२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा कोभिड–१९ संक्रमणको जोखिम उच्च, स्थानीय तहहरुले सुरु गरे पूर्व तयारी

रुपन्देहीमा कोभिड–१९ संक्रमणको जोखिम उच्च, स्थानीय तहहरुले सुरु गरे पूर्व तयारी


बुटवल–रुपन्देहीमा कोभिड–१९ संक्रमणको जोखिम उच्च बन्दै गएको छ । भारतीय सीमा नाकासँग जोडिएको जिल्ला रुपन्देही कोभिडको पहिलो र दोस्रो लहरमा ‘रेड जोन’मा परेको थियो ।

भारतीय बजारहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्नेका कारण रुपन्देहीसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा जोखिम बढेको छ ।

बेलहिया नाकामा हेल्थ डेस्कमा कार्यरत ८ कर्मचारीमध्ये ४ मा संक्रमण पुष्टि भैसकेको छ । हेल्थ डेस्कमा कार्यरत कर्मचारी मात्र होइन्, सीमामा रहेका २ जना पर्यटक प्रहरीमा समेत एन्टीजेन परीक्षणमा कोभिड पोजेटीभ पुष्टि भएको छ ।

सीमामा कार्यरत कर्मचारीहरुमा नै कोभिड संक्रमण देखिन थालेपछि अहिले कर्मचारीहरु त्रासमा रहेका छन् । डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिएपछि सर्वासाधारणमा समेत संक्रमण फैलिन सक्ने जोखिम बढेको बेलहिया हेल्थ डेस्कका फोकल पर्सन लोकनाथ कडेल बताउँछन् । ‘हामी सावधान भएर काम गर्दा पनि संक्रमण भएका छौं । सचेत हुनुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने ।

यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी सुरु गरेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्व तयारीका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरिसकेको उनी बताउँछन् । अस्थायी कोभिड अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गरिने उनले बताए ।

कोभिड–१९ भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ । नेपालमा दिनानुदिन ओमिक्रोनको संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्ट पहिलेका भेरियन्टभन्दा तीव्र रुपमा फैलिएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।

यस्तै, बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगाएतका स्थानीय तहहरुले पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ