२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेश : परीक्षण गराएकामध्ये एक प्रतिशतमा एचआइभी पोजेटिभ

लुम्बिनी प्रदेश : परीक्षण गराएकामध्ये एक प्रतिशतमा एचआइभी पोजेटिभ


बुटवल – लुम्बिनी प्रदेशमा परीक्षण गराएका मध्ये झण्डै एक प्रतिशतमा एचआइभी पोजेटिभ भेटिएको तथ्यांकले देखिएको छ । सुदूरपश्चिम प्रदेश पछि सबैभन्दा धेरै परीक्षण गरिएको लुम्बिनीमा आर्थिक वर्ष २०७७-७८ मा ०.९ प्रतिशतमा एचआईभी पोजेटिभ भेटिएको रुटिन प्रोग्राम डाटाले देखाएको हो ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ५४ हजार ४५३ जनामा गरिएको परीक्षणमा ५ सय ११ जनामा एचआइभी पोजेटिभ देखिएको छ । जुन झण्डै एक प्रतिशत हुन आउँछ । भारतीय सीमावर्ती क्षेत्रका कारण लुम्बिनी प्रदेश एचआईभी संक्रमण जोखिममा क्षेत्र हो । असुरक्षित यौन क्रियाकलाप, सिरिन्ज जन्य नसा सेवान जस्ता कारणले एचआइभी संक्रमणको जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् । असुरक्षित यौन सम्पर्क तथा छाला डेड्ने औजारका माध्यमबाट एचआइभी सर्ने गर्दछ ।

एचआईभी परीक्षणका लागि लुम्बिनी प्रदेशमा १४ स्थानमा एआरटी परीक्षण केन्द्रहरु छन् । ती केन्द्रहरुमा व्यवस्थित तरिकाले एचआईभी परीक्षण हुने गरेको छ । परीक्षण केन्द्रहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भिम अस्पताल भैरहवा, मिसन अस्पताल तानसेन, जिल्ला अस्पताल गुल्मी, जिल्ला अस्पताल कपिलवस्तु, महाराजगंज पिएचसी कपिलवस्तु, जिल्ला अस्पताल अर्घाखाँची, जिल्ला अस्पताल नवलपरासी, राप्ती एकेडेमिक फर हेल्थ साइन्स घोराही, राप्ती प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके, जिल्ला अस्पताल बर्दिया, जिल्ला अस्पताल प्यूठान र जिल्ला अस्पताल रोल्पामा एआरटी सेवा केन्द्रहरु रहेका छन् ।

परीक्षण केन्द्रहरुले एचआईभी भए नभएको जाँच गर्न र पोजेटिभ भेटिएमा औषधी सेवनमा सहयोगीको भूमिका खेलेका छन् । यी केन्द्रहरुले औषधिको पहुँच बढाउन समेत महत्वपूर्ण भूमिका खेलेका छन् । परीक्षणको दायरा फराकीलो हुँदा संक्रमणको जोखिम केही कम हुने गरेको र उपचारमा समेत सहयोगी हुने गरेको लुम्बिनी प्रदेशका स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरी बताउँछन् । ‘परीक्षणलाई व्यापक बनाउन सकेमा एउटा त उपचार गर्न सहज हुन्छ अर्को थाहा नपाएका कारण सर्ने जोखिम पनि कम हुन्छ,’ उनले भने ।

भाइरल लोड परीक्षण केन्द्रहरु पनि लुम्बिनी प्रदेशमा संचालनमा छन् । प्रदेशमा रहेका ९ वटा संकलन केन्द्रबाट भाइरल लोड परीक्षण हुने गरेका स्वाथ्य जनसंख्या तथा परिवार कल्लाण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पान्डेले बताए । एचआइभी र एड्स नियन्त्रणमा भए गरेका गतिविधिले एचआइभी सङ्क्रमण दरमा केही कमी देखिएको उनले बताए । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभी सङ्क्रमणमा कमी आएको उनको बुझाई छ ।

सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण हुने गरेको छ भने यौनकर्मीहरुका कारण २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा ०.३ प्रतिशत सङ्क्रमण हुने गरेको तथ्यांक छ ।

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल एआरभी सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ