन्ज, #भेरी अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ