२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा : अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज

लुम्बिनी प्रदेशमा : अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज


बुटवल—लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन सुरु गरेको छ । प्रदेशका १२ जिल्लामा ६० हजार डोज खोप लगाउन सुरु गरेको हो ।

रुपन्देहीमा सबैभन्दा बढी १६ हजार डोज खोप र रुकुमपूर्वमा अगपंक्तिमा रहेर काम गर्ने १५ सय जनालाई खोप लगाउन थालिएको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले बताए ।

बाँके, कपिलवस्तु र पाल्पा जिल्लामा भने आइतबारदेखि खोप लगाउन सुरु भैसकेको छ भने बर्दिया र दाङमा सोमबारबाट सुरु गरिएको छ । रुकुम पूर्वबाहेकका अन्य ६ जिल्लामा भने मंगलबारदेखि बुस्टर डोज लगाउने तयारी छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा भण्डारण गरेको खोप लिन रुकुम पूर्वदेखि अहिलेसम्म नआएकाले त्यहाँ केही ढिलाइ हुने देखिएको छ ।

अग्रपंक्तिमा खटिनेलाई माघ १४ गतेसम्म खोप लगाउने र त्यसपछि ६० वर्षमाथिका दीर्घ रोगका बिरामीलाई बुस्टर डोज लगाउने तयारी गरेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन भण्डारीले बताए । ‘आवश्यकताअनुसार खोप दिने तयारी गरेका छौं । प्राथमिकताका आधारमा नै बुस्टर डोज लगाइने छ,’ उनले भने ।

लुम्बिनी प्रदेशमा १९ लाख ४२ हजार ५ सय ६३ जना अर्थात ५२ प्रतिशत जनसंख्याले दोस्रो डोज खोप लगाएका छन् । पहिलो डोजमात्र लगाउने ३१ लाख ५७ हजार दुई सय ९७ जना छन् । प्रदेशका अधिकांश स्थानीय तहमा अहिले छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । अझै लुम्बिनी प्रदेशमा चार लाख डोज खोप भण्डारणमा छ । प्रदेशमा सिरिन्ज अभाव हुँदा खोप अभियान प्रभावित हुँदै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ