२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशगौतमबुद्धको जन्मस्थलमा अत्याधुनिक अस्पताल निर्माण प्रक्रिया अघि बढ्यो

गौतमबुद्धको जन्मस्थलमा अत्याधुनिक अस्पताल निर्माण प्रक्रिया अघि बढ्यो


बुटवल – शाक्यमुनी गौतमबुद्धको जन्मस्थल रूपन्देहीको लुम्बिनीमा निर्माण हुने अत्याधुनिक अस्पतालको निर्माण प्रक्रिया अघि बढेको छ । लुम्बिनी गार्डेन फाउन्डेशन, स्पेन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच सम्झौता भएसँगै अस्पताल बन्ने प्रक्रिया अघि बढेको हो ।

गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने पर्याटकहरुलाई समेत सेवा दिने लक्ष्य सहित लुम्बिनी क्षेत्रमा अस्पताल निर्माण हुन लागेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा आधुनिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको नगरप्रमुख मनमोहन चौधरीले बताए ।

लुम्बिनीमा निर्माण हुने अस्पतालमा गर्भवति, सुत्केरी र बालबालिकाको उपचार तथा सेवामा केन्द्रित अस्पताल निर्माण गर्न लागिएको छ । हालका लागि यी सेवाहरु दिने गरी अस्पताल निर्माण भए पनि अन्य सेवाहरु समेत क्रमशः विस्तार गर्दै जाने योजना रहेको प्रमुख चौधरीले बताए । ‘हामी पहिलो चरणमा प्रसुतिसँग सम्बन्धित अस्पताल निर्माणको काममा लाग्ने छौँ । अन्य सेवाहरू विस्तारै थप गर्दै जाने योजना पनि छ,’ उनले भने ।

गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विश्वभरीबाट बच्चा जन्माउन चाहनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राखेर प्रसूति गृह अस्पतालको निर्माण भएको खण्डमा मेडिकल टुरिजमका रुपमा पनि लुम्बिनीलाई विकास गर्न सकिने पर्यटन व्यवसायी रोमाकान्त आचार्य बताउछन् ।

‘पवित्र तिर्थस्थल लुम्बिनीमा बच्चा जन्माउन चाहानेहरुका लागि पनि अवसर हुन्छ । मेडिकल टुरिजमको विकासका लागि पनि सहयोगी नै हुन्छ,’ उनले भने । यस क्षेत्रमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय बौद्धविहार तथा ध्यान केन्द्र छन् । लुम्बिनी वरिपरि बसोबास गर्ने १६ लाखभन्दा बढी  जनसंख्यालाई स्वास्थ्य उपचार सेवाका लागि अस्पतालको आवश्यकता रहेको थियो ।

लुम्बिनीमा बौद्ध केन्द्रहरुमा बस्ने बौद्ध गुरु, गुरुमा तथा उपासक उपासिकाहरु पनि स्वास्थ्य सेवा नपाउँदा समस्या हुने गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले अस्पताल निर्माण गर्नेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ