२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्र सहयोगीका रुपमा रहनुपर्छ : गृहमन्त्री

स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्र सहयोगीका रुपमा रहनुपर्छ : गृहमन्त्री


बुटवल—गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोगीका रुपमा सरकार रहनुपर्नेमा जोड दिएका छन् । नेपालको राज्य संचालन प्रणाली समेत निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने प्रकारको रहेको बताउँदै मन्त्री खाँणले स्वास्थ्य क्षेत्र वृहत भएकाले सहकार्यबाट मात्र जनतालाई सेवा दिन सकिने बताए ।

उनले सिमित स्रोत र सधानका बीच चिकित्सक तथा स्वास्थ्यकर्मीले गरिरहेको सेवाको कदर गर्नुपर्नेमा जोड दिए । विज्ञान प्रविधिको विकासलाई स्वास्थ्य क्षेत्रले अवलम्बन गर्दै जानुपर्ने उनको भनाइ थियो ।

गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्था, बुटवलको ९ औँ साधारणसभा तथा अधिवेशनलाई शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नेपाल सरकारले प्रविधियुक्त स्वास्थ्य सेवामा जोड दिइरहेको बताए । विज्ञान प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक परिवर्तन देखा परिरहेको बताउँदै उनले रोगको पहिचान, त्यसको उपचार र नयाँ जीवन प्राप्तिको लागि प्रविधियुक्त स्वास्थ्य सेवा महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले स्वास्थ्य मानव जीवनसँग जोडिएको विषय भएकाले अपरिहार्य र अनिवार्य रुपमा सेवालाई गुणस्तरीय बनाउनुपर्ने बताए । अनुसन्धान अन्वेषणका साथसाथै उच्च प्रविधिलाई प्रयोग गरेर पछिल्ला दिनहरुमा स्वास्थ्य क्षेत्रले चमत्कारिक परिवर्तन गरिरहेको उल्लेख गर्दै उनले प्रविधिले चिकित्सा क्षेत्रलाई सहज र सरल बनाएपनि सोही अनुरुपको जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुटु रोगीकोे उपचारका लागि मात्र नभई मुटु स्वास्थ्य राख्न गर्नुपर्ने जीवन पद्धतिका बारेमा पनि अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
यसै बीच स्वास्थ्य राख्न गौतम वुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पुनः एजाज आलम अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल संचालन गरिरहेको संस्थाको आगामी कार्यकालका लागि पुनः नेतृत्वमा आएका हुन् ।

संस्थाको विधानमा अध्यक्षबाहेक अरु पदाधिकारी कार्यसमितिको पहिलो बैठकले चयन गर्ने व्यवस्था भए बमोजिम अहिले अध्यक्ष र कार्यसमिति सदस्य मात्रै निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिती सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल, विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्रकुमार अग्रवाल निर्वाचित भएका भए । त्यस्तै संस्थापक खुल्ला सदस्यतर्फ बोनिन पिया, दिनेशराज रेग्मी, गुणनिधी भण्डारी, हिरामणी भट्टराई, जीवनप्रसाद अधिकारी र शिवकुमार पाठक निर्विरोध निर्वाचित भएका छन् ।

संस्थागत सदस्य महिलातर्फ भगवती पाण्डे र बनिका देवी शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संस्थाको कार्यसमितिमा अस्पतालका निर्देशक, रुपन्देही उद्योग संघ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ डाउन टाउनबाट एक—एक जना पदेन सदस्य मनोनित हुने व्यवस्था छ । बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमा सामुदायिक मुटु अस्पताल सुरु भएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ