२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशझाडापखाला फैलिएपछि कपिलवस्तुमा स्कुलमा समेत बिरामी राखेर उपचार गरिदै, दुई जनाको मृत्यु

झाडापखाला फैलिएपछि कपिलवस्तुमा स्कुलमा समेत बिरामी राखेर उपचार गरिदै, दुई जनाको मृत्यु


बुटवल—लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा हैजाको लक्षणसँग मिल्दो जुल्दो महामारी फैलिएको छ । जसका कारण बिरामीको संख्या २ सय ४० नाघेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।

उनका अनुसार नगरपालिका भित्र बिरामीको संख्या बढ्ने क्रममा छ । अस्पतालमा भर्ना भएकामध्ये ३५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा पठाइएको उनले बताए ।

रोगको पुष्टिका लागि बिरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको उनले बताए । ‘हामी नमूना संकलन गरेर ल्यावमा पढाएका छौँ । नतिजा नआउन्जेल केही भन्न सक्ने अवस्था छैन्,’ उनले भने, ‘सामान्य लक्षण हेर्दा हैजा जस्तै छ । नमुनाको नतिजा आउन कम्तीमा ४८ घण्टा लाग्छ । रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’

बिरामीलाई निरन्तर झाडाबान्ता हुने र निकै कमजोर बनाउने गरेको छ । बिरामी थपिदै जान थालेपछि शिवराज अस्पताल बहादुरगन्जमा एउटै बेडमा तीनजना राखेर उपचार सुरु गरिएको छ । ‘बिरामीहरू बढ्दै गएका छन्,’ शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले भने, ‘उपचार गर्न समेत धौ—धौ भएको छ । एउटै बेडमा धेरै बिरामी राख्न बाध्य भएका छौँ ।’

यसअघि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले अनुगमन समेत गरेको थियो ।

कृष्णनगर नगरपालिकाको वडा नं ७, ८ र ९ का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा विरामीहरु आफूलाई पायक पर्ने ठाउँमा उपचार गराउँदै आएका छन् । पालिकाका निजी क्लिनिकमा समेत विरामी भर्ना गरी उपचार गराउँदै आएका छन् ।

यसैगरी शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको गल्ली, बरन्डा र रोग नियन्त्रणमा आएका बिरामीलाई अस्पताल नजिक रहेको राम गोरखा माविमा उपचार गरिएको छ । पालिका भरी रोग प्रभावितको संख्या एकीन हुन सकेको छैन् ।

दुई जनाको मृत्यु

रोग फैलिँदा नगरपालिकाको वडा नं ८ बहादुरगञ्जका दुई जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षका रामप्रसाद केवट र ८ वर्षका राज कश्यपको मृत्यु भएको छ ।

उपचार गर्न अस्पताल नआएका कारण उनीहरुको मृत्यु भएको बताइएको छ । उनीहरुसँग उपचार खर्चसमेत नरहेको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ