२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदुई महिनादेखि थन्किएको प्लान्टबाट अक्सिजन उत्पादन सुरू, एकदिनमा ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सकिने

दुई महिनादेखि थन्किएको प्लान्टबाट अक्सिजन उत्पादन सुरू, एकदिनमा ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सकिने


बुटवल— पाल्पामा अक्सिजन प्लान्ट राख्ने भवन नहुँदा झन्डै दुई महिनादेखि थन्किएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । प्लान्ट राख्ने भवन बनाउन रकम नहुँदा दुई महिनादेखि जडान हुन नसकेको प्लान्ट भवन तयार भएपछि जडान गरी उत्पादन सुरु भएको हो ।

कोभिड—१९ महामारीमा अक्सिजनको समस्या देखिएको पाल्पा जिल्लामा अक्सिजन प्लान्टबाटै अक्सिजन उत्पादन सुरु भएको छ । जिल्ला अस्पताल तानसेनमा जडान भएको अक्सिजन प्लान्टबाट ४ सय २० लिटर प्रतिमिनेट उत्पादन सुरु भएको हो । प्रेसर स्विङ एडजप्सन (पीएसए) विधिको प्लान्टबाट उत्पादित अक्सिजनले एक दिनमा ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सकिने इलेक्ट्रीकल इन्जिनियर देवेन्द्र श्रेष्ठले बताए । ‘उत्पादनको मात्रा ठूलो हो । तत्काल आवश्यक अक्सिजनको आपूर्तिमा सहज हुने विश्वास लिएका छौं,’ उनले भने ।

पीएसए विधिको प्लान्ट शुद्ध अक्सिजन उत्पादन गर्ने प्राविधिकहरु बताउँछन् । उत्पादित अक्सिजन कति शुद्ध छ भन्ने विषयसमेत महत्वपूर्ण हुने गर्दछ । प्लान्टबाट उत्पादित अक्सिजन ९३ प्रतिशतसम्म शुद्ध हुने उनले श्रेष्ठले बताए ।

पाल्पामा अक्सिजन उत्पादन सुरु भएसँगै पाल्पा अस्पताल र स्थानीय तहमा अक्सिजन अभावको समस्या समाधान हुने पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताए । प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर पनि दिन सकिने उनको भनाइ छ ।

सरकारले ४ जेठमा अक्सिजन प्लान्ट जडानका लागि १ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो । अक्सिजन प्लान्टको भने असारमै टेन्डर भएर आएको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ