२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजिल्ला अस्पताल गुल्मीमा टोकन प्रणाली सेवा सुरु

जिल्ला अस्पताल गुल्मीमा टोकन प्रणाली सेवा सुरु


बुटवल – जिल्ला अस्पताल गुल्मीमा टोकन प्रणाली सुरु भएको छ । बिरामीलाई टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने समस्याको अन्त्य गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको हो ।

टोकन प्रणाली सुरु भएपछि अस्पतालको बहिरंग सेवा लिने बिरामीले टिकट काट्न र डक्टरहरुले चाँपमा काम गर्नुपर्ने समस्यालाई व्यवस्थापन गर्न तथा लाइन बस्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टोकन प्रणाली शुरु गरीएको अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले बताए ।

‘टोकन प्रणाली लागू भएपछि बिरामीलाई लाइनमा बस्नु पर्ने बाध्यता हट्ने छ । जसका कारण केही सुविधा हुने हामीलाई विश्वास लागेको छ, ’ उनले भने ।

विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएकाहरु तथा अशक्त, बिरामीलाइ सहज हुने अपेक्षा समेत गरिएको छ । सदरमुकाम तम्घासमा स्वास्थ्य जाँच र अरु काम पनि लिएर आउनेहरुले घण्टौं सम्म लाइनमा बसेर टिकटका लागि पालो कुर्नुपर्ने बाध्यता थियो । अब भने टोकन लिएर आफ्नो पालो नआउने बेला सम्म अन्य काम समेत गर्न सक्नेछन् ।

जिल्ला अस्पताल तम्घासमा दैनिक ३ सयभन्दा बढी बिरामी ओपिडी सेवाका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्याले बताए । ‘बिरामीको चाँप दिन प्रतिदिन बढ्दै गएको छ । जसकारण पनि टोकन प्रणाली आवश्यक थियो, ’ उनले भने ।

गुल्मी जिल्ला अस्पतालको ५० शैय्याको सुविधायुक्त नयाँ भवन निर्माणधीन अवस्थामा छ । भवन निर्माण पछि सेवा प्रवाहमा थप सहज हुने पच्याको विश्वास छ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ