२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमा कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा

तिलोत्तमा कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा


बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा पहिलो कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ ।

नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्ण खोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोभिड–१९ विरूद्धको खोप सुनिश्चित पहिलो पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५ सय ३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८ सय ८६ जना छन् । लक्षित जनसंख्या ९५ हजार ९ सय ६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोभिड–१९ विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाइएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्ण खोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरे पनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि यहीँ फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो । सोही अनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त छुट भएका व्यक्तिलाई सम्बन्धित वडामा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार वडा नं. ३ मा सबैभन्दा बढी १२ हजार ६ सय ३० जनाले खोप लगाएका छन् । यस्तै वडा नं. ४ मा ११ हजार २ सय ७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ । घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपूर्ति गरि खोप लगाइएको उनको भनाइ छ । उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्ण खोप घोषण एवं सुनिश्चितताका लागि प्रतिवद्धता पत्रसमेत प्राप्त भएको छ ।

नगरपालिकाले तीन सय घरधुरीमा पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकोले नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले जिल्लास्तरीय खोप समन्वय समितिलगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्ण खोप घोषणा सुनिश्चितता गर्न सहमतिका लागि पत्राचार गरेको थियो ।

सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताको लागि घरधुरी ¥यापिड कन्ट्रयाक सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । तिलोत्तमाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु खोप लगाउन विभिन्न वस्ती, समुदाय तथा इँटा भट्टामैं पुगेर खोप लगाउन छुटेकाहरुलाई खोप लगाएका थिए । नगर प्रमुख वासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे ।

तिलोत्तमा नगरपालिकामा हालसम्म कोभिड–१९ बाट ८ हजार ८ सय ३८ जना संक्रमित भएका छन् । कोभिडबाट २ सय १ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोभिड महामारीबाट नगरवासीलाई बचाउन ६० बेडको अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ