२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवल क्षेत्रमा नै सहज पहुँचमा छैन विशेषज्ञ सेवा

बुटवल क्षेत्रमा नै सहज पहुँचमा छैन विशेषज्ञ सेवा


बुटवल–बुटवल क्षेत्रलाई स्वास्थ्य सेवाको हबको रुपमा विकास गर्न सकिने अवधारणमाथि छलफल भएको छ । बुटवल मोफसलको राजधानीका रुपमा विकास हुँदै आएको भएपनि स्वास्थ्य क्षेत्रमा भने सुविधाजन्य सेवा दिने क्षेत्रका रुपमा परिचय बनाउन सकेको छैन ।

बुटवलमा जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा ती समस्या समाधानका लागि काम गर्न सक्ने अवस्था नरहेको चिकित्सकहरु नै बताउँछन् । ‘बुटवलमा स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु भएका छन् । यद्यपि जुन रुपमा विकास हुनुपर्ने हो । त्यो रुपमा भएको छैन,’ डा. सन्तोष भुसाल भन्छन्, ‘कुनै जटिल केस आएमा विकल्प खोज्नुपर्ने बाध्यता बुटवलमा छ ।’

बुटवलमा प्रायः जटिल रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको अभाव हुने गरेको गुनासो आउने गर्दछ । कतिपय अवस्थामा विशेषज्ञ सेवा दिन समस्या हुने गरेको अस्पताल संचालकहरु बताउँछन् ।

बुटवल क्षेत्रमा बिरामी पत्ता लगाउन प्रयोग गरिने उपकरण वा उपचारका लागि चाहिने आधुनिक उपकरणहरुको समेत अभाव देखिएको सेवाग्राहीहरुको गुनासो छ । जसका कारण पनि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

उपचारका लागि बुटवल बाहिर जानुनपर्ने गरी स्वास्थ्य संस्थाहरुलाई थप आधुनिकीकरण र प्रविधियुक्त बनाउनुपर्नेमा डा. मुक्तिराम श्रेष्ठ जोड दिन्छन् । ‘हब बनाउने भनेर मात्र हुँदैन् । प्रविधि र विशेषज्ञता चाहिन्छ । सोहीअनुरुप काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

बुटवलको स्वास्थ्य क्षेत्रलाई बृहत बनाउन सार्वजनिक स्वास्थ्य संस्थाको सेवा प्रवाह जनमुखी हुनुपर्नेमा सेवाग्रही जोड दिन्छन् । ‘गाउँबाट बिरामी भएर आउनेहरुको उपचार सहज हुनुपर्छ । त्यसका लागि यहाँका सरकारी अस्पतालहरु व्यवस्थित हुनुपर्यो’, तिलोत्तमा ३ रुपन्देहीका शोभाखर भण्डारी भन्छन्, ‘तब मात्र बुटवलमा स्वास्थ्यमा राम्रो प्रगति होला ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ