२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘ओमिक्रोन’को त्रास, सीमा नाकामा सर्तकता अपनाउने निर्णय

‘ओमिक्रोन’को त्रास, सीमा नाकामा सर्तकता अपनाउने निर्णय


बुटवल—कोभिड-१९ का नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतका विभिन्न ठाउँमा देखिन थालेपछि रुपन्देहीमा पनि सर्तकता अपनाउन थालिएको छ । लुम्बिनी प्रदेश कोभिड संक्रमणका हिसावले जोखिम क्षेत्र मानिन्छ । भारतीय सीमा नाका रहेको रुपन्देही जिल्ला उच्च जोखिम भएको जिल्ला भित्र पर्दछ ।

कोभिड– १९ सङ्कट व्यवस्थापन समिति डिसिसिएमसीको बैठक नै बसेर रुपन्देहीमा उच्च सर्तकता अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । ‘हामी सीमा क्षेत्रमा थप सजगता अपनाउने गरी काम गर्ने निर्णयमा पुगेका छौँ । स्थानीय तहहरुसँग समन्वय गरी काम तुरुन्तै सुरु हुन्छ,’ उनले भने ।

बढी भिडभाड हुने क्षेत्रदेखि रुपन्देहीको बेलहिया नाका, अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार समेत गरिएको उनले बताए । स्थानीय सरकारहरु थप सचेत हुनुपर्नेमा उनको जोड छ ।

पैदल मार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकहरु बेलहिया नाकाबाट नेपाल भित्रने गर्दछन् । भारतलगायत, अष्टेलिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटकहरु अनउने हुँदा सावधानी अपनाउनु पर्नेमा विज्ञहरुले सुझाव दिँदै आएका थिए ।

सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्ने गरी संयन्त्र परिचालन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । उनका अनुसार शंकास्पद भए ‘रेपिड एन्टिजेन टेष्ट’ गरिनेछ । सीमा क्षेत्रमा शंकास्पद भेटिएका नागरिकमा रेपिड एन्टिजेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने छ । जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।

रुपन्देहीका अधिकांश पालिकाहरुमा कोभिड विरुद्धको खोप दिइसकिएको छ । बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकअनुसार रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत पुगेको छ । खोपको प्रभावकारिताका बारेमा अध्ययन भैरहेको बताइन्छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य संठन डब्लुएचओले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । रुपन्देहीमा हालसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भइसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ