२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपिलवस्तुका दुई पालिका सुविधासम्पन्न अस्पताल निर्माण गर्दै

कपिलवस्तुका दुई पालिका सुविधासम्पन्न अस्पताल निर्माण गर्दै


बुटवल—कपिलवस्तुमा दुई पालिकाहरुले सुविधासम्पन्न अस्पताल निर्माण प्रक्रिया सुरु गरेका छन् । जिल्लाको महाराजगंज र वुद्धभूमी नगरपालिकाले सुविधासम्पन्न १५ शैय्याका अस्पताल निर्माण गर्न लागेका हुन् ।

महाराजगंज नगरपालिकाले २८ करोडमा अस्पताल निर्माण प्रक्रिया अघि बढाएको छ भने वुद्धभूमी नगरपालिकाले १९ करोड लागतमा अस्पताल निर्माण गर्ने भएको छ ।

महाराजगंज नगरपालिका—१ प्राथमिक स्वास्थ्य चौकीको किनारमा एक बिघा क्षेत्रमा अस्पताल निर्मााणको तयारी भैरहेको महाराजगंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खाँले बताए । ‘स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर अस्पताल निर्माण प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने ।

अस्पतालमा आधारभूत स्वास्थ्य सेबा उपलब्ध हुने गरी निर्माणको तयारी भएको छ । जसअन्तर्गत जनरल फिजिसियन, प्रसुति, ल्याब, फार्मेसी, डेन्टल, आँखालागतयका सेवा अस्पतालमा उपलब्ध हुनेछन् । अस्पताल निर्माण भएपछि महाराजगंजका नागरिकहरुलाई सेवा लिन सहज हुने नगरप्रमुख खाँले बताए ।

हाल यी पालिकाहरुमा अस्पताल नहुँदा सामान्य उपचारका लागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानुपर्ने बाध्यता छ । ‘हामी बिरामी भएमा उपचार गर्न जाने ठाउँ नै छैन । यहाँ अस्पताल बनेमा हामीलाई धेरै सजिलो हुने थियो,’ स्थानीय रामजनम चौधरीले भने, ‘अहिले त हामीलाई समस्या धेरै नै छ ।’

पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको नगरप्रमुख खाँ बताउँछन् । ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर संचालन भइसकेको छ । बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाइने उनले बताए । यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनको भनाइ छ ।

कपिलवस्तुकै वुद्धभूमी नगरपालिका—१ बडहरा चोकमा एक बिघा क्षेत्रमा १९ करोड लागतको आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ । नगरपालिकाका इन्जिनियर कुशल घिमिरेले अस्पताल निर्माणका लागि टेन्डर आव्हान गरिसकिएको बताए । निर्माण हुने अस्पतालमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसीलगायतका सेवा हुनेछन् । अस्पतालमा लिफ्टको समेत सेवा हुने इन्जिनियर घिमिरेले बताए ।

अस्पतालको निर्माण प्रक्रिया अघि बढेको र अबको २ वर्षभित्र अस्पतालको निर्माण सम्पन्न हुने वुद्धभूमी नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ